प्रस, वीरगंज, १९ पुस/
जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न कसूरमा अदालतबाट कैद जरिवाना तोकेपछि फरार रहेका दुईजनालाई पक्राउ गरेको छ।
महागढीमाई नगरपालिका–६ बबुआइन बस्ने ३१ वर्षीय सोनालालप्रसाद यादवलाई शिक्षासम्बन्धी मुद्दामा रु सात हजार जरिवाना बारा जिल्ला अदालतले तोकेपछि उनी फरार भएका थिए।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिलवा बस्ने २५ वर्षीय मुनीलालप्रसाद यादवलाई चोरी मुद्दामा पाँच महीना कैद र पाँच हजार जरिवाना बारा जिल्ला अदालतले तोकेपछि उनी पनि फरार भएका थिए। फरार दुवैजनालाई पुस १८ गते प्रहरीले पक्राउ गरी कैद भुक्तानको लागि बारा जिल्ला अदालतमा पेश गरेको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन्।