वीरगंजमा एकदशक अघिसम्म रिक्सा, टाङ्गा, विक्रम टेम्पोको कारण ट्राफिक समस्या थियो । तत्कालीन अवस्थामा रिक्सा, टाङ्गा विक्रम टेम्पो पनि अहिलेको महानगर उहिलेको नगर तथा उपमहानगर छदा दर्ता कम अवैध रूपमा बढी सञ्चालन हुने गरेको थियो । रिक्सा, टाङ्गा, विक्रम टेम्पोलाई व्यवस्थित गर्ने कार्यमा त्यतिखेर पनि निकै समस्या थियो । वीरगंजमा सञ्चालित रिक्सा, टाङ्गाका साथै विक्रम टेम्पो र छिमेकी भारतको रक्सौलबाट सञ्चालित रिक्सा, टाङ्गा, विक्रम टेम्पो चल्दै आएको थियो । पछि वीरगंजमा सञ्चालित रिक्सा, टाङ्गा, विक्रम टेम्पो व्यवस्थित गर्ने प्रयास भएको थियो । रिक्सा, टाङ्गालाई नगरपालिकामा दर्ता गर्ने र दर्ता भएका नेपाली रिक्सा, टाङ्गा मात्र वीरगंजमा सञ्चालन गर्ने कार्य भयो । विक्रम टेम्पोको हकमा भने कागजात नमिलेको विक्रम टेम्पोहरू यातायातमा दर्ता भएनन् तर पनि अवैध तरीकाबाट तिनको सञ्चालन रोकिएन । मधेस आन्दोलनको क्रममा २०७२ सालदेखि वीरगंजमा ईरिक्सा सञ्चालनमा आएको हो । शुरूमा दुईवटा ईरिक्सा सञ्चालन भयो र त्यसपछि आन्दोलनले उग्र रूप लिंदै गएपछि रिक्सा, टाङ्गा सञ्चालनमा आउन सकेनन् तर ईरिक्सा सञ्चालनमा अवरोध भएन । त्यतिखेर तनावग्रस्त बनेको वीरगंजबाट सवारीका साधनहरू नचल्दा मानिसले ईरिक्साबाट सीमरासम्म पुग्ने गर्दथे ।
दुईवटाबाट शुरु भएको ईरिक्सा एकपछि अर्काेगरी बढ्यो तर रिक्सा, टाङ्गा, विक्रम टेम्पोजस्तो अव्यवस्थितलाई व्यवस्थित गर्ने काम भएन । यातायात र उपमहानगरपालिकाले यसको दर्ता, रुटपरमिट, सवारी चालक अनुमतिपत्र आदिबारे ध्यान पु¥याएन । फगत रिक्सा, टाङ्गा, विक्रम टेम्पो कम हुँदै गए र ईरिक्सा, टेम्पोको प्रयोग बढ्दै गयो । त्यतिखेर वीरगंज–रक्सौलका रिक्सा गरी करीब आठ हजार सञ्चालनमा थियो भने टाङ्गा सय र विक्रम टेम्पो ४० को हाराहारीमा । अहिले रक्सौलका ईरिक्साहरू वीरगंज आउँदैनन् भने वीरगंजका ईरिक्साहरू भारतीय आयल कर्पाेरेशनसम्म जान्छन् । उहिले रिक्सा, टाङ्गा, विक्रम टेम्पो चलाउनेहरूमध्ये अधिकांश ईरिक्सा, टेम्पो चलाउँदै आएका छन् । ट्राफिक, यातायात र महानगरपालिकाले अहिलेसम्म यसको उचित व्यवस्थापन गर्न नसकेकै कारण महानगरका साथै ग्रामीण क्षेत्रमा ईरिक्सा, टेम्पोहरू अवैधरूपमा सञ्चालन भइरहेका छन् । यसको फाइदा ट्राफिक प्रहरीले बेलाबेला उठाउँदै आएको छ । महानगरको कुरा गर्दा तीन सय बढी दर्ता छैनन् । यातायातको तथ्याङ्कमा पनि दुई सय बढी ईरिक्सा, टेम्पो चालकहरूसँग सवारीचालक अनुमतिपत्र छैन । यो अवस्थामा जसले जसरी पायो त्यसरी ईरिक्सा, टेम्पो चलाउँदै आएका छन् ।
सम्बन्धित कार्यालयहरूबाट आधिकारिता नलिएर सञ्चालित ईरिक्सा, टेम्पोहरूलाई कडाईका साथ व्यवस्थित गर्न नसक्नुको कारण राजनीतिक दबाब नै हुनुपर्छ । कानूनी प्रक्रिया पालना नगरिएका ईरिक्सा, टेम्पोहरूको सङ्ख्या दिनानुदिन बढ्दै छ । नेपालगंजमा हालै कागजात, प्रक्रिया पूरा नगरिएका ईरिक्साहरूलाई एक्साभेटरबाट नष्ट गर्ने काम गरिएको छ । वीरगंजमा भने ट्राफिकले जरिवाना बुझेर सञ्चालन सुविधा दिंदै आएको छ । ट्राफिकले यसो गर्नुको कारण सर्वाधिकार उसमा छैन, तर यसको नियमन गर्ने आधिकारिकता महानगरको हो र उसले यसलाई किन हो व्यवस्थित पार्न सकेको छैन ।