बेथलेहेम, प्यालेस्टिनी अधीनस्थ क्षेत्र, ९ पुस/एएफपी
हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव शुरू भएको छ ।

विश्वले युद्धका कारण महँगी र कहर खेपिरहेका समय पोप फ्रान्सिसले शान्तिको आह्वानसहित विश्वव्यापी क्रिसमस उत्सवको आइतवार साँझ उद्घाटन गरे ।

“हामी प्यालेस्टाइन, इजरायल र युक्रेनको बारेमा सोचिरहेका छौं,” पोपले क्रिसमसको पूर्वसन्ध्यामा आयोजित प्रार्थनासभामा भने, “हामी युद्धबाट पीडित मानिसहरूको बारेमा सोचिरहेका छौं ।”

पोपले भने, “आज राति, हाम्रो ह्दय बेथलेहममा छ र शान्तिका राजकुमार (येशू ख्रीष्ट)लाई फेरि युद्धको निरर्थक तर्कले अस्वीकार गरेको छ । हतियारको टकरावले आज पनि उहाँलाई संसारमा कुनै स्थान पाउनबाट रोकेको छ ।”

क्रिस्टियन धर्मावलम्बी (मसिही)हरूको विश्वास अनुसार करीब दुर्ई हजार वर्षभन्दा पहिले येशू ख्रीष्टले स्थिररूपमा जन्मेका र इजरायलद्वारा कब्जा गरिएको पश्चिम किनाराको बाइबलीय शहर बेथलेहमको वार्षिक क्रिसमस समारोहलाई प्रभावकारीरूपमा सम्पन्न गर्न युद्धले रोकेको छ । सामान्य अवस्थामा हजारौं पर्यटकहरूलाई आकर्षित गर्ने उक्त समारोहलाई परम्परागतरूपमा सामान्य जमघटबीच नै मनाइन लागेको छ ।

प्यालेस्टिनी शहरमा विशाल क्रिसमस ट्री, परेडका लागि बाजाहरू र चमकदार जन्मका दृश्यको साथ मनाइने क्रिसमस केवल सामान्य उत्सवसहित मनाइनेछ किनकि यहाँका नागरिक युद्धको त्रासमा बाँचिरहेका छन् ।

क्रिसमस उत्सवका लागि शहरको मध्यभागमा एउटा विशाल प्यालेस्टिनी झन्डामा ‘गाजामा युद्धविरामका लागि बेतलेहेमको घण्टी बज्छ’ लेखिएको ब्यानर झुन्ड्याइएको छ ।

१८ वर्षीया छात्रा निकोल नज्जरले भनिन्, “यो भूमिका लागि धेरै मानिस मरिरहेका छन् । हाम्रा मानिसहरू मरिरहेका बेला उत्सव मनाउन साँच्चै गा-हो छ ।”

जेरुसेलमका ल्याटिन धर्मगुरु पियरबतिस्ता पिज्जाबालाले भने, “हामी यहाँ प्रार्थना गर्न आएका छौं र हामीले युद्धविरामको लागि मात्र होइन सम्पूर्ण शत्रुतालाई रोक्न आगामी मार्ग बदल्नुपर्छ किनभने युद्धले कसैलाई शान्ति दिंदैन हिंसा मात्र उत्पन्न गर्छ ।”

गाजाको क्याथोलिक होली चर्चकी सिस्टर नाबिला सलाहले जेरुसेलमको ल्याटिन धर्मगुरु पिज्जाबालाको भनाइ उद्धृत गर्दै भने, “क्रिसमसका सबै उत्सवहरू रद्द गरिएको छ ।”

“हामीले घण्टीको साटो टङ्की र बमबारीको आवाज सुन्न बाध्य छौं भने हामी कसरी उत्सव मनाउँछौं,” उनले भने ।

सिरियामा चर्चहरूले प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै प्रार्थना मात्र गरेर क्रिसमस उत्सव मनाएका छन् ।

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करीब एक हजार १४० जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए । आक्रमणपछि प्यालेस्टिनी लडाकूहरूले करीब २५० जनालाई अपहरण गरेका थिए, जसमध्ये १२९ जना गाजामैं रहेको इजरायलले बताएको छ ।

बदलामा इजरायलले चलाएको कारबाईमा २० हजार ४२४ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका हमास नियन्त्रित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणमा जनाइएको छ ।

युक्रेनमा पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाइँदै

यो वर्ष युक्रेनले पहिलोपटक डिसेम्बर २५ मा क्रिसमस मनाउँदैछ ।

करीब दुर्ई वर्षअघि रूसले आक्रमण शुरू गरेको युक्रेनमा जनवरी ७ को परम्परागत दिन (अर्थाेडक्स डेट)लाई बेवास्ता गर्दै डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

जनवरी ७ लाई रूसी क्रिश्चियन धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् भने रूसी परम्पराको विरोधका लागि युक्रेनले नयाँ मिति अर्थात् उसका सहयोगीहरूले क्रिसमस मनाउने दिन डिसेम्बर २५ मा नै क्रिसमस मनाउने घोषणा गरेको हो ।

ओडेसाको दक्षिणी ‘ब्ल्याक सी’ बन्दरगाहमा चर्चमा जानेहरूले डिसेम्बर २४ लाई क्रिसमसको अघिल्लो साँझका रूपमा मान्यता दिंदै मैनबत्ती बाली प्रार्थना गरेका थिए ।

सुनौलो वस्त्रमा उपस्थित पादरीहरूले युक्रेनी गिर्जाघरहरूमा जन्मको दृश्यले सजाइएको ‘क्रिसमस ट्री’को अगाडि उभिएर येशू ख्रीष्टको जन्मदिनको सम्झना गरेका थिए ।

“हामी विश्वास गर्छाैं कि हामीले वास्तवमा मस्कोबाट टाढाटाढा, सारा विश्वसँग क्रिसमस मनाउनुपर्छ । मेरोलागि यो अब नयाँ सन्देश हो,” आफ्नो छोरा युक्रेनी सेनाको अग्रदस्तामा चिकित्सक रहेको बताउने पादरी ओलेनाले भने ।

अर्थाेडक्स चर्चले रुचाएको जुलियन क्यालेन्डरबाट टाढा जाने मिति परिवर्तन रूसी र सोभियत साम्राज्यहरूको निशान हटाउन आक्रमणपछिको चालको एक भाग भएको उनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here