विश्व मानव सभ्यताको विकाससँगै पशुपक्षी मानिससँग रहँदै आएका हुन् । यिनीहरू मानव सभ्यता र विकासका सहयात्री हुन् । नेपाल शब्दको उत्पत्तिसँग पनि पशुपक्षी जोडिएर आएका छन् । श्रीकृष्णले नेपाल उपत्यकामा गाई चराएका हुन् वा नेमुनिको सन्दर्भमा आउने गाई र परेवाको कुरा हुन् । हाम्रो मुलुक नेपालमा पशु विकास तथा पशु स्वास्थ्य सेवाको औपचारिक आरम्भ भने विसं १९७८ मा कृषि अड्डा खुलेपछि भएको इतिहास छ । नेपाल कृषिप्रधान देश हो । यहाँको करीब ६३.५ प्रतिशत जनसङ्ख्या कृषि पेशामा संलग्न छ । यसर्थ नेपालले आर्थिक समृद्धि हासिल गर्न सक्ने क्षेत्र व्यावसायिक कृषि एवं पशुपक्षी पालन नै हो । मुलुकको आर्थिक विकासमा एक तिहाइ योगदान कृषिको रहेको छ । कुल कृषि क्षेत्रको योगदानमा पशुपालन क्षेत्रको योगदान एक चौथाइ छ । जसमा भैंसीपालनको योगदान कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशतभन्दा बढी छ भने गाईपालन क्षेत्रको योगदान १४ प्रतिशत देखिन्छ । पशुजन्य उत्पादनमा सबैभन्दा बढी योगदान भैंसीको देखिन्छ । भैंसीपालनलाई हाम्रो समाजमा केवल आर्थिक दृष्टिकोणबाट मात्र नभएर सामाजिक पक्षबाट पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । नेपालमा दूध आयातको अवस्था हेर्दा भारतलगायत अन्य तेस्रो मुलुकबाट दिनानुदिन आयात बढिरहेको अवस्थामा पशुपालन क्षेत्रमा प्रेरित भएर लाग्ने हो भने अन्य क्षेत्रको भन्दा सहज र फाइदा हुन्छ ।
हाल नेपालमा पशुपालनको ठूलो हिस्सा परम्परागतरूपमैं रहेको छ । पशुपालनलाई धेरै नेपालीले जीवननिर्वाह पेशाको रूपमा मात्रै अपनाएको पाइन्छ । तर पछिल्लो समयमा नयाँ पुस्ताका केही युवाहरूले पशुपालनलाई मुख्य व्यवसायको रूपमा अगाडि सार्ने गरेका छन् । कृषिमा आत्मनिर्भर बन्नका लागि वा देशमा औद्योगिक वातावरण सिर्जना गर्न पशुपालनमा पनि नयाँ सोच आउन जरुरी छ । पछिल्लो पुस्ताले पशुपालनलाई एउटा व्यवसायको रूपमा अगाडि सार्नु पशुपालनको क्षेत्रमा आशालाग्दो र महत्वपूर्ण विषय हो । औसतरूपमा हेर्दा परम्परागत वा आधुनिक पशुपालनमा घाँसमुखी पशुपालनलाई कम महत्व दिएको पाइन्छ । मुख्यतया पशुपालन व्यवसायमा लागतको ठूलो हिस्सा करीब ७० प्रतिशत आहारमा खर्च हुने गर्छ । त्यस कारण पशुपालन व्यवसाय गर्दा आहार व्यवस्थापन नै मुख्य समस्या हुन्छ । पशुहरूको आहार लागतलाई घटाउन सकेमा पशुपालन व्यवसायमार्फत पनि मनग्गे नाफा आर्जन गर्न सकिन्छ ।
मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगट्ने पशुपक्षीको व्यवस्थापनलाई वैज्ञानिक प्रणालीबाट सञ्चालन गरिनु जरुरी छ । मुलुकमा स्वरोजगार सिर्जना साथै व्यापारघाटा कम गर्दै अर्थतन्त्र बलियो बनाउने हो भने सरकारको मूल ध्येय पशुपक्षीपालन व्यवसायलाई व्यवस्थित, आयमूलक तथा आकर्षक बनाउनेतर्फ हुनुपर्छ । यसले खाद्य तथा पोषण सुरक्षा, गरीबी न्यूनीकरण र रोजगार सिर्जनामा प्रत्यक्ष सघाउँछ छ । गाईभंैसी, चौरी, बाख्रालगायतको पालनबाट हामीलाई दूध प्राप्त भइरहेको छ । हाल नेपालमा बर्सेनि २२ लाख १३ हजार २०२ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । मुलुकको माग अनुसार यो पर्याप्त भने होइन । यसलाई अझ वृद्धि गरी पाउडर दूध कारखाना सञ्चालनमा ल्याउनुपर्छ । दूधबाट बन्ने घ्यूलगायत मिठाइका परिकारमा पनि आत्मनिर्भर हुन सक्नुपर्छ । साथै चकलेटलगायतका कारखाना सञ्चालनमा ल्याउने हो भने बाहिरबाट चकलेट आयात गर्ने नभई हामीले निर्यात गर्न सक्छौं । दूध पिउनका लागि मात्र नभएर यसको बहुप्रयोगमा जानेतर्फ दीर्घकालीन सोच सरकारको हुनुपर्छ र सोहीअनुरूप यस क्षेत्रलाई ंसंरंक्षण, विकास गर्दै बढावा दिने नीति तथा कार्यक्रम सरकारको हुनुपर्छ ।