जिल्ला प्रहरी कार्यालय, पर्साले बुधवार आयोजना गरेको नागरिक सुनवाइ कार्यक्रममा सहभागी सेवाग्राहीहरूले बिचौलियाबाट पीडित भएको गुनासो पोखे। सो कार्यालयको प्रायः सबैजसो फाँटहरूमा बिचौलियाको सहारा लिएर काम गराउनुपर्ने र यसबाट आफूहरू पीडित हुन गरेको उनीहरूले दुःखेसो पोखे। बिचौलियाबारे यस प्रकारको गुनासो आएपछि बिचौलियालाई कारबाई गर्ने, अब उप्रान्त बिचौलियाहरूको चलखेल रोक्ने जस्ता स्वाभाविक उत्तर प्रहरी प्रमुखबाट दिइने कुरा नयाँ नौलो भने होइन र हिजो पनि सो कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सोही कुरा दोह–याए। बिचौलिया जिल्ला प्रहरी कार्यालय, पर्साको मात्र समस्या होइन। जिल्लामा रहेका जनताको प्रत्यक्ष सरोकार हुने तथा आर्थिक कारोबार हुने भूमिसुधार तथा मालपोत, यातायात, नापी, भन्सार, आन्तरिक राजस्व, सबै सरकारी कार्यालयहरूलाई नियमन गर्ने जिल्ला प्रशासन, कारबाई गर्ने अख्तियार अनि न्याय सम्पादन गर्ने अदालतमा समेत बिचौलियाहरूको बिगबिगी छ। सरोकारवाला सेवाग्राहीले सीधै काम गराउने वातावरण बनिसकेको छैन। यो होइन कि यसविरुद्ध पहल गरिएको छैन तर सार्थक र टिकाउ प्रयास नगरिएको कारण अहिलेसम्म बिचौलियाहरूको बिगबिगी जारी छ।

आम जनताले आफ्नो काम गराउनु छ भने बिचौलियाको सहारा लिनैपर्ने हुन्छ। बाहिरी आवरणमा यसविरुद्ध कार्यालय प्रमुखहरूले जति सफाइ दिएपनि भित्री कुरा भने विनाबिचौलिया कामै हुँदैन। कानून र विधिको कुरा गर्नेहरूको कुनै पनि कार्यालयमा काम बन्दैन, त्यही बिचौलियाको सहारा लिएपछि जस्तोसुकै नहुने काम पनि सम्पन्न हुन्छ। यही कारण हो कि सबैजसो सरकारी कार्यालयहरूमा काम गराउनका लागि बिचौलिया खोजिन्छ। डेढ दशक अघि बारा जिल्ला प्रहरी कार्यालयको मूल गेटमा लेखिएको थियो–‘दलालहरूलाई प्रवेश निषेध’। मूल गेटमा यस्तो लेखिए पनि भित्र भने उनै बिचौलियाहरूको जगजगी चल्ने गरेको थियो जुन अहिलेसम्म रोकिएको छैन। पर्सा जिल्लामा पनि एक दशक अघि रमेश खरेल प्रहरी उपरीक्षक हुँदा बिचौलियाहरू बाहिरिएका थिए। उनले सेवाग्राहीको कुरा आफैं सुन्ने र त्यसको निराकरण गर्ने गरेका कारण बिचौलियाहरूको कुनै जोर चल्न सकेको थिएन। त्यसपछिका कार्यालय प्रमुखहरूले नक्कल मात्र गरे, फुर्ति मात्र झारे, बिचौलियाहरूलाई कार्यालय बाहिर निकाल्न सकेनन्। हत्या, अपहरण, चोरी, डकैती, लागूऔषध, ठगी आदि मुद्दामा बिचौलियाहरूको चलखेल पुरानो हो। घटनामा दोषी एकाधजना हुन्छन् तर सोभन्दा बढी रिसराग, द्वेष भएका जोकोहीविरुद्ध मुद्दा दिने, दिन लगाउने कार्य हुँदै आएकोले बिचौलियाहरूको जन्म भएको हो।

भूmटा मुद्दाबाट मुक्ति दिलाउने शर्तमा कार्यालय प्रमुखहरूलाई सेटिङ्ग गर्ने अनि उन्मुक्ति दिलाएर रकम असुली गर्ने कार्यले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। सोर्स, सिफारिश, भनसुन आदिबाट गरिने न्याय सम्पादनका काममा बढी चलखेल हुन्छ र यसको फाइदा बिचौलियाहरूले उठाउँदै आएका छन्। अहिलेसम्म आम मानिसको कुरा सीधा कसैले सुनिदिदैंन। फलतः त्यसका लागि कसै न कसैको सहारा लिनैपर्छ। सरोकारवालाहरूको कुरा सीधै सुन्ने र सोही अनुरूप न्याय सम्पादन गर्ने शैली विकास नगरुन्जेल बिचौलियाहरू कुनै न कुनै रूपमा सक्रिय भइरहन्छन्। त्यसको निराकरण सरोकारवालासँग प्रत्यक्ष्F कुराकानीबाहेक केही हुन सक्दैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here