भन्सार विभागले चालू आवमा माछा आयातमा नयाँ व्यवस्था गरेपछि त्यसको असर भन्सार राजस्वमा परेको छ । विभागले ताजा तथा चीसो माछामा वर्गीकरण गरेर चीसो माछामा भ्याटसहित २३.५ प्रतिशत राजस्व तोकेपछि माछाको वैध आयातमा असर परेको छ भने अवैध कारोबार भने जारी छ, जसले गर्दा देशको प्रमुख नाका वीरगंज भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । विभागले गत साउन २०८० देखि ताजा माछाको हकमा पुरानो कोडबाट भन्सार तिर्ने सुविधा उपलब्ध गराएको छ भने चीसो पारेर ल्याइने माछामा भने नयाँ भन्सार दर कायम गरेको छ । वीरगंज भन्सारबाट साउन अघि दैनिक ताजा तथा चीसो माछा बीस टन आयात हुन्थ्यो भने अहिले दुई टन मात्र आयात हुँदैछ । आयात घटेसँगै वैध बाटो छाडेर व्यवसायीहरू चोर बाटोबाट माछा भिœयाउँदैछन् । खुला सीमाको कारण भन्सार दरमा फरक पर्ने वस्तु अवैध बाटोबाट आयात गरिने प्रचलन नयाँ होइन । नेपालमा सस्तो भएको वस्तु अवैध बाटो भएर भारत जाने र भारतमा सस्तो भएको वस्तु अवैध बाटोबाट नेपाल भित्रिने काम पुरानो हो ।
अहिले पनि परम्परागतरूपमा खुला सीमाबाट नेपाल–भारत अवैध व्यापार जारी छ । कपडा, विद्युतीय सामान, किराना समान, फलपूmल, चौपाया, स्टेशनरीजस्ता कुराहरू भारतबाट चोरबाटो भिœयाउने क्रम रोकिएको छैन । नेपालबाट केराउ, मरिच, कस्मेटिक, सामान चोरबाटो भएर भारत पुग्ने गरेको छ । संस्थागतरूपमा दुवै देशका सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी, प्रशासनलाई मिलाएर चोरी–तस्करी हुँदै आएको छ । बेलाबखत सीमा वारी र पारीका प्रहरी प्रशासनको कडाइका कारण अवैध कारोबार केही दिन, महीनाका लागि बन्द भए पनि सदाका लागि बन्द हुन सकेको छैन र हुने सम्भावना पनि कम छ । किनभने सीमा खुला छ र आम नागरिक पनि यता सस्तो भए उताबाट आउने र उता सस्तो भएका वस्तु यताबाट गएर खरीद गरी ल्याउने काम गर्दै आएका छन् । औसतमा भारतबाट बढी वस्तुहरू नेपाल आयात हुन्छ । भारतबाट वार्षिक दश खर्बको व्यापार घाटा छ भने यसैले नेपालमा आवश्यक वस्तुको आयात बढी छ भन्ने प्रस्ट हुन्छ । वैधरूपमा यत्रो घाटा छ भने अवैध व्यापार घाटा आकलन गर्न गा¥हो छ । माछा अहिले देखिएको तात्कालिक समस्या हो । अघिदेखि यस्तो व्यापार खुला सीमाबाट हुँदै आएको हो र अहिले पनि जारी छ । वीरगंज भन्सारको राजस्व अहिले प्रभावित भएको छ । वार्षिक लक्ष्यको आधाजति पनि सङ्कलन हुने कुरामा शङ्का छ, कारण अवैध कारोबार फस्टाउनु ।
पर्सा र बारा जिल्लाको सबै नाकाबाट अहिले अवैध कारोबार भइरहेको छ, तर सीमा नाकामा अवैध सामान समाउन असमर्थ सुरक्षाकर्मीहरू वीरगंजलगायत क्षेत्रबाट भटाभट सामान समाउन र भन्सार, राजस्व चलान गर्न भने माहिर देखिएका छन् । भन्सार राजस्व प्रभावित हुनेगरी अवैध कारोबार बढेको भन्दै वीरगंज उद्योग वाणिज्य सङ्घले बेलाबखत आवाज उठाएको सुनिन्छ । तर सङ्घसँगै आबद्ध व्यापारीहरू वैध र अवैध कारोबारमा संलग्न रहेकाले वीउवासङ्घले औपचारिकता पूरा गर्नेबाहेक अवैध कारोबार विरुद्ध सशक्त आवाज उठाउन सकेको छैन । यो अवस्थामा भन्सार विभागले अवैध कारोबार निरुत्साहित गर्न भन्सार मूल्याङ्कन समयसाक्षेप र सीमाबाट अवैध कारोबार निरुत्साहित पार्न के गर्ने भन्ने कुरामा गम्भीर हुन आवश्यक छ ।