प्रस, वीरगंज, ५ पुस/

पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाको बीच भएर बग्ने जमुनिया नदीमा अहिले आधिकारिताको विवाद शुरू भएको छ । 

स्थानीय तह गठन भएदेखि जमुनिया नदीको विषयलाई लिएर दुई गापाबीच विवाद हुँदै आएको छ ।

उक्त नदीको ठेक्का पटेर्वासुगौली गापाले गत कात्तिकमा गरेपछि सोविरुद्ध सखुवाप्रसौनी गापाका जनप्रतिनिधिहरूले बिहीवार वीरगंजमा पत्रकार सम्मेलन गरी नदीमाथि आफ्नो गापाको मागदाबी गरे ।

गापाध्यक्ष यशवन्त यादव, पूर्वगापाध्यक्ष प्रदीप जयसवाललगायतका जनप्रतिनिधिले पटेर्वासुगौली गापाले जमुनिया नदीमा मनोमानी गरेको र उसले लगाएको ठेक्का रोक्नुपर्ने माग गरे ।

पूर्वअध्यक्ष जयसवालले यसअघि आफू जितेर आएदेखि नदीको विषयमा लड्दै आएको बताए । स्थानीय तह गठनपछि शुरूमा दुई वर्षको लागि वातावरणीय परीक्षण प्रतिवेदन तयार गरी जिल्ला समन्वय समिति, पर्साले एक वर्षको लागि सो नदीको ठेक्का रु डेढ करोडमा लगाएको उनले बताए । त्यसपछि जिससले गरेको वातावरणीय परीक्षण प्रतिवेदनकै आधारमा राजनीतिक चलखेल गरी पटेर्वासुगौली गापाले पुनः एक वर्षको लागि टेन्डर गरेपछि आफूले अदालतबाट रोक लगाएको उनले बताए ।

त्यसपछि चुलिएको विवाद जिल्ला प्रशासन कार्यालय, पर्साले निराकरण गर्दै ठेक्काको रकममा ६५ प्रतिशत सखुवाप्रसौनी र ३५ प्रतिशत पटेर्वासुगौलीले पाउने गरी सहमति भएको पूर्वअध्यक्ष जयसवालले पत्रकार सम्मेलनमा बताए । उनले सो सहमतिविपरीत पटेर्वासुगौली गापाले अहिले वातावरणीय परीक्षण प्रतिवेदन गराएर ठेक्का लगाएको बताए ।

पटेर्वासुगौली गापाध्यक्ष दिनेश चौधरीले भने आव शुरू भएपछि सखुवाप्रसौनी गापाध्यक्ष यशवन्त यादवसँग सम्पर्क गरी सहकार्यमा काम गर्न खोजेको तर उनले यसबारेमा कुनै प्रतिक्रिया नदिएपछि आफ्नो गापामा पर्ने भागको मात्र वातावरणीय परीक्षण प्रतिवेदन तयार गराएर ठेक्का लगाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here