• राजेश मिश्र
दुई घनिष्ठ साथी, एउटा स्याल र अर्को ऊँट थिए । दुवै फरक स्वभावका थिए । स्याल चतुर र ऊँट सरल स्वभावको थियो । यी दुई साथी घण्टौं खोलाको किनारमा बसेर सुख–दुःख साट्थे । प्रत्येक दिनको भेटले उनीहरूबीच मित्रता प्रगाढ हुँदै गयो ।
एक दिन स्याललाई नजीकैको खेतमा पाकेको तरबुजबारे जानकारी प्राप्त भयो । यो खबर सुनेर स्याललाई लोभ लाग्यो । तर, त्यो खेत नदी पारी थियो । त्यस कारण स्याललाई खोला तरेर खेतसम्म पुग्न गाह्रो थियो । त्यसैले स्याल खोला कसरी तर्ने भनेर सोचमग्न भयो ।
हिंड्दै र सोच्दै ऊ झाडीबाट निस्केर ऊँट नजीक पुग्यो । ऊँटले दिउँसो स्याललाई देखेर आश्चर्यचकित हुँदै सोध्यो– “मित्र, दिनमा लुकेर बस्ने तिमी यतिबेला यहाँ कसरी आयौ ? हामी त सधैं गोधुलीको समयमा खोलाको किनारमा भेट्छौं ? के भयो ?” ऊँटको प्रश्नमा स्यालले चलाखीपूर्वक भन्यो–“सुन मसँग एउटा गोप्य खबर छ । खोला पारीको खेतमा तरबुज पाकेको छ रे । तरबुज धेरै मीठो हुन्छ भन्ने सुनेको छु । तिमी जाऊ र त्यो मीठो फल खाऊ । यहीं कुरा भन्न म ज्यान जोखिममा पारेर यहाँ आएको हुँ । म त खोला तर्न सक्दिनँ । तिमीले खायौ भने म पनि आफूले खाएको महसूस गर्नेछु ।”
ऊँटलाई स्यालप्रति स्नेह उत्पन्न भयो । तरबुज खान ऊ आतुर भयो । उसले भन्यो –“वाह ! म अब त्यो खेतमा जान्छु । मैले धेरै समयदेखि तरबुज खाएको छैन ।” ऊँट खोला तरेर खेतमा जाने तयारी गर्न थाल्यो । यो देखेर स्यालले अनुहार अँध्यारो पार्दै भन्यो–“मित्र, मलाई पनि तरबूज खुब मन पर्छ, तर मलाई पौडिन आउँदैन ।” त्यसपछि ऊँटले भन्यो– “तिमी चिन्ता नगर, म तिमीलाई पिठ्यूँमा बोकेर खोला पार गराउँछु । हामी दुई साथी सँगै तरबुज खाउँला ।” ऊँटको कुरा सुनेर स्याल मख्ख प-यो ।
स्याल ऊँटको पिठ्यूँमा बस्यो । दुवै एकसाथ खोला तरे । खेतमा पुगेपछि स्याल छानीछानी तरबुज खान थाल्यो । स्याल आफ्नै धुनमा थियो । पेटभरि तरबुज खायो र गद्गद् भयो । प्रसन्नचित्त स्यालले ठूलो आवाजमा हुँवा…हुँवा गर्न थाल्यो । ऊँट डरायो र भन्यो–“होहल्ला नगर, नत्र खेतको मालिक आउन सक्छ ।” तर ऊ मानेन । झन् जोड–जोडले हुँवा…हुँवा गर्न थाल्यो ।
स्यालको आवाज गाउँसम्म पुगिरहेको थियो । किसानहरू लाठी लिएर खेततर्फ दौडिन थाले । किसानहरूलाई खेततर्फ आइरहेको देखेर चतुर स्याल भाग्यो । ऊ झाडीमा लुक्यो । तर, ऊँट घरको न घाटको भयो । शरीर ठूलो भएकोले ऊँट लुक्न सकेन । किसानहरूले लखेटी लखेटी ऊँटको बेस्सरी कुटाइ गरे । जसोतसो ज्यान जोगाएर ऊँट भाग्न सफल भयो । घाइते ऊँट खोलातर्फ गइरहेको थियो । सोही बेला स्याल हस्याङफस्याङ दौडेर ऊँट नजीक आयो । स्याललाई देखेर ऊँटले रिसाउँदै भन्यो– “तिमी किन हुँवा–हुँवा ग-यौ ? तिम्रो कारणले आज मैले धेरै कुटाइ खाएँ ।” प्रतिउत्तरमा स्यालले भन्यो–“पेटभरि खाएपछि मलाई कराउने बानी छ । नत्र मेरो खाना नै पच्दैन ।”
स्यालको जवाफ सुनेर ऊँट झन् चकित र दुःखित भयो । ऊँटलाई असाध्यै रिस उठ्यो । यद्यपि ऊ केही नबोली चुपचाप खोलातर्फ पाइला बढायो । पछिपछि हिंडिरहेको स्याल खोला तर्न अनुरोध गरिरहेको थियो । केही बेरमैं उनीहरू खोलाको किनारमा पुगे । स्यालले ऊँटसँग हारगुहार गर्न थाल्यो । सरल स्वभावको ऊँटले अन्ततः स्याललाई आफ्नो पिठ्यूँमा बसायो । ऊँटलाई रिझाउन सफल भएकोमा स्याल मख्ख थियो । ऊँटले कुटाई खाएकोमा स्याल मनमनै प्रफुल्लित थियो । जसको पिठ्यूँमा विराजमान भएर खोला तरिरहेको थियो, उसैप्रति उसको नकारात्मक भावना थियो ।
ऊँट खोलाको मध्य भागमा खडा भयो । ऊँटले स्याललाई तर्साउने हिसाबले खोलामा डुबुकी लगाउने सुर गर्न थाल्यो । आफ्नो ज्यान जोखिममा रहेको कुरा अनुभूत गरेसँगै स्याल डरायो । हारगुहार गर्दै अनुनयमुखी स्वरमा भन्यो–“हे मित्र, तिमी के गर्दैछौ ? तिमीले डुबुल्की लगायौ भने मेरो ज्यान जान्छ । ममाथि कृपा गर मित्र ।” रिसाएको ऊँटले भन्यो– ”साथी, मैले पेटभरि खाएपछि खोलामा डुबुल्की लगाउन मन गर्छ । यसो गरेन भने मेरो खाना नै पच्दैन ।”
ऊँट र स्यालको अन्तर्कलह जङ्गलभरि फैलियो । स्यालका पक्षधरहरूले ऊँटमा दोष देखिरहेका थिए । स्यालको पक्षमा जङ्गलभरि हुँवा…हुँवा गुञ्जायमान हुन थाल्यो । उनीहरूले आआफ्नो स्वार्थ अनुसार ऊँटको पक्षमा तर्कहरू प्रस्तुत गरिरहेका थिए । जङ्गलको वातावरण खलबलियो । ऊँटलाई जङ्गलमा बस्न समस्या पर्न थाल्यो । स्याललाई उक्साउने र लडाउने उनीहरूको गिरोहभित्र त छँदै थिए, स्यालझैं समान प्रवृत्तिका अन्य प्रजातिका जनावरहरूको गिरोह स्यालको पक्षमा सहमति जनाइरहेका थिए ।
उहिले पुरनियाहरूले केटाकेटीहरूलाई अनेक प्रकारका लोककथाहरू सुनाउँथे । केटाकेटीहरू चाखपूर्वक सुन्थे । केटाकेटी उमेरमा कथा सुन्दा जनावरहरूको कार्य–व्यवहार अनुभूत हुन्छ भने बढ्दो उमेरसँगै ती कथाको अन्तर्वस्तु समाजमा विद्यमान छ भन्ने कुराको बोध हुँदो रहेछ । सामाजिक मनोविज्ञान प्रकट गर्ने माध्यम हुन्, लोककथाहरू ।
देशको राजनीति ऊँट र स्यालको कथाभन्दा फरक छैन । शीर्षदेखि तल्लो तह, हरेक क्षेत्रमा स्यालहरूको वर्चस्व छ । अनेक प्रकारका सपना देखाउने स्याल प्रकृतिका पात्रहरू जनतारूपी ऊँटमाथि हावी छन् । अपवादबाहेक सिद्धान्तविहीन राजनीतिक मनोविज्ञान लाभ, हानि र स्वार्थमा केन्द्रित छ । स्वार्थको दलदलमा हरेक क्षेत्र समाहित हुँदै गइरहेको अवस्था विद्यमान छ । राजनीति पवित्र सेवा क्षेत्र हो, जुन दिनानुदिन अपवित्र पार्ने काम भइरहेको छ ।
दलसँग सम्बन्धित दलपति, जिल्लापति, पालिकापतिलगायत वर्चस्वपतिहरूले जस्तोसुकै जघन्य हर्कत गरे तापनि उनीहरूसँग आबद्ध लावा लस्करले उनीहरूको समर्थनमा स्यालझैं हुँवा…हुँवा गर्ने प्रवृत्ति बढ्दो छ । देश, कानून, समाज र मानवताविरोधी हर्कत गर्ने पात्रविरुद्ध आवाज नउठाउने प्रवृत्ति समाजमा नकारात्मक छवि स्थापित गरिरहेको अवस्था छ । आफू स्यालको श्रेणीमा हो कि होइन, आफूले आफैसँग प्रश्न गरेर परिणाम थाहा पाउन सकिन्छ ।
जनावरहरू मानवझैं चेतनशील प्राणी होइनन् । यद्यपि सर्वश्रेष्ठ र चेतनशील प्राणीको उपाधि पाएको मानव सभ्यताले आआफ्नो दायित्वप्रति उत्तरदायी हुनुको विकल्प छैन । समाजले प्रदान गरेको जिम्मेवारी र भूमिकाप्रति असल नियतका साथ जवाफदेह व्यवहार हुनैपर्दछ ।
यो पनि पढ्नुहोस: “खेत चरे गदहा, मार खाए जोलाहा”