प्रस, वीरगंज, १६ पुस/
जनमत पार्टीले सङ्घीय राजधानी काठमाडौंको निषेधित क्षेत्रमा सोमवार धोती दिवस मनाउँदा प्रहरीले पार्टी अध्यक्ष डा सिके राउतलगायत कार्यकर्ताहरूलाई पक्राउ गरेको विरोधमा वीरगंज–१५ प्रतिमाचोकमा जनमतका कार्यकर्ताहरूले रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको नेतृत्वमा प्रतिमाचोकमा टायर बालेर पक्राउ परेका नेता, कार्यकर्ताहरूलाई ससम्मान रिहा गर्न माग गरिएको थियो । प्रदर्शनमा सहभागी जनमतका स्थानीय नेताहरू प्रह्लाद गिरी, सिपु तिवारी, विनय यादव, श्याम गुप्ता, रामजी रौनियार, नजमा खातुन, सञ्जय सिंह, रेखा यादव, उमाशङ्कर गुप्तालगायतले काठमाडौंमा पक्राउ परेका नेताहरूलाई अविलम्ब ससम्मान रिहा नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । यसैगरी, जनमत पार्टीका कार्यकर्ताहरूले सर्लाहीको जिल्ला समन्वय समिति चोकमा पनि पक्राउको विरोध गर्दै रिहाइको मागसहित प्रदर्शन गरेका थिए ।

प्रस, सिम्रौनगढ/
जनमत पार्टीका कार्यकर्ताहरूले नेता, कार्यकर्ताहरूको रिहाइ माग गर्दै सिम्रौनगढ नगरपालिकामा प्रदर्शन गरेका थिए । धोती दिवस मनाउने क्रममा काठमाडौंमा निषेधित क्षेत्रमा प्रदर्शन गरेको कसूरमा प्रहरीले जनमत पार्टीका अध्यक्ष डा सिके राउतसमेत दर्जनौं नेता, कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो । सिम्रौनगढको कङ्काली मन्दिर परिसरबाट निकालिएको ¥यालीमा मधेसी एकता जिन्दाबाद, धोती मधेसीको पहिचान हो जस्ता नारा लगाएर सिम्रौनगढ बजार परिक्रमा गरिएको थियो । जनमत पार्टीको सिम्रौनगढ नगर कमिटी अध्यक्ष विजय ठाकुरको नेतृत्वमा निकालिएको ¥यालीमा आरके राउत, गगनदेवप्रसाद कुशवाहा, चन्दन शर्मालगायतको सहभागिता थियो ।

अध्यक्ष राउतसहितका कार्यकर्ता रिहा

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनीता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरूले काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिई नेपाल प्रहरी क्लबमा राखेको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सो क्लबमा आफैं पुगी अध्यक्ष राउत, मन्त्री अनीता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौं प्रहरी परिसरले हिरासतमा लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here