प्रस, वीरगंज, ४ पुस/

वीरगंज उद्योग वाणिज्य सङ्घ र पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको संयुक्त आयोजना र भारतीय महावाणिज्य दूतावास, वीरगंजको सहकार्यमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन–२०२३ को दोस्रो संस्करण बुधवार वीरगंजमा सम्पन्न भएकोे छ ।

सम्मेलनमा वीउवासङ्घका अध्यक्ष अनिल अग्रवालले नेपाल–भारतबीचका बहुआयामिक सम्बन्धबारेमा चर्चा गर्दै दुईपक्षीय व्यापार विस्तारका लागि दुवै देशका सरकारको भूमिका आवश्यक रहेको र सीमावर्ती क्षेत्रमा आइरहने कठिनाइहरूको समाधानका लागि स्थानीयस्तरबाट पहल गरिनुपर्ने बताए । उनले सुविधासम्पन्न क्वारेन्टाइन तथा खाद्य प्रयोगशाला, डिस्प्युट सेलको स्थापना गर्नुपर्ने, तेस्रो मुलुकका पार्टपुर्जा, ससाना मेशिनरी तथा जीवनोपयोगी औषधिहरू भारतबाट समेत आयात गर्न पाउने व्यवस्था हुनुपर्ने, नेपाली सवारीसाधनलाई भारतमा सहज प्रवेशको व्यवस्थालगायतका विषयबारे चर्चा गरेका थिए ।

सम्मेलनका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मीणाले भारत र नेपालबीचको व्यापार विस्तारको लागि भारतले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने बताए । उनले भारत र नेपालबीचका जुनसुकै व्यापारिक अवरोधलाई हटाउन महावाणिज्य दूतावास सदैव तयार रहेको बताए । 

पिएचडी चेम्बर भारत–नेपाल सेन्टरका सचिव तथा कार्यक्रमका संयोजक अतुलकुमार ठाकुरले भारत–नेपालबीचको व्यापारिक सम्बन्ध विस्तारको लागि पिएचडी चेम्बरको भूमिकाबारे चर्चा गर्दै दुवै देशबीच व्यापारिक सम्बन्ध सुमधुर भएमा मात्र आर्थिक उन्नति हुने बताए । 

नेपाल–भारतबीचका व्यापारिक सम्बन्ध, अवरोध र समस्या समाधानलगायतका विषयमा भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल, निम्बस ग्रुफ अफ इन्डस्ट्रिजका अध्यक्ष जगदीशप्रसाद अग्रवाल, युनिलिभर नेपालका कारखाना प्रबन्धक सञ्जय भट्टाचार्य, ऊर्जा वल्र्डका संस्थापक प्रमुख कार्यकारी अधिकृत दीपक रौनियार, इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्टका कार्यकारी निर्देशक विकास रौनियार, सीमा जागरण मञ्च बिहार राज्य संयोजक महेशकुमार अग्रवाल, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोककुमार बैद, नेपाल राष्ट्र बैंककी उपनिर्देशक रचना पराजुली, नर्थ–साउथ क्लेक्टिभ्सका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, मधेस प्रदेशका प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सोहनप्रसाद साह, नेपाल–भारत उद्योग वाणिज्य सङ्घका उद्योग तथा निर्यात प्रबन्धक समितिका सभापति कुणाल क्याल, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगंज चेप्टरका अध्यक्ष अभिषेक चौधरी, वीरगंज उद्योग वाणिज्य सङ्घका सहसचिव नीरज अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले धन्यवाद व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here