• डा शिवशङकर यादव

मेरा चार भाइ छोरा र एउटी छोरी छ । एक वर्षको मात्र अन्तरमा पैदा भएका र एउटै स्कूलको एउटै क्लासमा पढ्दै गरेको छोरा प्रथम श्रेणीमा पास भयो तर छोरी, जो जेठी थिई, फेल भई । यसको मतलब यो होइन कि छोरी मन्दबुद्धि थिई, यद्यपव जन्मको बेला ऊ अन्डरवेट थिई, जुन मन्दबुद्धि हुनुको एउटा कारण हो । पछि पास भएर ऊ डाक्टर बनी । मेरो एउटा छोरा जन्मको बेला टाउकोमा चोट लागेर र पछि ज्वरोले च्यापेपछि मिरगीको शिकार भयो । धेरै प्रयत्न गर्दा पनि पढ्न सकेन । उपद्रवी र असामाजिक भयो । मेरा एकजना मित्रका छोरा बिल्कुल ठीक पैदा भयो । एकचोटि उसलाई धेरै ज्वरो आयो । दरभंगाको नम्बर एक डा.वि.एन दासगुप्ताबाट इलाज चल्यो । अथक परिश्रमपछि उसको प्राण त जोगियो तर उ, कडा खाले मन्दबुद्धि भयो किनभने उसलाई प्राणघातक रोग मेनिन्जाइटिस थियो, जसका भाइरसले सीधै ब्रेनमा घातक आक्रमण गर्छ । यसरी मन्दबुद्धिको धेरै कारण र प्रकार छन्, जसबारे आज वर्णन गरिने छ । पढ्न नसक्ने वा पढाइमा अब्बल नहुनु मात्र मन्दबुद्धिको प्रमाण होइन । हाम्रा पुर्खाहरू नपढे पनि कुशाग्र बुद्धि थिए ।

अर्थात् मन्दबुद्धि एउटा अवस्था हो डिजार्डर होइन, जुन असामान्य बे्रन विकास, विकासको माइलस्टोन ढिलोगरी प्राप्त गर्ने र सामान्यभन्दा कम बुद्धिमत्ताले हुने गर्छ । यहाँ तीन कुरा आएको छ : विकासको माइलस्टोन, ब्रेनविकास र वुद्धिमत्ताको स्तर । अतः यी तीनैको बेग्लाबेग्लै विवरण आवश्यक हुन्छ ।

पहिले विकासको माइलस्टोनबारे कुरा गरौं : विकासको मापदण्ड बच्चाको जन्मदेखि नै शुरू हुन्छ । यसो त कुनै दुई बच्चा एक समान हुँदैनन् तर अधिकांश बच्चाले विकासका यिनै माइलस्टोन प्राप्त गर्नु र पार गर्नुपर्छ जसलाई नर्मल विकास भनिन्छ । यसमा दुई चार महीना अघि वा पछि भए केही फरक पर्दैन । विकासका यी माइलस्टोनलाई चार भागमा बाँडिन्छ, यथा–सेन्सरी र मोटर कार्यको विकास, एडप्सनको विकास, भाषाको विकास र व्यक्तिगत र सामाजिक व्यवहारको विकास । यसबाहेक उचाइ, वजन र स्वास्थ्य मापन हुन्छ, जुन नर्मल विकासको अभिव्यक्ति हो । त्यसपछि बुद्धिमत्ता क्षणमैं प्राप्त हुन्छ, तर पनि बुद्धिमत्ताको विकासको पनि मापन गरिन्छ, जसको वर्णन पछि गरिने छ । पहिले आऔं सामान्य माइलस्टोनको वर्णन गरौं जसमा विकासका विभिन्न विभाग बच्चाको उमेर अनुसार निर्धारित हुन्छ । यथा :

उमेर विकाशका माइलस्टोन

सेन्सरी र मोटर कार्यको विकास अर्थात् मांसपेशीहरूका कार्यको विकास ४ सप्ताह भन्दा कम उमेरको बच्चालाई घोप्टो सुताएपछि उसले अलिकति शिर छेउमा घुमाउँछ, ४ सप्ताहको बच्चालाई घोप्टो सुताए सिरलाई छिनछिनमा माथि लान्छ । ३ महीनाको बच्चालाई घोप्टो सुताएपछि शिर माथि उठाएर स्थिर राख्न सक्छ । ५ महीनाको बच्चालाई सुताएपछि यताउति घुम्छ र सहारा पाए बस्न सक्छ । ६ महीना बितेपछि आप्mनै हातको सहाराले शिर र छाती माथि उठाउन सक्छ । ८ महीनाको भएपछि पिठ्यूँ सोझो पारी आफैं बस्न सक्छ । सहारा पाए हिंड्न चाहन्छ । १० महीनापछि उठेर बस्छ र बसेपछि उठ्न चाहन्छ । फर्निचर समातेर उठ्छ र घुम्छ, दुई चार पाइला आफैं हिंड्छ र खस्छ । जमीनमा माउ बनेर हिंड्न थाल्छ । १४ देखि १५ महीनामा विनासहारा अगाडि, पछाडि र छेउ सबैतिर हिंड्छ । एक्लै सिंढी चढ्न थाल्छ । २.५ वर्ष पंजाको बलमा पनि हिंड्न थाल्छ । ३ वर्ष पुगेपछि वयस्कझैं एक पछि अर्कोगरी सिंढी चढ्न थाल्छ । ट्राइसाइकिल चढ्न थाल्छ । कुद्न सक्छ । ४ वर्षको भएपछि एउटा खुट्टामा ५ सेकेन्डसम्म उभिन सक्छ । ५ वर्ष उमेर पुग्दा १ फुट सम्म कुद्न सक्छ ।

एडप्टिभ कार्यको विकास अर्थात् वातावरणबाट सिक्ने कार्यको विकास

४ सप्ताह नजीकको कुनै छुन सकिने वस्तुलाई माया गर्छ । ३ महीना जहाँ पनि घुम्ने वस्तुको पीछा गर्छ । ४ देखि ५ महीनामा कुनै कुरा पाए राम्ररी समात्छ, समात्न चाहन्छ । ६ महीनामा कुनै वस्तुलाई एक हातबाट अर्को हातमा लान्छ । ९ देखि १० महीना दुवै हात र औंलाले वस्तुलाई समात्छ । १ वर्ष आमाले भनेपछि कुनै कुरा आमाको हातमा दिन्छ । एकैचोटि कुनै किताबको दुई तीन पाना पल्टाइदिन्छ । १.५ वर्षमा तीन वा चारवटा क्युबको महल बनाउन सक्छ, भत्काउँछ, लेखावट हेर्छ र कहिलेकाहीं एउटा ठाडो रेखा पनि तानिदिन्छ । २ वर्ष पुगेपछि किताबको एकएक पाना क्रमानुसार पल्टाउँछ, ६ देखि ७ वटा क्युबको महल बनाउन सक्छ, हेरेर सरल रेखा तान्न सक्छ । ३ वर्ष मा नौ–दश वस्तु मिसाएर टावर र ब्रिज बनाउन सक्छ, हेरेर वृत्त बनाउन सक्छ । ४ वर्षमा हेरेर गुणन–चिहना बनाउन सक्छ । ५ वर्षमा वर्ग बनाउन सक्छ र मान्छेको आकृति कोर्न सक्छ । ६ वर्षमा त्रिभुज बनाउन सक्छ । ७ वर्षमा हीरा बनाउन सक्छ ।

भाषाको विकास

४ सप्ताहमा आवाजतिर शिर घुमाउँछ । रुनेबाहेक अर्को आवाज पनि निकाल्छ । ३ महीनामा जोडजोठले हाँस्न थाल्छ । ९ महीनामा मामा, पापा, दादा भन्न सक्छ । १० महीनामा बोलेको कुरा बुझ्न थाल्छ, जस्तै–ममी कता छिन् आदि । १ वर्षदेखि १५ महीनामा अर्थ भएको तीन चार शब्द बोल्न थाल्छ । १८ महीनामा आफ्नो नाम बताउन सक्छ र ८ देखि १० वटासम्म शब्द बोल्न सक्छ ।

२ वर्षमा दुई विभिन्न शब्द जोडेर बोल्न सक्छ, शरीरको कम्तिमा एउटा अङ्ग र किताबमा फोटो देखेर कम्तिमा एउटा वस्तुको नाम भन्न र इशारा गर्न सक्छ ।

३ वर्षमा बहुवचनको प्रयोग गर्न थाल्छ, परिवारका पूरै सदस्यको नाम भन्न सक्छ । ६ वर्षमा रंगहरूको ठ्याक्कै नाम भन्न सक्छ, शब्दको अर्थ बताउन थाल्छ ।

व्यक्तिगत र सामाजिक व्यवहारको विकास

४ सप्ताहपछि अनुहार चिनेर उसको सम्मान गर्छ । २ देखि ३ महीनामा सामाजिक हाँसो शुरू हुन्छ । ३ महीनामा आमालाई चिन्न थाल्छ । ५ महीनामा बूढी औंला मुखमा हाल्न थाल्छ । ऐनामा आप्mनो अनुहार हेरेर हाँस्छ । ९ महीना बितेपछि सामाजिक खेलप्रति रुचि जाग्छ, खेलौना खोसेपछि प्रतिरोध गर्छ र खेलौना भएको ठाउँसम्म पुग्ने गर्छ, दूधको वोतल आफै समातेर खान थाल्नुका अतिरिक्त बिस्कुट पनि आफैं समातेर खान सक्छ ।

१.५ वर्ष चम्चाले अलिअलि गरेर आफैं खान थाल्छ, अर्काको नकल गर्न थाल्छ, डोरीले बाँधेको खेलौना तान्छ, टायलेटको बानी बस्न थाल्छ । २ वर्षमा साधारण लुगा र जुत्तामोजा लगाउन थाल्छ । ३ वर्षमा टाँक खोल्न सक्छ, जुत्ताको फित्ता बाँध्न सक्छ, सहयोग गरियो भने लुगा लगाउन र फुकाल्न थाल्छ । ४ वर्षमा ड्रेसको टाँक राम्ररी लगाउँछ, आप्mनो अनुहार धुन्छ, अर्को बच्चासँग सहज भएर खेल्छ, अलि अप्ठ्यारो लागे पनि आमाबाट अलग रहन सक्छ । ५ वर्ष सहयोगविना पनि लुगा लगाउन सक्छ । क्रमशः

यो पनि पढ्नुहोस: मानसिक र शारीरिक गडबडीले हुने व्यवहार परिवर्तन–२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here