महेन्द्रनगर (धनुषा), १९ पुस/रासस
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा बिहीवार जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालनी गर्ने बताए।
उनले अनियमितताको अनुसन्धान गर्ने क्रममा प्रदेश सरकारको सय प्रतिशत सहयोग रहने उल्लेख गरे। अनियमितताको घटनामा छानबीन गरेर कारबाई गर्ने बताउँदै उनले आगामी आर्थिक वर्षमा ससाना योजना र उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगरिने बताए।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सामूहिकरूपमैं सुशासन कायम हुन सक्ने उल्लेख गरे। उनले सुशासनको पहिलो बिगुल सङ्घ, प्रदेश र स्थानीय सरकारले फुक्नुपर्ने आवश्यकता औंल्याए। उनले उपभोक्ता समितिमा ठूलो विकृति आएको चर्चा गर्दै उपभोक्ता समिति बिचौलियाका रूपमा देखिएको धारणा राखे।
उनले भने– “घर बनाउने, ढलान गर्ने, पुल बनाउनेजस्ता काम कुन क्षमताका अनुसार उपभोक्ता समितिलाई दिइएको हो, यसबारे सोच्नुपर्दछ।”
प्रमुख आयुक्त राईले भने– नीतिगत निर्णय सम्पूर्ण समुदायलाई समेट्ने खालको हुनुपर्ने र यसलाई परिभाषित गर्न सङ्घीय सरकारलाई आग्रह गरेको स्पष्ट पारे।
कार्यक्रममा मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे, अख्तियारका बर्दिवास प्रमुख रामबहादुर कुरूम्वाङ र अख्तियारका सहसचिव लक्ष्मीप्रसाद उपाध्यायले भ्रष्टाचार नियन्त्रण तथा सुशासनबारे कार्यपत्र प्रस्तुत गरेका
थिए। कार्यक्रममा प्रदेशका मन्त्रीहरू, स्थानीय निकायका प्रमुख, उपप्रमुख, कर्मचारीलगायतको उपस्थिति थियो।