प्रस, वीरगंज, ४ पुस/
दिल्ली पब्लिक स्कूल (डिपिएस) वीरगंजको आयोजनामा अन्तरविद्यालय नवौं सिजी एजुकेशन कप शुरू भएको छ । बारा, परवानीपुर–४, चैनपुरस्थित विद्यालयको खेलमैदानमा श्रीजङ्ग वीरगंजका प्रमुख सेनानी डायमन्ड कार्कीले म्याच रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए । बालबालिकाको चौतर्फी विकासको लागि खेलकूदको भूमिका अहम् हुने भएकोले विद्यालय जीवनबाट नै प्रतिभावान् खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना हुनुपर्ने उनले बताए । यो प्रतियोगिता फूटबलपे्रमी विद्यार्थीका लागि एउटा राम्रो अवसर पनि भएको उनले बताए ।
कार्यक्रममा विद्यालयका शैक्षिक निर्देशक डा भूषण गुरुङले खेलमा सफलता पाउन सामूहिक उत्प्रेरणा चाहिन्छ भने जीवनका अप्ठेरामा सफलता पाउन अनुशासित बन्नु आवश्यक रहेको बताए । उनले विद्यालयस्तरीय फूटबल प्रतियोगिताले भोलि ‘स्टार फूटबलर’ खोज्न कोसेढुङ्गा साबित हुने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखमचन्द अग्रवालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रञ्जीव आनन्दले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतियोगिताबारेमा जानकारी गराएका थिए । कार्यक्रममा पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गम श्रेष्ठ, परवानीपुर गापाका शिक्षा शाखा प्रमुख विद्यानन्द यादव, पर्सा फूटबल सङ्घका अध्यक्ष अनिल कलवार, प्याब्सन पर्साका अध्यक्ष पूरन प्रधानलगायतको सहभागिता थियो ।
कार्यक्रमपछि भएको प्रथम खेलमा डिपिएसले डिएभी वीरगंजलाई शून्यका विरुद्ध सात गोलअन्तरले पराजित गरेको थियो । निर्धारित खेलमा डिएभीले एक गोल पनि गर्न सकेन । डिपिएसले गरेको सात गोलमध्ये प्रनीष श्रेष्ठ एक्लैले चार गोल गरेका थिए । पुस १३ गतेसम्म सञ्चालित प्रतियोगितामा पर्सा, बारा, मकवानपुर र चितवनका १६ वटा निजी विद्यालयको सहभागिता छ । प्रतियोगितामा सनराइज स्कूल चितवन, सोलिडारिटी एकेडेमी हेटौंडा, बाराबाट मोर्डन स्कूल परवानीपुर, सिमराको लोट्स एकेडेमी, सिमरा पब्लिक स्कूल, ब्राइटर, शुभतारा,न्यू एकता स्कूल रहेका छन् । पर्साबाट गौत्तम, डिएभी, साउथजोन, जीवनज्योति, कादम्बरी, ज्ञानदा, डिपिएस, लिटल फ्लावर स्कूल रहेका छन् । प्रतियोगिताको विजेताले रु १५ हजार र उपविजेताले रु सात हजार नगद पुरस्कारसहित शिल्ड र मेडल पाउनेछन् ।