प्रस, निजगढ, १९ पुस/
निजगढ नगरपालिका–९ ठाडोलाइन बस्ने ५२ वर्षीय भीमलाल श्रेष्ठ र वन हेरालु इन्द्रलाल चौलागाईको अवस्था अझैंसम्म पनि अज्ञात रहेको परिवारजनले गुनासो गरेका छन्।

चुरे भावर राष्ट्रिय एकता पार्टी बाराका अध्यक्ष एवं बकैया ठाकुुर सामुुदायिक वन उपभोक्ता समूह निजगढ नपा–९ का सदस्यसमेत रहेका श्रेष्ठ र वन हेरालु चौलागाई २०६९ असोज २५ गते अपहरणमा परेका थिए।

अपहृत भएको केही दिनपछि हेरालुु चौलागाईको मोबाइल नम्बरबाट अज्ञात व्यक्तिले परिवारका सदस्यलाई फोन गरी ५०/५० लाख फिरौती रकम माग गरेका थिए। तर परिवारजनले त्यत्रो रकम नभएको बताएपछि अपहरणकारीले ५० बाट घटेर दश लाख फिरौती रकम माग गरेका थिए।
त्यसपछि अपहरणकारीले हालसम्म पनि रकम माग नगरेको र श्रेष्ठ र चौलागाईको अवस्था पनि अज्ञात रहेको पीडित परिवारजनले गुनासो गरेका छन्।

त्यतिबेला सामुदायिक वन उपभोक्ता महासङ्घ (फोकोफन) र बारामा रहेका अधिकांश सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले अपहृतद्वयको खोजतलाश गर्दै दबावमूलक कार्यक्रम गरेका थिए।

प्रहरीले अपहृतद्वयको खोजी गरेपनि आज दश वर्ष बितिसक्दा पनि उनीहरुको अवस्था अज्ञात छ।
बारासँग सिमाना जोडिएको छिमेकी जिल्ला रौतहटको कनकपुरसम्म सामुदायिक वन क्षेत्रको रेखदेख र घाँस लिन श्रेष्ठ र चौलागाई गएको परिवारजनले बताएका छन्।

दुवैजनाको अवस्था हालसम्म पनि अज्ञात भएपछि परिवारजन चिन्तित छन्। अपहृत पतिको खोजीमा प्रहरी प्रशासनले बेवास्ता गरेको भीमलालकी पत्नी रीता श्रेष्ठको आरोप छ।

अपहरणमा परेका चौलागाईको छोराको मृत्यु भएपछि चिन्तित भएकी चौलागाईको पत्नी देवकुमारीको पनि डेढ वर्ष अघि निधन भइसकेको बकैया ठाकुुर सामुुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रदीप उप्रेतीले बताए।

अपहृतद्वयका परिवारजनलाई वन समूहले १०/१० लाख रकम सहयोग उपलब्ध गराउने तत्कालीन जिल्ला वन कार्यालय बाराका प्रमुुख एवं डिएफओ जीवनकुुमार ठाकुर सहमति भए पनि सो रकम पनि आजसम्म पिडित पक्षले पाउन नसकेको उप्रेतीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here