प्रस, वीरगंज, ४ पुस/

पर्साको धोबिनी गाउँपालिका–३ स्थित ऐलानी सार्वजनिक जग्गाको मिसिल भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले तीन वर्षपछि पर्सा जिल्ला अदालतलाई बुधवार मात्र बुझाएको छ ।

सो एलानी जग्गा केही व्यक्तिले आफ्नो नाममा दर्ता गराएपछि स्थानीयले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

पर्सा जिल्ला अदालतले सोही बखतदेखि जग्गाको सक्कली फाइल माग गर्दै आएको थियो । तर भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले विभिन्न बहाना बनाइ फाइल बुझाएको थिएन । जसले गर्दा यो मुद्दाको किनारा लाग्न सकेको थिएन । 

यो मुद्दामा ११ पटक पेसी चढेको थियो तर अस्ति पुस २ गते न्यायाधीश रुद्रमणि गिरीको एकल इजलासले मुद्दासम्बन्धी माग गरिएको मिसिल सात दिनभित्र अदालतमा पेश गर्न अन्यथा दण्ड, जरिवाना हुने आशयको निर्णय गरेपछि भूमिसुधार तथा मालपोत कार्यालय, पर्साले अदालती आदेश भएको दुई दिन नबित्दै माग गरिएको मिसिल पर्सा जिल्ला अदालतमा पठाएको हो ।

धोबिनी गाउँपालिका–३ मा रहेको करीब पाँच बिघा सार्वजनिक ऐलानी जग्गा कालिकामाई गापा–१ मुर्ली निवासी असर्र्फी ठाकुर लोहारले २०७२/८/२५ गते आफ्नो नाउँमा दर्ता गराएको वडाध्यक्ष राजकिशोर पटेलले बताए ।

तत्कालीन हरिहरपुर गाविसस्थित सिकटा नदीको कित्ता नं ४०७ र ४२३ को जग्गा लोहारले आफ्नो नाउँमा दर्ता गरेपछि स्थानीयहरू सोही बेलादेखि मुद्दा लड्दै आएका छन् ।

गाउँलेहरूले चन्दा सङ्कलन गर्दै आठ वर्षदेखि मुद्दा लड्दै आएका छन् । सोही बखत नक्कली कागजात र सरकारी सहीछाप किर्ते गरेको आरोप लागेका ठाकुरले भूमिसुधार तथा मालपोत कार्यालयबाट कागजात बेपत्ता पार्न लगाएका थिए ।

पर्सा जिल्ला अदालतले सो मिसिल पठाउने भूमिसुधार तथा मालपोत कार्यालय, पर्सालाई बारम्बार ताकेता गर्दै आएको थियो । तर मिसिल पठाउने कार्यमा निकै ढिला भएपछि न्यायाधीश गिरीले दण्ड, जरिवाना गर्ने निर्णयसहितको अन्तिम सात दिने पत्र काट्न लगाएको दुई दिन नबित्दै मिसिल अदालतमा पुगेको हो ।

तत्कालीन गुलरियाका बासिन्दाहरूले खेलमैदान तथा पर्तीको रूपमा प्रयोग गर्दै आएको जग्गा ठाकुरले सरकारी कागजात किर्ते सही सनाखत गरी आफ्नो नाममा गरेको स्थानीयको आरोप छ ।

अदालतमा मिसिल पुगेपछि अहिले भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कर्मचारीहरू पनि आत्तिएका छन् । ठाकुरले किर्ते कागजातबाट आफ्नो नाममा पारेको ऐलानी, सार्वजनिक जग्गालाई बैंकमा राखेर ऋण लिएका छन् भने कृषि कर्ममा पाइने सरकारी सेवा सुविधाहरूको पनि उपभोग गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here