प्रस, वीरगंज, ५ पुस/
वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व गत वर्षको तुलनामा चालू आवको पाँच महीनामा साढे चार करोड बढी सङ्कलन भएको छ ।
वीरगंज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत वर्ष मङ्सिर मसान्तसम्म रु १७ करोड ५५ लाख ८७ हजार ५१५ सङ्कलन भएकोमा चालू आवको सोही अवधिमा २१ करोड ९९ लाख ९८ हजार ६९९ सङ्कलन गरिएको बताए । उनले सम्पत्तिकर आठ करोड ७२ लाख ८२ हजार, भूमिकर/मालपोत ४७ लाख ४३ हजार, घरबहाल कर दुई करोड ४१ लाख ८६ हजार, पूर्वाधार सेवाको उपभोग कर ९९ लाख २५ हजार, व्यवसाय रजिस्ट्रेसन एक करोड ३० लाख ५६ हजार, अखेटोपहार ६१ लाख, सरकारी सम्पत्ति बहालकर दुई करोड ६१ लाख १२ हजार सङ्कलन भएको बताए ।
यसैगरी, अन्य सेवा शुल्क एक करोड ४४ लाख ८६ हजार, नक्शापास दस्तुरबापत एक करोड ४४ लाख २१ हजार, सिफारिश दस्तुरबापत ९७ लाख ८१ हजार, व्यक्तिगत घटना दर्ताबाट १३ लाख २८ हजार, नाता प्रमाणित दस्तुरबापत १० लाख ३२ हजार र प्रशासनिक दण्ड जरिवाना ३२ लाख चार हजार तथा बेरुजू छ लाख १९ हजार सङ्कलन भएको राजस्व महाशाखा प्रमुख कर्णले बताए ।