नरेश यादव, पर्सागढी, ५ पुस/
बर्सेनि वातावरणमा चीसो बढेसँगै माछाको माग बढेर मूल्यवृद्धि हुने गरेको छ ।
यस वर्ष भने माछाको मूल्यवृद्धिसँगै भुराको मूल्यमा पनि वृद्धि गरिएको छ । पर्सागढीमा रहेको भुरा उत्पादन केन्द्रमा यसअघि तीन इन्चसम्मको भुरा प्रतिगोटा दुईदेखि तीन रुपैयाँमा पाइने गरेकोमा अहिले मूल्यवृद्धि गरेर प्रतिगोटा रु पाँच गरिएको छ ।
पर्सा जिल्ला माछामा आत्मनिर्भर भएसँगै यहाँ माछाका भुराहरू बिक्री गर्ने केन्द्र पनि एकपछि अर्को खुल्दैछन् । पर्सागढी नगरपालिकामा तीनवटा भुरा केन्द्र खुलिसकेका छन् । यसैगरी, सखुवाप्रसौनीमा दुईवटा, वीरगंज महानगर, बहुदरमाई नपा, धोबिनी, छिपहरमाई, पकाहामैनपुरमा एक/एक वटा गरी १० स्थानमा भुरा उत्पादन केन्द्र रहेको भेटेरिनरी तथा पशु सेवा कार्यालय, पर्साका मत्स्य शाखा प्रमुख राजेश्वर कुशवाहाले बताए । उनले हाल पर्सा जिल्लाको दुई हजार बिघा जग्गामा माछापोखरी रहेको जानकारी गराए ।
विगतमा जिल्लामा माछाका भुरा उत्पादन केन्द्र नहुँदा यहाँका माछापालक किसानहरू हेटौंडाबाट भुरा ल्याएर माछापालन गर्थे । त्यसपछि बारा जिल्लाका भुरा केन्द्रहरूबाट भुरा खरीद गरी माछापालन गरे ।
पर्सा जिल्लामा माछापोखरीको सङ्ख्यामा वृद्धि भइरहेको र भुराको लागि जिल्लाबाहिर जानु नपर्ने गरी स्थानीय पालिकाहरूमा भुरा केन्द्र सञ्चालन भइरहेका छन् ।