प्रस, वीरगंज,४ पुस/
वीरगंज महानगरपालिका कार्यालयले गत साउनमा बहाल गरेको १५७ जना स्वयंसेवक शिक्षकलाई हटाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले हिजो पुस ३ गते सूचना प्रकाशित गरी पुस १ गतेदेखि लागू हुनेगरी मावि तहका ३३ र निमावि तहका १२४ जना गरी १५७ जना स्वयंसेवक शिक्षकलाई अवकाश दिइएको जनाएका छन् ।
हिजो महानगरको शिक्षा महाशाखाको बैठकले स्वयंसेवक शिक्षक पुस १ गतेदेखि लागू हुनेगरी हटाउने निर्णय गरेको र त्यसपछि प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सूचना प्रकाशित गरेका थिए ।
महानगरमा शिक्षक अभाव भएपछि नगरप्रमुख राजेशमान सिहले शिक्ष्Fामा सुधारका लागि परीक्षा लिएर साउन महीनादेखि स्वयंसेवक शिक्षकहरू नियुक्त गरेका थिए । उनीहरूलाई महानगरपालिकाले मावि तहका शिक्षकलाई नासुले पाउने तलबको आधा र निमाविका शिक्षकलाई खरिदारले पाउने तलबको आधा पारिश्रमिक दिंदै आएको थियो ।
महानगर स्रोतका अनुसार आर्थिक सङ्कटका कारण स्वयंसेवक शिक्षकहरूलाई हटाइएको हो । जबकि यसको पुष्टि महानगरले आधिकारिकरूपमा गरेको छैन । शिक्षा महाशाखाको बैठकको निर्णय जनाएर उनीहरूलाई अवकाश दिइएको भनिएको छ । यसअघि महानगरले नगरप्रहरी, कम्प्युटर अपरेटर, वारुणयन्त्र, चालक, चौकीदारलगायत दैनिक ज्यालादारीका करीब सात सयजनालाई एकैसाथ अवकाश दिएको थियो ।
करको दायरा महानगरले घटाउँदै गएको, बेरुजू असुल नगर्दा विकास निर्माण कार्यका बजेटमा कटौती गरेको, सङ्घ र प्रदेशको अनुदानमा निकै कमी आएपछि महानगरपालिका आर्थिक सङ्कटमा परेको र यसबाट उन्मुक्तिका लागि अनावश्यकरूपमा बहाल गरिएका कर्मचारीहरू एकपछि अर्काे गरी हटाउन थालेको महानगर कर्मचारी स्रोतले जनाएको छ ।