प्रस, वीरगंज, ७ पुस/

भारतको झारखण्ड राज्यस्थित जामतारा भन्ने स्थानको नाम शायदै कसैलाई थाहा नहोला । यो स्थान साइबर क्राइमको उद्गम स्थलको रूपमा परिचित छ । यहाँ घर, खेत, खलियान र बगैंचामा बसेर इन्टरनेटको माध्यमबाट आपराधिक गिरोहहरू ठगी कार्यमा दिनरात सक्रिय रहन्छन् । अहिले जामताराझैं नेपालको शिक्षा क्षेत्रमा माफियाहरू देशैभरि सक्रिय रहेका विभिन्न तथ्यबाट अवगत भएको छ ।

यस प्रकारको अपराधमा यस्ता व्यक्तिहरू संलग्न छन्, जो प्रत्येक दिन असङ्ख्य विद्यार्थी तथा अभिभावकबाट सम्मान र नमस्कार ग्रहण गर्छन् । उनीहरूले हात्तीको देखाउने दाँतझैं शैक्षिक परामर्श केन्द्र खोलेर खाने दाँतझैं भित्रैभित्र विद्यार्थी/अभिभावकलाई ठगी गर्ने उद्यममा लिप्त छन् । भर्खरै प्रकाशित वीरगंजको आर्यन एजुकेशनल कन्सल्टेन्सीको ठगी प्रकारणझैं अर्को एक छुपा रूस्तम काठमाडौंमा बसेर ठगी कार्य गरिरहेको छ । उक्त व्यक्तिले भारतका प्रसिद्ध शैक्षिक संस्थाहरू क्रमशः बनारस हिन्दू विश्वविद्यालय (बिएचयू), दिल्ली युनिभर्सिटी (डियू) र स्टडी इन इन्डियाको नक्कली फेसबूक पेज सिर्जना गरी ठगी गरिरहेको पाइएको छ ।

 

नक्कली यी फेसबूक पेजहरू BHU International Admissions, Delhi University International Addmissions र Study In India नामबाट सञ्चालन गरेको पाइयो । हेर्दा नक्कली पटक्कै नलाग्ने यी पेजहरूमा Level-3, Above Unity Food Cafe, Bagbazar, Kathmandu ठेगाना र मोबाइल नम्बर उल्लेख रहेको पाइयो ।

अनुसन्धान गर्दै जाँदा सक्कली र नक्कलीको भिन्नता निम्मानुसार पाइयो ।

विश्वविद्यालयहरूका आधिकारिक फेसबूक पेजको वेब ठेगाना क्रमशः bhusocialmedia तथा नाम Banaras Hindu University – Varanasi, दिल्ली युनिभर्सिटीको University of Delhi तथा नाम University या Delhi र स्टडी इन इन्डियाको वेब ठेगाना तथा नाम Study in India रहेको पाइयो ।

नक्कली फेसबूक पेजहरू क्रमशः बिएचयूको bhuadmissions, डियूको university of delhi nepal स्टडी इन इन्डियाको apply scholarship sinindia फेसबूक वेब ठेगाना भएका पेजहरू सञ्चालनमा रहेको पाइयो । यी तीनै पेजको सिर्जना गर्ने व्यक्तिले पेजमा ठेगाना र मोबाइल नम्बरबाहेक अन्य जानकारी उल्लेख गरेको देखिंदैन । सक्कली पेजहरूमा भएका पोस्टहरू केही मिनेट, घण्टा वा एक दिनपछि डाउनलोड गरी नक्कली पेजहरूमा पोस्ट गरिएको देखिन्छ ।

सक्कली पेजको एउटै पनि पोस्ट नक्कली पेजमा साझा गरिएको पाइँदैन । किनभने कुनै पनि प्रोफाइल/पेजको पोस्ट अर्को प्रोफाइल/पेजमा साझा गर्दा सोको नामसहित लिङ्क साझा हुने प्रोफाइल/पेजमा देखिन्छ । यसो गर्नुको कारण के हो भने नक्कली पेजको सम्पर्कमा आउने विद्यार्थीको सक्कली पेजमा पहँुच हुन सक्छ । बरु भारतको शिक्षा मन्त्रालयको फेसबूक पेजको पोस्ट भने नक्कली फेसबूक पेजहरूमा साझा गरिएको देखिन्छ । किनभने नक्कली पेजमा आउने विद्यार्थी नक्कली पेजलाई सक्कली मान्न बाध्य होस् । जिब्रो नपोलोस् भनेर फुकीफुकी चिया पिएझैं नक्कली पेज बनाउनेले पेज नक्कली हो भनी सपनामा पनि सोच्न नसकोस् ।

DU र Study in India को सक्कली पेजहरूबाट पोस्टहरू डाउनलोड र सम्पादन गरी Nepal Admission Help Line Number र तीनवटा मोबाइल नम्बर उल्लेख गरी नक्कली पेजमा पोस्ट भएको देखिन्छ । मोबाइल सङ्ख्याको अगाडि ह्वाट्सएपको लोगो प्रयोग गरिएको छ । ह्वाट्सएपको लोगो हाल्नुको उद्देश्य विद्यार्थीले ह्वाट्सएपमा मात्र सम्पर्क गरोस् भन्ने हो । कुराकानी रेकर्ड हुने डरले यस्तो गरिन्छ । 

त्यसैगरी, नक्कली पेज बनाउनेले इमेल आइडी सक्कलीभन्दा भिन्दै तर विश्वविद्यालयकै हो भन्ने मनोविज्ञान प्रभाव पार्ने उद्देश्यले info@studyinindia.co.in, info@studyinindia.co.in प्रयोग गरेको देखिन्छ । यसरी, तीनवटामध्ये जुनसुकै पेजको ह्वाट्सएप वा इमेलमा सम्पर्क गरे पनि विद्यार्थीको जिज्ञासा एउटै व्यक्तिकहाँ पुग्ने बन्दोबस्त चलाखीपूर्वक मिलाइएको हुन्छ । जबकि सक्कली पेजहरूमा विभिन्न विश्वविद्यालयहरूका इमेल ठेगाना क्रमशः help.studyinindia@gov.in, infocentre@du.ac.in, probhu@bhu.ac.in उल्लेख रहेको देखिन्छ ।

प्रतीक दैनिकले विभिन्न कोणबाट अनुसन्धान गर्दै जाँदा बिएचयू र डियूका सक्कली पेजहरूमा प्रयोग गरिएका प्रोफाइल तस्वीर नक्कली पेजहरूमा हूबहू प्रयोग गरिएको पाइयो भने कभर तस्वीर फरक भएपनि ती विश्वविद्यालयहरूसँग सम्बन्धित तस्वीरहरू सम्पादन गरी प्रयोग गरेको देखिन्छ ।

त्यसैगरी, स्टडी इन इन्डियाको नक्कली पेजको प्रोफाइल तस्वीर र कभर तस्वीर सक्कलीभन्दा आकर्षक देखिन्छ । सक्कली र नक्कली पेजहरूमा समाविष्ट जानकारी, वेब ठेगाना र पोस्टहरूका मिति र समय एकै साथ नहेरेसम्म सक्कली र नक्कलीबीच भिन्नता छुट्याउन सकिंदैन ।

वर्तमान समयमा एकले अर्काेसँग सम्पर्क गर्ने सबैभन्दा उपयुक्त र छिटो संसाधन भनेकै फोन वा ह्वाट्सएप हो । आकाङ्क्षी विद्यार्थी, कुनै पनि पेजमा पुग्नेबित्तिकै उसको ध्यान अन्य जानकारीभन्दा सम्पर्क गर्ने दु्रत संसाधनमा जान्छ । त्यो भनेको मोबाइल हो । विद्यार्थीले मोबाइल नम्बर थाहा पाएपछि केही पोस्ट हेर्छ र व्यक्तिसँग सम्पर्क गर्छ । अतः विद्यार्थीहरूको मनोविज्ञानमा गहिरो प्रभाव पार्ने उद्देश्यसहित नक्कली पेज खडा गरिएको कुरा बुझ्न कठिन छैन । विद्यार्थीलाई लागोस् कि पेज, मोबाइल नम्बर र सम्पर्क व्यक्ति आधिकारिक हो । अनुसन्धान गर्दै जाँदा भारतीय विश्वविद्यालयहरूका नक्कली फेसबूक पेजहरू खडा गर्ने व्यक्ति विराटनगरका गम्भीर भगत रहेको पुष्टि हुने अनेक प्रमाण फेला पर्दै गयो ।

उनी आइटी इन्जीनियर र एमबिए पढेको, उनको व्यक्तिगत फेसबूक प्रोलाइलमा प्रविष्ट विवरणहरूबाट अवगत हुन्छ । उनले आपूmलाई मैक्सवे इन्टरनेशनल एजुकेशन, बिजिएस इन्फोसिस तथा लिङ्कन एकेडेमीका संस्थापक तथा कार्यकारी प्रमुख रहेको उल्लेख गरेका छन् ।

Lincoln Academy को फेसबूक पेजमा समाविष्ट कभर तस्वीरमा रहेका मोबाइल नम्बरहरू बिएचयू, डियू र स्टडी इन इन्डियाको नक्कली पेजमा प्रविष्ट मोबाइल नम्बरसँग मेल खान्छ भने ल्यान्डलाइन फोन नम्बर BGS Infosys मा समाविष्ट फोन नम्बरसँग मेल खान्छ ।

तसर्थ विभिन्न विश्वविद्यायलहरूका नक्कली फेसबूक पेज सञ्चालन गरिरहेका व्यक्तिLincoln Academy र BGS Infosys का मालिक गम्भीर भगत नै हुन् भन्ने पुष्टि हुन्छ ।

गम्भीर भगतले सञ्चालन गरिरहेको Lincoln Academy को फेसबूक पेजमा विभिन्न विश्वविद्यालयहरूमा विद्यार्थी भर्नासम्बन्धी प्रचारप्रसार गरिएका पोस्टहरूमध्ये बिएचयू र डियूका पोस्टहरू पनि छन्, जसमा Nepal Admission Help Line No ल्य र मोबाइल नम्बर उल्लेख रहेको पाइन्छ, जुन गम्भीर भगतको हो ।

Lincoln Academy को फेसबूक पेजमा उल्लेख गरिएको URL http://www.linconacademy.com.np खुलिरहेको छैन भने युआरएलमा Lincoln को स्थानमा केवल Lincon प्रविष्ट रहेको देखिन्छ । यद्यपि यो संस्था नेपालको सरकारी निकायमा दर्ता छ/छैन शङ्काको घेरामा छ । किनभने Lincoln Academy नामको शैक्षिक संस्था संयुक्त राज्य अमेरिकाको एक प्रसिद्ध निजी विद्यालय हो ।

अनुसन्धानको क्रममा उनको फेसबूक प्रोफाइलमा भारतका केही निजी विश्वविद्यालयहरूबाट प्राप्त औपचारिक शैक्षिक परामर्शदाताका पत्रहरू चाखपूर्वक प्रेषण गरेको देखिन्छ । यी पत्रहरूमा सन् २०२३ को लागि Kathmandu Maxway International Educational Consultancy को परामर्शदाताको रूपमा आधिकारिकता प्रदान गरेको देखिन्छ । उनको निजी फेसबूक प्रोफाइलमा बिएचयू, डियू र स्टडी इन इन्डियाको भर्नासम्बन्धी कुनै पनि पोस्ट प्रेषण भएको देखिंदैन । यावत् प्रमाणहरूले उनी समाजमा आफूलाई इमानदार प्रस्तुत गर्दै अदृश्यरूपमा विद्युतीय कारोबार ऐन, २०६४ विरुद्ध गतिविधि गरिरहेको छर्लङ्ग छ ।

प्रतीक दैनिकको अनुसन्धान टोलीले भर्नाको लागि विद्यार्थी बनेर गम्भीर भगतसँग फोन सम्पर्क गर्दा उनले विश्वविद्यालयमा लाग्ने शुल्कबाहेक भारु एक लाख लाग्ने बताए । उनले आगामी सन् २०२४ का लागि बूकिङ धमाधम भइरहेको भन्दै जतिसक्दो चाँडो सम्पर्क गर्न भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here