नयाँ दिल्ली, ७ पुस/एएनआई

भारतको उत्तरी भूभागमा बाक्लो कुहिरो तथा वायु प्रदूषणको प्रभाव बढ्न थालेपछि शनिवार राजधानी नयाँ दिल्लीको आकाश र जमीनको दृश्य कमजोर बनेको छ । यहाँको तापक्रममा एक्कासि कमी देखिएको छ ।

भारतीय मौसम विभागका अनुसार न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस र पालममा १२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

नयाँ दिल्लीमा चीसो बढ्दा न्यानोको लागि आगो बाल्ने र ताप्ने गरेका दृश्यहरू देखिएका छन् ।

चीसोका कारण विभिन्न ठाउँमा स्थानीयहरू कम्बललगायतका लुगा ओढेर हिंडिरहेका देखिएका छन् ।

साइकल चालक तथा पैदल यात्रामा निस्किएका स्थानीयले शनिवार तापक्रममा उल्लेख्य गिरावट आइ चीसो अत्यधिक बढेको बताएका छन् ।

स्थानीयले शनिवार एएनआईसँगको प्रतिक्रियामा भनेका छन्, “चीसो अत्यधिक भएकोले पैदल यात्रा गर्न गा¥हो भइरहेको छ । कुहिरो तथा प्रदूषणले नियमित पैदल यात्रामा समस्या बढेको छ । प्रदूषणका कारण हुने स्वास्थ्य समस्याहरूबाट बच्न मास्क लगाएर बाहिर निस्किरहेका छौं ।”

दिल्लीको समग्र वायु गुणस्तर सूचकाङ्क गुणस्तरीय मौसम पूर्वानुमान तथा अनुसन्धान प्रणाली अनुसार शनिवार बिहान ८ः०७ बजे वायुको गुणस्तर निकै खराब रेकर्ड गरिएको थियो ।

भारतको मौसम विज्ञान विभागका अनुसार बिहीवार राजधानीको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा रेकर्ड गरिएको थियो ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीले यसअघि उत्तरी भारतको न्यूनतम तापक्रम आगामी तीन दिनमा २–३ डिग्री सेल्सियसले बढ्न सक्ने बताएको थियो ।

बिहारका एक रिक्शा चालक महेश कुमारले बिहीवार एएनआईसँग कुरा गर्दै चीसो मौसमले आफ्नो दैनिक काममा असर गरिरहेको बताए ।

 “चीसोका कारण आज यात्रुहरू कम छन् । चीसोले हाम्रो सवारीसाधन भित्रै बस्न बाध्य तुल्याउँछ,” कुमारले भने ।

चीसो बढेसँगै हरियाणामा १५ दिनको लागि विद्यालय बिदा

यसैबीच, हरियाणा सरकारले शनिवार आगामी जनवरी १ देखि १५ सम्म सबै सरकारी तथा निजी विद्यालयमा जाडो बिदा गर्ने घोषणा गरेको छ ।

हरियाणा मुख्यमन्त्री कार्यालयको आधिकारिक ट्वीटर अनुसार शीतलहर आउने सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय आएको हो ।

प्रशासनका अनुसार बढ्दो

चीसोलाई ध्यानमा राख्दै हरियाणा सरकारले सन् २०२४ जनवरी १–१५ सम्म राज्यका सबै सरकारी र निजी विद्यालयहरूमा जाडो बिदाको घोषणा गरेको छ । यस अवधिमा सबै विद्यालयहरू बन्द रहनेछन् ।

सरकारले सबै जिल्ला शिक्षा अधिकारी, जिल्ला प्राथमिक शिक्षा अधिकारी तथा प्रधानाध्यापकलाई हरियाणा सरकारले दिएको दिशानिर्देशन पालना गर्न आग्रह गरेको छ ।

पञ्जाब, हरियाणा–चण्डीगढ–दिल्लीका अधिकांश भागमा न्यूनतम तापक्रम ४–८ डिग्री सेल्सियसको दायरामा रेकर्ड गरिएको भारतीय मौसम विभागले जनाएको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी २४ घण्टामा न्यूनतम तापक्रममा करीब दुई डिग्री सेल्सियसले वृद्धि हुने जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here