ज्येष्ठ नागरिक सङ्घ गठन भएर देशभर चलायमान बनेपछि नेपालमा पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । यो दिवस नेपालमा बितेका दुई वर्षदेखि मनाउन थालिएको र पुस ११ गते अर्थात् डिसेम्बर २७ तारिखका दिन तेस्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो । नेपालमा ज्येष्ठ नागरिकहरू सङ्गठित भएको लामो समय भएको छैन । ०६८ साल पुसमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गठन भएको थियो । नेपालमा पछिल्लो चरणमा ०७८ सालमा भएको जनगणनानुसार कुल जनसङ्ख्याको नौ प्रतिशत अर्थात् २५ लाख ज्येष्ठ नागरिक छन् । जनगणनामा सरकारले ६० वर्ष उमेर पुगेकालाई ज्येष्ठ नागरिकमा गणना गरेपनि आर्थिक समस्याका कारण उनीहरूलाई दिने समाजिक सुरक्षा भत्ता भने ६८ वर्ष तोकेको छ । यस अघि समाजिक सुरक्षाभत्ता नेपालमा ०५२/०५३ सालमा तत्कालीन भरतमोहन अधिकारी अर्थमन्त्री छँदा रु एक सयबाट शुरू भएको थियो र ७५ वर्ष उमेर पुग्नुपर्ने प्रावधान थियो । त्यसपछिका समयमा सामाजिक सुरक्षा भत्ताको रकम वृद्धि हुँदै गयो र अहिले मासिक चार हजार पुगेको छ भने उमेर हद पनि घटाएर ६८ वर्ष राखिएको छ ।

ज्येष्ठ नागरिकहरू व्यावहारिक ज्ञानको अमूल्य भण्डार र इतिहासको साक्षात प्रतिमूर्ति हुन् तर उनीहरू शान्तिपूर्वक र सम्मानजनकरूपमा बाँच्नको लागि गम्भीर चुनौतीको सामना गरिरहेका छन् । यस्ता चुनौतीहरू आर्थिक, भौतिक, स्वास्थ्य, सामाजिक र मनोवैज्ञानिकरूपमा देख्न सकिन्छ ।  रोजगार टुट्नु, आम्दानी घट्नु, आर्थिक असुरक्षा बढ्नु आर्थिक चुनौती र कमजोर स्वास्थ्य र स्वास्थ्य सेवाको कमी, पोषणयुक्त भोजनको अभाव, स्वास्थ्य चुनौती र उचित आवासको अभावलगायत कुरा भौतिक चुनौती हुन् । त्यस्तै  मान मर्यादामा आउने कमी, अरूबाट हेलचेक्रयाइँपूर्ण व्यवहार हुने, सामाजिक बहिष्करण तथा हेलाहोचो भोग्नुपर्ने जस्ता कुरा सामाजिक तथा मनोवैज्ञानिक चुनौती हुन् । ज्येष्ठ नागरिकहरूको माग र खास किसिमको आवश्यकता सम्बोधन गर्न परिवार, सन्तान र समाजसमेतको कर्तव्य हो । ज्येष्ठ नागरिकको सबै मानवीय आवश्यकता पूरा भई शान्त र मर्यादित जीवन जिउन पाउने हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नु राज्यको दायित्व हो । यसले ज्येष्ठ नागरिकहरूलाई सुरक्षित र खुशी राख्नेछ । तर व्यवहारमा ज्येष्ठ नागरिकहरू घरपरिवार र समाजमा अपहेलित, शोषित  भई आधारभूत आवश्यकताको उपभोग गर्नबाट वञ्चित भईरहेको अवस्था छ । ज्येष्ठ नागरिकको हकहितसम्बन्धी राष्ट्रिय नीति, स्रोतसाधनको विनियोजन र संरक्षणका तरीकाहरू ज्यादै नगण्य छन् जुन कुरा ज्येष्ठ नागरिकहरूको ठूलो चासो र सरोकारको विषय भएको छ ।

यद्यपि बढ्दो अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने राज्यको पर्याप्त कार्यक्रम, स्रोत साधन र ज्येष्ठ नागरिक मैत्री विभिन्न कार्यक्रमको अभाव तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रले उपयोग गरी नयाँ पीढीमा हस्तान्तरण गर्न नसक्नु, संयुक्त परिवारबाट एकल परिवारको प्रथाले स्थान पाउनु र सन्तानले बाबुआमाप्रति पूरा गर्नुपर्ने दायित्व वहन र हेरचाहमा  ह्रास आउनु, बुढ्यौलीमा लाग्ने विभिन्न रोगको समयमा निदान र उपचारको यथोचित व्यवस्था नहुनु, समाजले  ज्येष्ठ नागरिकप्रति गर्नुपर्ने श्रद्धा, सम्मान र सकारात्मक सम्बोधनमा ह्रास आउनु, दीर्घकालीन योजना, नीति, कानून नियमको उपयुक्त र प्रभावकारी सरकारीे कार्यक्रमको अभावजस्ता चुनौतीहरू हामीबीच छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here