प्रस, वीरगंज, ५ पुस/

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेस प्रदेशलाई किशोरीमैत्री बनाउने बताएका छन् ।

 ‘म बालिका हुँ, दुलही होइन’ अभियान अन्तर्गत पर्सागढी नगरपालिकाका सामुदायिक विद्यालयका छात्राहरूको आग्रह स्वीकार गर्दै बिहीवार साथी बनेका मन्त्री सिंहले मधेस प्रदेशमा बालिका तथा किशोरीहरूले भोग्नुपर्ने सामाजिक, मानसिक साथै यौन तथा प्रजनन स्वास्थ्यका समस्याहरूलाई निराकरण गर्न आफू शुरूदेखि लागिपरेको बताए ।

महिलाहरूको लागि विभिन्न किसिमका स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

मधेस प्रदेशमा विकराल रूप लिएको रूढिवादी कुसंस्कारविरुद्ध पर्सागढी नपाका सामुदायिक विद्यालयमा अध्ययनरत ११० जना किशोरीले भिजन क्लब गठन गरेर विद्यालयस्तरमा महीनावारी स्वच्छता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, बालविवाह न्यूनीकरण, बाल सहभागिता जस्ता विषयमा छलफल चलाउँदै महिलाहरूमा जागरूकता फैलाइरहेका छन् । उनीहरूलाई एकीकृत ग्रामीण स्वास्थ्य विकास तालीम केन्द्रले चेतनासँगै क्षमता विकासका लागि विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

किशोरीहरूले मात्र बोलेर नगर र समग्र प्रदेश किशोरीमैत्री नहुने भन्दै यसका लागि जनप्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि सबैलाई साथी बनाएर एकीकृत पहलकदमी लिन यो उपाय अपनाइएको भिजन क्लबकी मधु यादवले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here