भ्रष्टाचार हटाउने कुरा तीनै तहका सरकारले गर्दै आएका छन् तर पनि यो हट्नुको साटो बढ्दो छ । सानोभन्दा सानो काम गराउनका लागि घूस दिनैपर्छ । स्थानीय तहदेखि प्रदेश र सङ्घ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । समाचारपत्रका दैनिकी प्राथमिकतामा भ्रष्टाचार पर्दै आएका छन् । आम मानिस अहिले भ्रष्टाचार हटाउने नेताहरूका अभिव्यक्तिलाई मजाक ठानिरहेका छन् । किनभने कुनै पनि तहका सरकारले कुरा गर्नेबाहेक ऐन, कानून, नियमको पालना गरेर भ्रष्टाचारविरुद्धको अभियानलाई अगाडि बढाएका छैनन् । भ्रष्टाचारको विरोध गर्नेहरूलाई खोजीखोजी उसले पनि भ्रष्टाचार गरेको भनेर आम जनतामा बदनाम गर्ने खेलमा लागिपरेको छ । हैसियत अनुसार अहिले नेपालमा सबै तह र तप्कामा भ्रष्टाचारले जरो गाडेको छ । मधेस प्रदेशको कुरा गर्ने हो भने सङ्घीयताको लागि यो प्रदेशबाटै आवाज बुलन्द भएको थियो । तर सङ्घीयता लागू भएपछि यही प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार भइरहेको कुरा विभिन्न माध्यमबाट सार्वजनिक भएका छन् । प्रदेश सरकारले ल्याएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरेर साइकल वितरण ग¥यो । प्रदेशमा यो अभियानबाट बेटीहरूले साइकल पाए, उनीहरू घरबाट विद्यालयसम्म जाने सुरक्षित माध्यम बन्यो तर साइकलमा पनि भ्रष्टाचारको कुरा आयो र अहिले यो अभियान निष्क्रिय प्रायः भएको छ ।
अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापामारी ग¥यो, यससम्बन्धी दस्तावेजहरू नियन्त्रणमा लियो । मुख्यमन्त्री राजनीतिक दबाबका कारण आरोपमुक्त भए तर सचिवलगायतका मानिसहरू कसूरवार ठहर भए । यही अभियान अन्तर्गत २०७४ सालपछि जन्मिएका छोरीहरूको बीमा पनि गरियो । अहिले सो बीमा पनि निष्क्रिय भएको छ । त्यत्तिखेर जन्मिएका छोरीहरूको बीमा गर्ने र उनीहरू वयस्क भएपछि एकमुस्ट रकम पाउने अभियानले मधेसका छोरीहरूलाई विद्यालय पढाउने प्रवृत्तिमा सुधार आउने आशा गरिएको थियो । किनभने यो अभियानमा समाहित हुनेहरूले छोरीलाई विद्यालय पठाएकै हुनुपथ्र्यो । अहिले छोरी केन्द्रित यो अभियान लथालिङ्ग छ । मधेस प्रदेश सरकारले मुख्यमन्त्री सौन्दर्यीकरण अभियान चलाएर प्रदेशभरिका सयभन्दा बढी पोखरीको सौन्दर्यीकरण अभियान चलायो । तर कुनै पूरा भएन । अभियान सञ्चालन गर्नुअघि त्यसका लागि अभ्यास भएन । नामकरण राम्रो गर्दैमा त्यसले सार्थकता पाउँदैन । त्यसका लागि अभ्यास जरुरी हुन्छ । यी र यस्ता अभियानहरू कुनै एक जिल्लामा प्राथमिकताका साथ लागू गर्ने र त्यसको परिणाम कस्तो आउँछ अनि त्यसका राम्रा र नराम्रा पक्षको अध्ययन गरी नराम्रा पक्षलाई आगामी दिनमा कसरी हटाउने र अभियानलाई अन्यत्र कसरी सफलतापूर्वक सञ्चालन गर्ने भन्ने सोचको विकास नै नगरी हावादारी पारामा अर्काको सिको र सस्तो नारा अङ्गीकार गरिएका परिणामहरू हुन् ।
बहालवाला मुख्यमन्त्री सरोज यादवले बिहीवार आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने अख्तियारको कार्यक्रममा बताए । तर कसरी त्यसको खाका बताएनन् । मुखले बोल्दैमा भ्रष्टाचार मुक्त हुँदैन । यी अभिव्यक्तिहरू सुन्दा अहिले सामान्यभन्दा पनि सामान्य मानिसहरू पनि हास्छन् । तसर्थ भ्रष्टाचारमुक्त बनाउनका लागि योजना तयार गर्नुप-यो र त्यो योजना अनुसार आफू पनि चल्न सिक्नुप-यो ।