- डा शिवशङ्कर यादव
पाठकवृन्द बितेको दुई अङ्कमा यौन विकृतिबारे विस्तारमा कुरा भयो । अन्य शारीरिक विकृतिभन्दा यस विकृतिको वर्णन बढी नै भयो होला, सामान्यजनले विस्तारमा जान्न जरूरी पनि थियो किनभने यौनले जीवनका सबै आयामलाई प्रभावित गर्छ । अरू कुनै कुराले मान्छेको सम्पूर्ण जीवनचक्रलाई यति बढी प्रभावित गर्दैन । त्यस कारण जानीजानी विस्तार र तहतहको उल्लेख गरेको हुँ । यौन विकृतिमा अब रह्यो, त्यसको उपचार जुन आजको विषय हो ।
यौन विकृतिका उपचारहरू ः पाठकवृन्द, उपचारभन्दा पहिले जरूरी हुन्छ रोग पत्ता लगाउने र शारीरिक वा मानसिक कारण छुट्याउने । यौन विकृति ९० प्रतिशत मनोवैज्ञानिक र मात्र १० प्रतिशत शारीरिक कारणले हुन्छ । यसको डायग्नोसिस त क्लिनिकल नै हुन्छ तर पनि थुप्रै पेथोलाजिकल जाँच गरेर सम्बन्धित जैविक कारण छ कि छैन भने हेर्नैपर्ने हुन्छ, जसमा रक्तचाप, चिनी र थाइरायड आदिको जाँच आउँछ । लिङ्गको नाप गर्नुका साथै लिङ्गको भित्री संरचना र संवेदनाको जाँच गर्नका लागि आजकाल धेरै प्रविधि उपलब्ध छन् । यसबाहेक हार्मोनल एस्से आदि र आरइएम स्लीपको बेला वा उठ्नेबित्तिकै लिङ्गोत्थान हुन्छ कि हुँदैन भनेर पत्ता लगाइन्छ । डिजार्डर जन्मजात वा पछि भएको हो भन्ने पत्ता लगाउनुपर्छ । सबै किसिमले ढुक्क भएपछि डिजार्डर मनोवैज्ञानिक हो भने निम्नलिखित उपचार गरिन्छ ः १ मनोविश्लेषण वा साइकोएनालिसिस २. हिप्नोसिस अथवा सम्मोहन ३. ग्रुप थेरापी अथवा समान रोगीको एक साथ उपचार ४. बानी बदल्ने वा विह्वेवियर थेरापी ५. मास्टर एन्ड जोन्सन टेक्निक ६. मुखबाट खुवाउने ओषधोपचार ७. लिङ्गभित्र इन्जेक्शन ८. भौतिक शारीरिक उपकरणबाट उपचार आदि ।
साइकोएनालिसिस, जब डिजार्डरले व्यक्तित्व विकारसम्म पैदा गर्न थाल्छ, तब अवचेतनामा लुकेको कारण पत्ता लगाउन गरिन्छ । हिप्नोसिस वा सम्मोहनको उपचार एक्लै पनि र अर्को उपचार विधि सँगसँगै पनि गरिन्छ । तर चिकित्सकसँग सहयोग गर्ने रोगीमा मात्र यो सम्भव हुन्छ । असहयोग गर्ने रोगीलाई गर्न सकिंदैन । यसको लक्ष्य लक्षण समाप्त पार्ने मात्र हो । ग्रुप थेरापीमा एउटै लिङ्गका विभिन्न डिस्फंक्शनका रोगी वा दुवै लिङ्गका समान डिजार्डर भएका रोगीबीच अन्तक्र्रिया गराइन्छ । लक्ष्य यो हुन्छ कि रोगीले सामान्य सेक्सबारे जानोस् र एकअर्काका अनुभव साटासाट गरोस् । यो एक्लै रोगीमा पनि र अर्को विधिको सहायक स्वरूप पनि गरिन्छ, जसले बढी राम्रो परिणाम दिन्छ । बानी बदल्ने थेरापीमा–रिलेक्सेशन ट्रेनिङ अर्थात् विश्राम वा आरामको तरीकाबारे प्रशिक्षण, एसर्टिभनेस ट्रेनिङ अर्थात् सकारात्मकताको प्रशिक्षण, सिस्टमेटिक डिसेन्सिटाइजेशन जसको लक्ष्य हुन्छ, यौनक्रियामा हुने डर र चिन्ता हटाउने तथा बायोफिडबैक अर्थात् शिश्न प्लेग्राफ देखाएर वास्तविकता र तथ्य बताउने आदि । मास्टर एन्ड जोन्सन टेक्निक धेरै लोकप्रिय र सफल विधि हो तर यसमा पति र पत्नी दुवैको उपचार एउटा पुरूष र एउटा महिला चिकित्सकको टीमले गर्छ । आजकाल एउटै चिकित्सकले पति र पत्नी दुवैको उपचार गर्न सक्छ । लक्षण निर्मूल होस् भनेर एकदम साधारण विधि प्रयोग हुन्छ र पतिपत्नीलाई साप्ताहिक सेसनमा बोलाइन्छ । यसका निम्न चरण हुन्छन् ः पहिलो चरणमा पति र पत्नीको सेक्स हिस्ट्री छुट्टाछुट्टै विस्तारमा पत्ता लगाइन्छ । दोस्रो चरणमा पति र पत्नीका एकसाथ राउन्ड टेबल वार्तालाप गराइन्छ, जसको लक्ष्य हुन्छ–दम्पतीलाई सामान्य सेक्सबारे जानकार बनाउने, विद्यमान समस्यामा पति र पत्नीबीच समझदारी कायम गराउने र बढाउने, पतिपत्नीबीच सेक्सबारे छलफल गर्ने बानी बसाल्ने आदि । तेस्रो चरणमा व्यवहार बदल्ने केही प्रशिक्षण दिइन्छ । यस टेक्निकका केही उदाहरण हेर्दा दङ्ग परिन्छ किनभने यति सानो काम नगर्दा जीवनभरि आनन्दबाट वञ्चित रहन्छ । पत्नी पति छोडेर जान्छे र पति अवसादको शिकार बनेर आत्महत्या गर्छ । यस सानो टेक्निकको सफलता ८० प्रतिशतभन्दा बढी पाइएको छ । यथाः सेन्सेट फोकस टेक्निक ः यस विधिको उपयोग नपुंसकता र अर्को सेक्सुअल डिस्फंक्शनमा पनि गरिन्छ । पाठकवृन्दलाई थाहा छ कि छैन यौनपूर्व क्रीडामा पतिले पत्नीको केवल भग्नासा चलाउँछ, पत्नीले केही पनि चलाउँदिन । यसले गर्दा कसैमा पनि यौनेत्तजना पैदा हुँदैन किनभने अमुक पत्नीमा उत्तेजित हुने बिन्दु भग्नासा होइन, अन्यत्र कहीं हुन्छ । हो यस टेक्निकमा अन्यत्रका यिनै बिन्दुहरूको पत्ता लगाइन्छ । तपाईंलाई आश्चर्य लाग्न सक्छ कतिपय महिलाको भग्नासा चलाउँदा ऊ झन् चीसो हुन्छे । अतः अन्य बिन्दु पत्ता लगाइ त्यसलाई चलाउनुपर्छ । यो कुरा पतिको लागि पनि साँचो हो । लिङ्गबाहेक पत्नीले त्यस बिन्दुलाई पनि चलाउनुपर्छ ।
स्क्वीज वा सिमेन्स टेक्निक ः प्रिमेच्योर इजाकुलेशन अथवा शीघ्रपतनमा यो विधि प्रयोग गरिन्छ । यसमा पत्नीले पतिको लिङ्ग चलाएर उत्थित पार्छे । जब वीर्य स्खलन हुनहुन लाग्छ, पत्नीले शिश्नमुण्डको पछाडि केहीबेर औंलाले थिचेर राख्नुपर्छ । यो क्रिया पटकपटक गरेर बानी बसाल्नुपर्छ । यति सामान्य कुराले भयङ्कर लाग्ने शीघ्रपतन निको हुन्छ । यदि लिङ्ग योनिमा पस्नेबित्तिकै वीर्यपात हुने रोग छ भने त्यस्तो हुन लागेको बेला लिङ्ग योनिबाट बाहिर निकाली केहीबेर यसै राख्नुपर्छ । यसलाई पनि बारम्बार दोहो¥याएर बानी बसाल्नुपर्छ अनि शीघ्र स्खलन हुँदैन । यति सानो विधिबाट ठूलो यौन डिजार्डर निको हुन्छ । पत्नीको अलिकति सहयोग मात्र चाहिन्छ । त्यति पनि सहयोग नगर्ने पत्नीले आफ्नो काम आफैं बिगार्छन् । आवश्यकता छ, धैर्य राखी यो विधिमा अभ्यस्त हुने ।
मौखिक औषधोपचार ः औषधि यसको मुख्य उपचार होइन । आजकाल केही औषधि पनि प्रयोग गरिन्छ, जब रोगीमा सेक्सुअल डिजार्डरका साथै अन्य साइकोटिक लक्षण पनि छ भने । सेक्सुअल डिस्फंक्शनले गर्दा चिन्ता लाग्दा बेन्जोडाइजिपिन थोरै खुराक, शीघ्रपतनमा थायोरिडाजोन, ट्राइसाइक्लिक एसिड, ट्रेजोडोन, क्लोमिप्रामिन, फ्ल्युक्सेटिन आदि औषधिले राम्रो काम गर्छ । त्यस्तै, आजभोलि योह्म्वीन आयोजोक्सन, नलट्रीक्सोन, ब्रोमोक्रिटिन, एपोमर्फिन, पेट्रोफाइलिन आदि तथा लिङ्ग र योनिमा लगाउने ग्लिसरोलट्रिनिट्रेट मिनोक्सिडिल र पेपेभेरिन आदि धेरै औषधि उपलब्ध छ । यता धेरै शक्तिशाली औषधि पनि आविष्कार भएको छ, जसको उल्लेख गर्नैपर्छ । त्यसमा पुरूषको लागि मुख्य छ, सिल्डनेलाफिल चक्की, जसलाई भियाग्रा पनि भनिन्छ र भियारव क्रीम तथा महिलाको लागि फ्लिवेनसेरिन चक्की र सिरियम क्रीम हो, जसको प्रयोग पुरूष लिङ्ग उत्थित नहुने रोगमा गरिन्छ । त्यस्तै, महिलामा पनि गरिन्छ । सम्भोग गर्नुभन्दा एक घण्टा पहिले औषधि खाएर तथा लिङ्ग वा योनिमा क्रिम लगाउन सकिन्छ । शिश्नभित्र ससाना प्वाल वा सैक हुन्छ, जसमा रगत भरिएपछि लिङ्ग उत्थित हुन्छ र सम्भोगपछि रगत निस्कन्छ र लिङ्गोत्थान समाप्त हुन्छ । औषधिले सैकहरूमा रगत भरिएपछि निस्कने बाटो बन्द गरिदिन्छ । परिणामस्वरूप लिङ्ग धेरै बेरसम्म उत्तेजित र उत्थित अवस्थामा रहन्छ । यसको साइड इफेक्टमा केवल अनुहार बढी रातो हुन्छ, जुन बढी रक्तसञ्चारको परिणाम हो । यस अतिरिक्त हेडेक र नाक बन्द हुने कुरा पनि देख्न सकिन्छ । त्यस कारण हृदयरोगी र रक्तचापका रोगीले यो प्रयोग गर्नुहुँदैन । आजकाल नवयुवकमा धेरैबेरसम्म टिक्न यसको जथाभावी प्रयोग र लत लागेको देखिन्छ, जुन एकदम ठीक होइन । सामान्य अवस्थामा कुनै औषधि खाइँदैन, यहाँ पनि त्यही नियम लागू हुन्छ । अन्यथा यो उखान सत्य हुन्छ ः चौबे गये छब्बे बनने दुबे होके आये । यस अतिरिक्त आयुर्वेदमा पनि टेन्टेक्सफोर्ट आदि र बाजारू औषधिमा साण्डेको तेल पनि प्रचलित छ । यसको जथाभावी प्रयोग गर्नुहुँदैन ।
हार्मोनल उपचार ः यसमा टेस्टोस्टेरोन प्रोपियोनेट नामक औषधिको प्रयोग पुरूषमा र स्त्री हार्मोनको प्रयोग महिलामा गरिन्छ । यसको पनि प्रयोग तबमात्र गरिन्छ, जब वयस्क रोगीमा पुरूष हार्मोनको कमी छ वा रोगी किशोरावस्था वा वरिपरिको छ । यसले यौनेच्छा बढाउँछ, नोक्सान केही गर्दैन, तर सामान्य वयस्कलाई दिइयो भने उल्टो काम गर्छ, मतलब यौनेच्छा कम गरिदिन्छ । यही कुरा स्त्री हार्मोनमा पनि लागू हुन्छ । जब यी हार्मोनको आविष्कार भयो, तब मान्छेले यो ठाने कि जवानीको साँचो नै पाइयो । तर परिणाम हेरेर मान्छे आकाशबाट खसेजस्तो भयो ।
इन्ट्राकैभेर्नोसल इन्जेक्शन अफ भासोएक्टिभ ड्रग अथवा लिङ्गको केभरनोसामा इन्जेक्शन दिने ः कैभरनोसा माथि उल्लिखित सैक हो, जसमा रगत भरिएपछि लिङ्ग खडा हुन्छ । त्यहीभित्र सुईले सीधैं पेपेभेरिन नामक औषधि पुर्याइन्छ, जसलाई फेन्टलामिन, फेनोक्सिबेन्जामिन, अल्प्रेस्टेडिल वा प्रोस्टाग्लैन्डिन ई नामक औषधि मिलाएर पनि दिइन्छ । यसबाट यो पत्ता लगाइन्छ कि नपुंसकता अर्गेनिक हो कि मनोवैज्ञानिक ।
फिजिकल डेभाइसेज वा भौतिक उपकरणहरू ः
लिङ्ग उत्थित गर्ने केही उपकरण पनि हुन्छ र कृत्रिम लिङ्ग पनि इम्प्लान्ट गरिन्छ । तर यो केवल शारीरिक कारणले भएको नपुंसकतामा मात्र गरिन्छ । यसको धेरैचोटि प्रयोग गरेर सफलता प्राप्त भइसकेपछि मनोवैज्ञानिक नपुंसकतामा पनि प्रयोग गर्न सकिन्छ, नत्र गरिंदैन ।
भास्कुलर सर्जरी वा रक्तनलीको शल्यक्रिया ः यो रक्तनलीको कठिन शल्यक्रिया हो, जुन धेरै कम र कहिलेकाहीं मात्र कुनै कुनै रोगीमा अर्गेनिक कारणले भएको नपुंसकतामा गरिन्छ, जसमा रक्तसञ्चारको प्रवाहमा कमी हुने रोग पनि लागेको हुन्छ । अस्तु !