प्रस, वीरगंज, ४ पुस/
जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा बुधवार बिहान दुई बजे यात्रुवाहक बस र ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा बस र ट्रकका चालकसहित तीनजनाको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको यात्रुवाहक बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.७ख ७३०० नम्बरको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा बसका चालक तनहँुका २८ वर्षीय पूर्ण गुरुङ र ट्रक चालक हेटौंडा उपमहानगरपालिका निवासी ४० वर्षीय हरिशम्शेर सुयाल थापा र एकजना सनाखत नभएको पुरुष यात्रुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले बताए ।
दुर्घटनामा बसमा यात्रा गरिरहेका २७ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको हेटौंडा अस्पताल र चितवनको पुरानो मेडिकल कलेज तथा अमलेखगंजको कार्की मेडिकलमा उपचार भइरहेको उनले बताए ।
घाइते हुनेहरूमा सुनसरीका खिलराज दुलाल, सुरेन्द्र गौतम, उनकी पत्नी सम्झना गजुरेल, १२ वर्षीया छोरी सोराय गौतम, तीन वर्षीय छोरा स्वर्णीम गौतम, बसका सहचालक झापाका नगेन्द्र उप्रेतीको अवस्था गम्भीर छ ।
दुर्घटनामा झापा, दमक, सुनसरी र भारतीय नागरिकहरू गरी २७ जना घाइते भएका छन् ।
दुर्घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय, अमलेखगंज र इलाका प्रहरी कार्यालय, सिमराको टोली पुगेर घाइतेको उद्धार गरेका थिए ।
यसैगरी, आज दिउँसो निजगढ नपा–२ सिंगोलस्थित राजमार्गमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सूचना अधिकारी न्यौपानेले निजगढबाट उदयपुर जाँदै गरेको मोटरसाइकल र रौतहटबाट निजगढतर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा जुध्दा दुवैजना चालकको मृत्यु भएको उनले बताए ।
उदयपुर नपा–२ का चन्द्रदीप लामा र रौतहट चन्द्रपुर नपा–३ पौराई निवासी बुद्धबहादुर बलको सामुदायिक प्रसूति अस्पताल, निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार चन्द्रपुर नपा निवासी ३५ वर्षीय बाबुराम सुनार घाइते भएका सूचना अधिकारी न्यौपानले जनाएका छन् ।