पर्सा जिल्ला माछामा आत्मनिर्भर बनिसकेको छ । कुनै बखत यो जिल्ला माछामा परनिर्भर थियो । छिमेकी बारा जिल्लाबाट स्थानीय माछा र भारतको आन्ध्र प्रदेशबाट तीन/चार दिनको अन्तरालमा आउने माछाले यहाँको बजार धानेको थियो । अहिले पनि भारतको आन्ध्र प्रदेशबाट आउने ठूला आकारको माछाको बजार यथावत् छ, तर ठूला आकारका माछा विवाह, उत्सवहरूमा गरिने पार्टीहरूमा मात्र सीमित भएको छ । स्थानीय माछा बारा जिल्लाका बोधवन र सिम्रौनगढबाट आउँथ्यो । अहिले भने त्यो अवस्था छैन, पर्सा जिल्लामैं स्थानीय माछाको उत्पादन बढ्दो छ । यो जिल्ला आत्मनिर्भर मात्र भएको छैन, अन्य जिल्लामा निर्यात पनि गर्दैछ । चितवन, पोखरा, सङ्घीय राजधानी काठमाडौंलगायत छिमेकी भारतका सीमावर्ती क्षेत्रमा पनि पर्सा जिल्लाका माछाको बजार विस्तार भएको छ । कृषि ज्ञान केन्द्र, पर्साका अनुसार पर्सा जिल्लामा वार्षिक आन्तरिक खपत प्रतिव्यक्ति साढे तीन किलो रहेको छ ।

यो जिल्लामा अहिले करीब दुई हजार बिघा जग्गामा माछापालन भइरहेको छ । रहु, बिग हेड, भकुरा, सिल्वर क्राप, इजरायललगायत जातका माछाहरूको माग र खपत अनुसार उत्पादन भइरहेको छ । केही वर्षअघिसम्म जिल्लाका शौकिनहरूले मात्र पोखरी खनेर माछापालन गर्थे । अहिले यो व्यवसायको रूपमा फस्टाएको छ । वीरगंज चिनी कारखाना सञ्चालन हुँदा उखुखेती बढी हुन्थ्यो । अहिले अन्य कृषि कार्यभन्दा माछापालनमा मनग्य आम्दानी भइरहेकोले किसानहरूको पहिलो रोजाइ माछापालन भएको छ । थोरै लगानीमा बढी आम्दानी हुने भएपछि बर्सेनि माछापालन व्यवसायले गति लिएको छ । पर्सा जिल्लामा सबैभन्दा बढी छिपहरमाई गाउँपालिकामा माछापालन हुन्थ्यो । त्यसपछि महुवन । अहिले १४ वटै पालिकामा माछापालन व्यवसाय फस्टाएको छ । माछापालन गर्ने किसानलाई सरकारी अनुदान पनि छ । स्थानीय सरकार गठन भएपछि अनुदान सहयोगमा किसानहरूको पहुँच बढेको छ । पर्सा जिल्लाको गण्डक नहरदेखि उत्तरतर्फको थारुवान क्षेत्रमा सिंचाइको पर्याप्त व्यवस्था छ, त्यहाँ धान, गहुँ, मकै, सुर्ती, दलहन, तेलहन खेतीका लागि मल र बीउबिजनबाहेकको समस्या छैन । यस क्षेत्रमा तीन बाली हुने हुँदा माछापालनतर्फ किसानहरूले त्यत्तिको रुचि देखाएका छैनन् । तर आकाशे सिंचाइको आसमा धान, गहुँ, दलहन, तेलहन बालीको खेती गर्दै आएका गण्डक नहरदेखि दक्षिण बझियानका किसानहरू भने परम्परागत खेतीबाट विस्थापित हुँदै माछापालनतर्फ आकर्षित भएका छन् । अनुदान सहयोगमा पोखरी खनेर सोको तीन महीनामा माछा तयार गरी बजारमा बिक्री गरेर नगद कमाउने सरल र सहज उपायको रूपमा किसानहरूले माछापालनलाई लिएका छन् ।

माछापालन व्यवसाय फस्टाएसँगै जिल्लाबाहिरबाट माछाको भुरा खरीद गरेर ल्याउनुपर्ने झन्झट पनि अहिले हटेको छ । माछापालन व्यवसाय फस्टाएको कारण माछाको ह्याचरी पनि जिल्लामा एकपछि अर्काे खुलिरहेका छन् । अहिले पर्सामा १० वटा ह्याचरी खुलिसकेका छन् । माछामा मात्र होइन पर्सा जिल्ला भुरामा पनि आत्मनिर्भर बनिसकेको छ । सरकारले किसानमैत्री योजना ल्याउने घोषणा गर्दै आएको छ । पर्सा जिल्ला माछा उत्पादनमा आत्मनिर्भर भएजस्तै अन्य कृषि कर्ममा अनुदान सहयोग सहजरूपमा प्रदान गर्ने हो भने खाद्यान्नमा देश परनिर्भर हुनुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here