किसानहरूलाई अहिले युरिया मलको अभाव भएको छ । जतिखेर मलको आवश्यकता आइपर्छ किसानहरूले सहजरूपमा मल पाउँदैनन् । पछिल्लो धेरै वर्षदेखि यो नियति किसानहरूले भोगिरहेका छन् र उनीहरूलाई अहिले यसको बानी परिसकेको छ । धेरैजसो किसानले धानबाली भिœयाइसकेका छन् र गहुँबाली लगाउन शुरू गरिसकेका छन् । अहिले सिंचाइ सुविधा भएका पालिकाहरूमा धानबाली भिœयाएर गहुँबाली लगाइरहेको अवस्था छ । सिंचाइ सुविधा नभएका पालिकाहरूमा भने अहिले धान भिœयाउने क्रम जारी छ । किनभने यस वर्ष गत वर्षको तुलनामा वर्षा कम भयो र आकाशे सिंचाइको भरमा रहेका किसानहरूले समयमा धान रोपनी गर्न पाएनन्, जसले गर्दा उनीहरूका उत्पादन ढिलो हुनुका साथै गत वर्षको तुलनामा कम पनि भयो । पर्सा जिल्लामा आकाशे पानीको भरमा रहेका किसानहरूले समयमा धानबाली गर्न सकेनन् र गत वर्षको तुलनामा उनीहरूको उत्पादन यस वर्ष कम भयो ।

गत वर्षकै तुलनामा धानखेती गरिए पनि उत्पादन भने घटेको सरकारी तथ्याङ्कबाट देखिन्छ । कृषि ज्ञान केन्द्र, पर्साले गत वर्षकै तुलनामा धानखेती भएको तर उत्पादन भने घटेको जनाएको छ । उत्पादन घट्नुको कारण भने यस वर्ष समयमा वर्षा नहुनु हो । पर्सा जिल्लामा गण्डक नहरदेखि उत्तर थरुहट क्षेत्र छ, जहाँ सिंचाइको पर्याप्त व्यवस्था छ । कुलो, नहर, बोरिङबाट पनि सिंचाइको आवश्यकता पूरा हुने हुँदा थरुहट क्षेत्रमा धानखेती समयमा भएको थियो भने यसै जिल्लाको नहरदेखि दक्षिणी क्षेत्र बझियानमा भने सिंचाइको लागि आकाशे पानीकै भर पर्नुपर्ने हुँदा धानखेती ढिला भयो र उत्पादन प्रभावित भयो । अहिले थरुहट क्षेत्रमा धान भिœयाएर गहुँबाली शुरू भइसकेको छ भने बझियानमा धानबाली भिœयाउने क्रममा किसानहरू छन । थरुहट क्षेत्रका किसानहरू गहुँबाली गर्दा आवश्यक युरिया, पोटास र डिएपी मलको समस्या झेले भने अहिले सिंचाइ गरेर बाली हुर्काउने बेलामा आवश्यक युरिया मलको अभाव झेलिरहेका छन् । कृषि सामग्री कम्पनी वीरगंजले एक साताअघि ८१ हजार बोरा युरिया, डिएपी र पोटास सञ्चय रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । तर पर्सा र बाराका किसानहरू अहिले गहुँबालीका लागि आवश्यक युरिया मल सहकारीबाट नपाएर छिमेकी भारतका विभिन्न बजारहरूमा पुगेर मलको आवश्यकता पूरा गरिरहेका छन् । गहुँबाली रोप्दा पोटास, डिएपी र युरिया तीनै थरीका मल आवश्यक हुन्छ । अहिले सिंचाइ गरिएको एक सातामा युरिया मलको मात्र आवश्यकता छ तर पनि उनहीरूले नेपाली बजारबाट मलको आवश्यकता पूरा गर्न सकेका छैनन् । कृषि सामग्री र साल्ट टेड्रिङ कम्पनीले मल आयात गर्ने र सहकारीमार्फत किसानहरूसम्म पु¥याउने जिम्मेवारी बोकेका छन् ।

तर कुन बेला मल आवश्यक हुन्छ, कति हुन्छ भन्ने कुराको हिसाबकिताब राखेका यी दुई कम्पनीले किसानहरूलाई आवश्यक बेलामा मल कहिले पनि दिएका छैनन् । यसमा कम्पनी, ठेकेदार र सरकार को दोषी छ भनेर नङ्ग्याउने काम अहिलेसम्म भऐको छैन । सरकारमा सहभागी नहुन्जेल जनमत पार्टीले किसानहरूको मागलाई लिएर आन्दोलन शुरू गरेको थियो तर अहिले सो पार्टी गठबन्धन सरकारमा भएकोले उसले पनि यो मुद्दालाई थाती राखेको छ । सङ्घ, प्रदेश र स्थानीय सरकार आफूलाई किसानमैत्री भन्छ तर किसानहरूका नैसर्गिक अधिकारतर्फ भने उदासीन छन् । किसानमैत्री हुन तीनै तहका सरकारले मल, सिंचाइ, बीउबिजन, कीटनाशक औषधिहरू किसानलाई समयमा र सहुलियत दरमा उपलब्ध गराउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here