प्रस, सेढवा १२ पुस/
जङ्गली जनावरका कारण जङ्गलको सीमासँग जोडिएका किसानहरूले दुःख भोग्नुपरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालयको जङ्गलबाट निस्केका जङ्गली जनावरहरूले किसानहरूले लगाएको बालीमा क्षति पु¥याउन थालेको किसानहरूले बताएका छन् ।
यस क्षेत्रको ठोरी गाउँपालिका–गडुवालाइन, क्षत्रीलाइन, जीराभवानी गाउँपालिकाको शान्तिनगर, काठमाडौंटोल, वसन्तपुर, हरैया, सखुवनियालगायत किसानहरूको बालीमा क्षति पुग्ने गरेको बताएका छन् । जीराभवानी गाउँपालिका–१ शान्तिनगरका किसान जिताराय थारूले जङ्गलबाट निस्केका घोडगदहा, हरिण, बँदेल र मयूरलगायत जङ्गली जनावरहरूले बालीमा क्षति पुर्याएको बताए । उनले गहुँ छरेको बीउबाट निस्किन लागेका टुसा जनावरले खाने गरेपछि किसानहरू चिन्तित भएका छन् ।
त्यस्तै बँदेल, नीलगाईले कोदो, आलु, तोरीलगायत बालीमा क्षति पुर्याएको थारूले बताए । यसका साथै जङ्गली जनावर नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्जले विद्युतीय तारबार लगाएको छ । सो तारबारबाट पनि जनावर नियन्त्रण हुन नसक्दा मेसजालीबाट बार लगाइएको छ । तर बाँदर र चित्तल भने नियन्त्रण हुन सकेको छैन । बाँदरले सुर्तीबालीलाई नराम्ररी क्षति पुर्याइरहेको किसानहरूले गुनासो गरेका छन् ।
यस सम्बन्धमा सुनाखरी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जङ्गली जनावर नियन्त्रणका लागि निकुञ्ज प्रशासनले सम्भव भएसम्म काम गरिरहेको बताए । यसबाहेक पनि किसानहरूलाई निकुञ्जले राहत प्रदान गरिरहेको अध्यक्ष पाख्रिनले बताए ।
गत वर्ष बाली क्षति भएका पचीसजना किसानलाई राहत प्रदान गरिएको अध्यक्ष पाख्रिनले बताए । यस वर्ष बाली क्षति भएका ४५ किसानको सिफारिश भएको छ । निकुञ्ज प्रशासन अनुसार सुर्ती बाली र तरकारी बाली क्षति भएमा राहत नपाउने बताए ।