– राजेश मिश्र

“काहे मिठाई ओरी टुकुर–टुकुर ताकतार, नइखे मिलल का ?” मिठाई बाँडिरहेका विद्यालयका कार्यालय सहयोगीले सोध्नैबित्तिकै केटाकेटीहरूले ठूलो स्वरमा भने–“एकरा मिल गइल बा। फेरू लेवे खातिर लरियाइल बा।”

उपरोक्त प्रसङ्ग झन्डै चार दशक अघि र पर्सा जिल्लाको पोखरिया माविको हो। विसं २०४० देखि एक दशक, पुस १४ गते खास दिन रह्यो। पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सव पथ्र्याे। सोही अवसरमा तात्कालीन पञ्चहरूले पोखरियामा राजाको जन्मोत्सव पारेर मेलाको थालनी गरे। त्यस बखत बिछट्टै आनन्दको अनुभूति हुन्थ्यो।

वृद्धवृद्धा, महिला, पुरुष र केटाकेटीहरू सबैका लागि पुस मेला अत्यन्तै उल्लासपूर्ण उत्सव हुन्थ्यो। मेलाको उमङ्गको अगाडि पुस महीनाको हुस्सु र कठ्याङ्ग्रिंने जाडो प्रभावशून्य लाग्थ्यो। मानिसको रजगजले पुस महीना बितेको पत्तै हुन्थेन। कसैलाई सिनेमा त कसैलाई थिएटर, कसैलाई व्यापार र कसैका लागि रोजगार गर्ने अवसर हुन्थ्यो। अनि विद्यार्थीहरूका लागि पुस १४ गते राजाको जन्मोत्सवको अवसरमा जुलूसमा सहभागी, विद्यालयमा छुट्टी र मेलापातमा मनग्य रमाइलो गर्ने सुअवसर जुथ्र्यो।

तत्कालीन जिल्ला उचाङ्गल मावि, पोखरियाको प्राङ्गणमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूसँगै सतवरिया र डमरापुर प्राविका शिक्षक तथा विद्यार्थीहरूको जमघट हुन्थ्यो। त्यहाँबाट राजा–रानीको फोटोसहित ठूलो ब्यानर र बाजागाजासहित शिक्षक, विद्यार्थी तथा पञ्च प्रतिनिधिहरूको लस्कर नारा लगाउँदै गाउँ परिक्रमा गर्न निस्कन्थ्यो। पोखरिया बजार हुँदै पोखरिया–सतवरिया गाउँको परिक्रमा गरी पुनः पोखरिया माविको प्राङ्गणमा भेला हुन्थ्यो।

पुस १४ गतेको अवसरमा अनुुुभूति गर्न पाइने अनेक प्रकारका रमझमबीच बाल मनोविज्ञान आजको आलेखमा समिटिएको छ। उहिलेको न्यून र आजको बृहत् संसाधानका बावजुद बालमनोविज्ञान कुन दिशामा लम्कँदै छ भन्ने कुरा दर्शाउन खोजिएको हो।

उहिले केटाकेटीहरूको मनोरञ्जनको उपक्रम कड्बडी, चिनिया–बेदाम, थाडी–टीका आदि स्थानीय खेल मात्र थियो। त्यसमा पनि घरदेखि विद्यालय र विद्यालयदेखि घर निरन्तर धाउनुपर्ने बाध्यताले आजित बालमनोविज्ञान पुस मेलाको अवसरमा नयाँपन अनुभूति गथ्र्यो। यसले बालबालिकाहरूलाई उत्साहित र ऊर्जावान् बनाउँथ्यो। बालबालिकाहरूका लागि पुस मेला अद्भूत क्षण हुन्थ्यो, अनेक प्रकारका मनोरञ्जनसहित नयाँ वातावरणमा प्रवेश गर्ने माध्यम। छठपछि केटाकेटीहरू पुस मेला पर्खन्थे।

पुस १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको जुलूसमा सहभागी भएर पोखरिया माविको प्राङ्गणमा फर्केपछि जलेबी/बुनियाँ पाइन्थ्यो। विद्यार्थीहरूका लागि सित्तैमा मिठाई पाउनु हर्षको विषय थियो। त्यसबाहेकका क्रियाकलाप बाल मस्तिष्कमा खासै प्रभावकारी थिएन।

केटाकेटीहरूलाई एक मात्र चिन्ता के थियो भने आफ्नो पालो आउन्जेल मिठाई नसकियोस्। त्यस कारण मिठाई लिन ठेलमठेल हुन्थ्यो। संयम राखेर पङ्क्तिमा बस्ने गुरुहरूको आदेश अर्थहीन हुन्थ्यो। गाली सुने पनि, पिठ्युँमा डण्डा बर्से पनि बालबालिकाहरूको ध्यान एकटक मिठाईमा केन्द्रित रहन्थ्यो। कतिपय विद्यार्थी मिठाई पाएर पनि वरिपरि मडारिइरहन्थे। उब्रेपाब्रेको अन्तमा पुुनः पाउने आशा गदर्थे। कतिपयले मिठाई नपाएझैं अनुहार बनाएर ठूलाहरूको मुख ताक्थे। कसैलाई माया लागेर मिठाई देला भन्ने मनोविज्ञान हेर्न लायक हुन्थ्यो। मिठाई पाउनेहरूले दोहो–याएर नपाऊन् भनेर नपाउनेहरूहरू सजग–सतर्क रहन्थे।

बालबालिकाहरूका लागि पुस मेला किन यतिबिघ्न हर्षको विषय थियो ? किनभने त्यसताका झन्डै पन्ध्र/सोह्र वर्षको उमेर वा एसएलसी अघिसम्म अपवाद बाहेक दूरदराज जान पाइँदैन थियो। पोखरियादेखि वीरगंजको दूरी अहिले खासै टाढा नलागे पनि उहिले सडक र यातायातको अभावमा निकै टाढा थियो।

पुरनियाँहरूले वीरगंजको दूरी चार कोस भन्थे। त्यतिबेला दूरीलाई कोसमा नपिन्थ्यो। अपवादबाहेक वर्तमान पुस्तालाई एक कोस बराबर कति किलोमिटर थाहा नहोला। पुरनियाहरूले ‘एक घण्टा में एक कोस’ भन्थे, अर्थात् सामान्यतया हिंडेर एक घण्टामा एक कोस दूरी तय गर्न सकिन्थ्यो। उनीहरू यात्रा गर्दा लाग्ने समय अनुसार दूरी यकीन गर्दथे। अहिले पनि ग्रामीण क्षेत्रका पुरनियाहरूले ‘कोस’ शब्द प्रयोग गर्ने गरेको पाइन्छ।

दूरीसम्बन्धी विषय आलेखको प्रसङ्गभित्र नपरे पनि यहाँ सोसम्बन्धी जानकारी उल्लेख गर्नु उपयुक्त देखिन्छ। एक कोस बराबर कति माइल वा किलोमिटर हुन्छ भन्ने कुरा अहिलेका पुस्ताले जान्नुपर्छ। ‘कोस’ दूरी मापन गर्ने ‘एकाइ’ हो। प्राचीनकालमा एक कोस बराबर कतै ४ हजार हात त कतै ८ हजार हात मानिन्थ्यो। एक कोस बराबर दुई माइल र ३.२२ किलोमिटर हुन्छ।

गोस्वामी तुलसीदास हनुमान चालिसाको रचयिता हुन्। हनुमान चालिसाको एक दोहामा सूर्य र पृथ्वीको दूरी वर्णन गरिएको पाइन्छ। अचम्मको कुरा त के हो भने विज्ञानले प्रगति गर्नु भन्दा अघि यसको जानकारी हिन्दू धर्मग्रन्थमा उल्लेख गरिएको पाइन्छ। हनुमान चालिसामा एउटा दोहा छ :–

 जुग सहस्त्र जोजन पर भानु।

लिल्यो ताहीं मधुर फल जानु।।

सूर्य र पृथ्वीबीचको दूरीको गणित हनुमान चालिसाको उपरोक्त दोहामा अन्तर्निहित छ। हनुमानजीले एक युग र सहस्त्र योजनको दूरीमा अवस्थित भानु (सूर्य) लाई मीठो फल ठानेर निलेका थिए। दूरी नाप्ने पुरातन एकाइ ‘योजन’ हो। एक युग बराबर १२,००० वर्ष, एक सहस्त्र बराबर १,००० योजन र एक योजन बराबर ८ माइल हुन्छ।

युग × सहस्र × माइल अर्थात् १२,००० युग गुणा १,००० योजन गुणा ८ माइल बराबर ९,६०,००,००० (नौ करोड साठी लाख) माइल हुन्छ। त्यसैगरी एक माइल बराबर १.६ किमि हुन्छ। यसरी ९,६०,००,००० माइल ह १.६ किमि बराबार १५,३६,००,००० (पन्ध्र करोड छत्तीस लाख) किमि हुन्छ। यसै गणितको आधारमा गोस्वामी तुलसी दासले प्राचीनकालमा सूर्य र पृथ्वीको दूरी वर्णन गरेका थिए।

अब फर्कौं मुख्य प्रसङ्गतर्फ। पोखरियादेखि वीरगंजको चार कोस (१४ किमि) दूरी तय गर्न झन्डै चार घण्टा हिंड्नुपथ्र्यो। अड्डाको काम परे मात्र मानिसहरू वीरगंज जान्थे। उहिले किनमेलको लागि ग्रामीण क्षेत्र वीरगंजमा निर्भर थिएन। यातायातको पहिलो विकल्प आफ्नै दुई खुट्टा थियो। बयलगाडा त सामान्य मानिसका लागि असामान्य कुरा थियो।

त्यस कारण आफ्नो गाउँ वरपरका वातावरणभन्दा टाढा वयस्कका लागि चुनौतीपूर्ण थियो भने बालबालिकाका लागि दिवास्वप्न नै थियो। एसएलसीपछि मात्रै वीरगंज छिर्न पाइन्थ्यो। सुनेको कुराको कल्पना गर्न सकिन्छ वा देखेको प्रसङ्ग सपनामा आउँछ। त्यसैले ग्रामीण परिवेशका केटाकेटीहरू सीमित कल्पना, सपना र सुविधामा हुर्कन्थे। उनीहरूलाई आफ्नो वासस्थान र त्यस वरपरका वातावरण नै संसार हो जस्तो लाग्थ्यो। खेत, खलिहान, घर, बाख्राबाख्री, गाई, गोरु र भैंसीका साथै चन्द्र, सूर्य र ताराहरू बाहेक संसारमा अरू केही छ भन्ने कुरा सपनामा पनि आउँथेन। त्यस कारण ग्रामीण केटाकेटीहरूको सीमित संसारमा राजा वीरेन्द्रको जन्मोत्सव र सो अवसरमा लाग्ने पोखरियाको कृषि रमाइलो मेला कल्पनाभन्दा धेरै बढी महत्वपूर्ण र उत्साहवर्धक थियो। त्यस समयको सीमित स्रोत–साधनमा हुर्केर समयको गतिसँगै ती बालबालिका आज विभिन्न क्षेत्रमा क्रियाशील छन्।

आजका पुस्ताका लागि शैक्षिक वातावरणसँगै मोबाइल, कम्प्युटर, लेपटप, इन्टरनेटजस्ता अनेक अत्याआधुनिक संसाधन उपलब्ध छ। शैक्षिक भ्रमणमा जान पाइरहेका छन्। अपवादबाहेक एउटै ठाउँमा गुम्सिएर हुर्कनु पर्ने अवस्था छैन। आज सानै उमेरदेखि अनेक प्रकारका गतिविधिमा सहभागी हुन पाइरहेका छन्।

आज बृहत् सुविधा र संसाधनले बालमनोविज्ञन सुविधाभोगी हुँदै गइरहेको छ। स्वीकार गरे/नगरे पनि यो यथार्थ हो। आभास सबैलाई छ तर समाज अभिव्यक्त गर्न चाहिरहेको छैन। खानेकुरादेखि शिक्षासम्म, अनेक प्रकारले बालमनोविज्ञानमा प्रहार भइरहेको छ। खानेकुराको छनोट होस् वा शैक्षिक गन्तव्य, अपवादबाहेक उद्देश्य देखासिकीमा निर्भर हुन थालेको छ। यससँगै स्वदेशमा केही छैन, सबैथोक विदेशमा छ भन्ने मानक स्थापित हुँदै गइरहेको छ। आखिर यसको जिम्मेवार नानाथरीका विज्ञापन, च्याउझैं उम्रेका शैक्षिक संस्थाहरू, अभिभावक, नागरिक समाज र सरकारमध्ये कुनै एक वा सबै, को हो ? के आधुनिकतासँगै बाल मनोविज्ञान खतरामा छ भन्ने लाग्दैन ? 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here