प्रस, वीरगंज, ११ पुस/
जोहरा इन्टरनेशनलको व्यवस्थापन र क्यान पर्साको आयोजनामा वीरगंजको नारायणी क्रिकेट रङ्गशालामा जारी प्रो क्लब च्याम्पिनयसीप टी–२० क्रिकेट प्रतियोगिताको आज दुईवटा खेल सम्पन्न भएको छ ।
पहिलो खेलमा सशस्त्रको विभागीय टीमलाई नेपाली सेनाको विभागीय टीमले २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नोयडालाई नेपाल पुलिस क्लबले ६ विकेटले पराजित गरेको छ ।
पहिलो खेलमा टस जिती ब्याटिङ रोजेको नेपाल आर्मीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा ११४ रन बनायो । जसमा आर्मीका सन्तोष कार्कीले ३२, कुशल मल्लले २२ रनको योगदान गरेका थिए भने सशस्त्रको तर्फबाट अमर रौतेला ५, हरिशङ्कर साह २, अविनाश बोहराले १ विकेट लिए । ११५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको सशस्त्रका ब्याट्सम्यानबीच पार्टनरसीप जम्न नसक्दा सशस्त्रले लक्ष्य भेट्न सकेन ।
सशस्त्रको कुल ८८ रन योगफलमा क्याप्टेन प्रदीप गैरीले २९, लोकेश बमले १६ रनको योगदान गरेका थिए । आर्मी तर्फबाट कुशल मल्ल ५, सोमपाल कामी, अविनाश कर्ण, साहब आलम, वशिर अहमद, विवेक यादवले समान एक–एक विकेट लिएका थिए । सो खेलको उत्कृष्ट खेलाडी नेपाल आर्मीका कुशल मल्ल घोषित भएका थिए ।
यसैगरी, नेपाल पुलिस क्लब र नोयडाबीच भएको दोस्रो खेलमा नेपाल पुलिसले टस जितेर बलिङ गर्दा नोयडाले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा जम्मा ८५ रन मात्र जोडेको थियो । नोयडाका क्याप्टेन हर्षद सेठीले ३५, तरुण विष्टले १५ रनको योगदान दिएका थिए भने पुलिसका ललित राजवंशी, राशिद खानले दुई–दुई विकेट लिए भने शेर मल्ल र सागर ढकालले १–१ विकेट लिएका थिए ।
८६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको नेपाल पुलिसले १२.२ ओभर खेल्दै चार विकेटको क्षतिमा ८६ रनको लक्ष्य भेटेका थिए । जसमा शङ्कर राणा ३८, राशिद खानले ३१ रन बनाएका थिए । नोयडातर्फबाट सञ्जीव चतुर्वेदी २, दक्ष कुमार र हर्षद सेठीले एक–एक विकेट लिएका थिए । यो म्याचको म्यान अफ द म्याच २९ रन र दुई विकेट लिएका नेपाल पुलिसका राशिद खान घोषित भएका छन् ।
यसैगरी, बिहीवार लिग म्याच अन्तर्गतको पर्सा ११ र सशस्त्र प्रहरीबीच एक खेल मात्र बाँकी छ । प्रतियोगिताको अङ्कतालिका अनुसार लिग म्याचको अङ्कमा कुल ६ वटा सहभागी टीममध्ये एकदेखि चौथो स्थानसम्म टीमहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् भने पाँचौं र छैठौ स्थान ल्याउने टीम प्रतियोगिताबाट बाहिरिन्छ ।
आजको खेलको नतीजा अनुसार अङ्कतालिकामा नेपाल आर्मीले पाँचवटै खेल जितेको छ भने नेपाल पुलिसले पाँचमध्ये चार खेल जितेको छ । त्यसैगरी, नोयडा पाँच खेलमध्ये दुई खेल जित्दै तेस्रो स्थानमा छ भने पर्सा चार खेल खेलेर दुई जीतसँगै चौथो स्थानमा छ । सशस्त्र चार खेल खेलेर एक जीतसँगै पाँचौं स्थानमा छ । युपी–११ पाँच लिग अन्तर्गत एउटा पनि खेल जित्न सकेको छैन ।
सेमिफाइनलमा पर्सा प्रवेश गर्ने सम्भावना बढेको छ ।