- बैधनाथ श्रमजीवी
संसारभरि मानव समाजमा मृत्यु पश्चात् श्रद्धाञ्जली दिंने गरेको देखिन्छ । प्रायः सबै जातजाति तथा भाषाभाषीहरू धरतीको सबै भूगोलमा समाजभित्र आइपर्ने दुःख अर्थात् मृत्यु (शोक) को व्यवस्थापन गर्ने क्रममा श्रद्धाञ्जली दिने गरेको लामो परम्परा कायम रहँदै आएको छ । होमोसेपियन्स मानवको शरीरभित्र करीब ७० हजार वर्ष पहिले भएको सोच्न सक्ने अर्थात् कल्पना गर्न सक्ने (बौद्धिक क्रान्ति) भएपछि र त्यसमा पनि खासगरी झन्डै ११ हजार वर्षदेखि कृषि क्रान्ति भएपश्चात् मानिसले आफ्नो वरिपरिको प्रकृति तथा प्राकृतिक घटना बुझ्ने क्रममा आफूभित्र रहेको ज्ञान शून्यताको अवस्थामा गरेको कल्पना नै समय क्रममा धर्म र ईश्वरको रूपमा समाजभित्र क्रमशः स्थापित हुँदै गएको हो । सीमित ज्ञानको–अज्ञानताको त्यो घेरा बढ्दै गएपछि पछिल्लो चरणमा ती कल्पित ईश्वरीय धारणाविरुद्ध विज्ञानको प्रमाणित ज्ञान विकसित हुँदै आएको हो । जस अनुसार समाजभित्र बिस्तारै धर्मको नाममा व्याप्त अन्धविश्वास, रूढिवाद, तन्त्रमन्त्र, स्वर्ग–नर्क, भाग्य, पुनर्जन्म, पूर्वजन्म आदिको भण्डाफोर हुन थाल्यो र मानव समाज विज्ञानमुखी भएर सोच्न थाल्यो ।
एकातिर ब्रह्माण्डको सृष्टि कसले गर्यो भन्ने प्रश्न गर्नेहरू आदर्शवाद र अध्यात्मवादमा लिप्त हुन् थाले भने अर्कोतर्फ ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने कोणबाट प्रश्न गर्नेहरूले भौतिकवादी दृष्टिकोणले प्रकृतिलाई बुझ्न, विश्लेषण गर्न थालेपछि आजको विज्ञान क्वान्टम स्तरसम्म विकास गरेर आउन सम्भव भएको छ ।
अध्यात्मवादीहरू आदर्शवादले कल्पना गरेको आत्मा अमर छ र आत्माको कहिले मृत्यु हुँदैन भन्छन् । यदि यो कुरा एक छिनको लागि सत्य हो भनी मानौं भने जब आत्मा मर्दैन भने श्रद्धाञ्जली कसलाई केको निमित्त दिने ? किनभने आत्मा मरेकै छैन । फेरि आत्मा भनेर जे कल्पना गरिएको छ के त्यसलाई भोक लाग्छ ? यदि लाग्दैन भने मृत्युपश्चात् पिण्डदान र तर्पण पाखण्ड र बाहुनहरूको घरपरिवार धान्ने धन्दाबाहेक अरू के रहन जान्छ ? त्यसैले आदर्शवादीहरूले शोकको व्यवस्थापनमा श्रद्धाञ्जली दिनु लिनु बेतुकको कुराबाहेक केही होइन भन्दा सबै अर्थमा ठीक हो ।
भौतिकवादीहरू त आत्माको अस्तित्व नै स्वीकार गर्दैनन् । यस्तोमा जब मानिसको मृत्यु हुन्छ, ऊ कहिले न फर्कने गरी मर्छ । जब मान्छे मरिसकेको छ र यो भौतिक संसारमा छैन अनि उसलाई कसैले कसरी श्रद्धाञ्जली दिने ? दिएको श्रद्धाञ्जली कसले लिन्छ ? जब कोही लिनेवाला नै छैन भने श्रद्धाञ्जली दिनु वा च्ष्उ लेख्नु, वा स्वर्गवास होस् वा वैकुण्ठवास होस् जस्ता शब्दावलीको प्रयोग अज्ञानता वा अन्धविश्वास वा अध्यात्मिकता मात्रै हो । त्यसैले मृत्युमा ‘श्रद्धाञ्जली’ दिनु सर्वथा गलत हो । यो अध्यात्मवादी सोच वा भौतिकवादी दृष्टिकोण दुवैमा मेल खाँदैन ।
हाम्रो समाजमा नास्तिक वा भौतिकवादीहरूलाई आदर्शवादी वा अध्यात्मवादीहरूले अनैतिक अर्थात् नैतिकता नभएको आरोप लगाउँछन् । के नास्तिक वा भौतिकवादीहरू नैतिकता नभएका मानिस हुन् ? यो आरोप शत प्रतिशत गलत हो । यसमा कुनै सत्यता छैन । बरु अध्यात्मवादीहरू प्रायः अनैतिक र झूटो बोल्छन् । जबकि भौतिकवादीहरू अध्यात्मवादीहरूको तुलनामा बढी सत्य बोल्छन् । अध्यात्मवादीहरू बढी झूटो किन बोल्छन् ?
अध्यात्मवादीहरूले झूटो बोल्नु स्वाभाविक हो । किनकि उनीहरूले स्वीकार गरेको दार्शनिक मान्यताकै कारण उनीहरूले झूटो बोल्छन् । धेरै मानिस धार्मिक संस्कार, पूजापाठ, कर्मकाण्ड तथा अध्यात्मिकतामैं लिप्त रहने हुनाले उनीहरूले नभएका कुरा पनि छ भनेर भूmटो बोल्नु अर्थात् अनैतिक हुन बाध्य छन् । जुनसुकै धर्म मान्ने भए पनि धरतीमा कतै नभएको स्वर्ग र नर्क छ भन्छन् । नभएको कुरा छ भन्नु नैतिक हो कि अनैतिक ? एकैछिनको लागि मानौं स्वर्ग र नर्क छ, त्यो कहाँ छ त ? यसलाई प्रमाणित गर्ने तथ्य के के हुन् ? यसबारे आजसम्म हाम्रो भूगोल या खगोल विज्ञानले किन केही बोलेको छैन ? धर्मग्रन्थहरूमैं– सनातनी होस् वा इस्लामिक वा ईसाई वा शिख वा जैन आदिमा स्वर्ग या नरक पृथ्वीबाट कुन दिशामा कति किलोमिटर टाढा छ भनेर केही उल्लेख छैन ।
भनिन्छ जिउँदो मानिस स्वर्ग जान सक्दैन र मरेकाहरू गएर फर्केर आएको कोही छैन । अनि यस्तोमा स्वर्ग छ भन्नुको आधार के ? यस्ता आधारहीन कुरा हजारौं वर्षदेखि गर्नेहरू नैतिकता भएका मानिस हुन् कि अनैतिक ?
धर्मले समाजमा नैतिकता कायम गरेको छ भनेर अध्यात्मका ठेकेदारहरूको हजारौं वर्षदेखिको दाबी रहँदै आएको छ । उनीहरू जीवन र जगत्को सृष्टिकर्ता कुनै एक (आआफ्नो धर्म अनुसार) ईश्वर वा देवता वा भगवान वा अलौकिक शक्तिले गरेका हुन् र तिनैले यो चराचर जगत्का सम्पूर्ण गतिविधि सञ्चालन पनि गर्छन् भन्ने कुरा हजारौं वर्षदेखि भन्दै आएका छन् । उनीहरूसँग आफ्नो धर्मग्रन्थमा लेखिएको कुरा सही हो भने प्रमाणित गर्ने के प्रमाण छ ? यस्तो मनगढन्ते कुरा गर्नेहरूलाई कसरी नैतिकवान् मान्ने ?
ब्रह्माण्डको उत्पत्ति बिगब्याङ्ग (big bang theory) मा परिकल्पित वैज्ञानिक अवधारणा अनुरूप भएको कुरामा लगभग सबै वैज्ञानिक सहमत छन् । जति बेला धर्म ग्रन्थहरू लेखिए त्यस बेला मानिसले नाङ्गो आँखाले देख्न सक्ने संसार अर्थात् हाम्रो सौर्य परिवार वा आकाशगङ्गाको केही भागलाई मात्रै ब्रह्माण्ड भनेर बुझेका थिए । तर जब आधुनिक विज्ञान प्रविधिले ब्रह्माण्डको अनन्तता नियाल्न सक्ने शक्तिशाली दुरबिन निर्माण गर्न भ्याए अनि यति ठूलो ब्रह्माण्ड ईश्वर नामक पात्रले बनाउनै सक्दैन भन्ने ठोकुवा गरे ।
हामी सबैले देखेकै हो मानव समाजको पछिल्लो दश–एघार हजार वर्षको लामो यात्रामा, मानव समाज पूँजीवाद र समाजवादको युगसम्म आइपुग्दा, विज्ञान प्रविधिले विकासको चौतर्फी ढोका खोली दियो । हिजोसम्म चमत्कार र रहस्यको रूपमा रहेका अनेकौं प्राकृतिक घटनाहरूको वास्तविक कारण मानिसले थाहा पाएपछि अन्धविश्वासका पोलहरू एकएकगरी खुल्दै गए र मानिसहरूले हजारौं वर्षदेखि पाल्दै आएको विभिन्न अन्धविश्वास, रूढिवाद, चमत्कार आदिमाथि प्रश्नहरू तेर्सिन थाले । फलस्वरूप आज संसारका १७ प्रतिशत मानिस नास्तिक अर्थात् कुनै धर्म नमान्ने देखिएका छन् ।
हाम्रो समाजमा यति बेला पढ्ने परम्परामा ठूलो परिवर्तन भएको छ । प्रायः मानिस पैसासँग जोडिएका काम कुरातर्फ मात्रै आकर्षित हुने गरेका छन् । विद्यालय वा विश्वविद्यालयमा विभिन्न संकायमा विद्यार्थीहरू मेहनत गरेर पढिरहेका भेटिन्छन् तर उनीहरूले पढ्ने विषय वा शीर्षक, ज्ञानको लागि नभएर राम्रो अङ्क ल्याएर पास गरे राम्रो नोकरी पाइन्छ भन्ने उद्देश्यले गरिएको देखिन्छ । परिणामस्वरूप कोही विज्ञान संकायमा गोल्ड मेडल प्रमाणपत्रधारी भए पनि वास्तविक जीवनमा, घर–व्यवहारमा फर्कंदा सम्पूर्णरूपमा अन्धविश्वासी पात्रको रूपमा परिचय बनाउन पुग्छ । हुनत पढेलेखेका बुद्धिजीवी होऊन् चाहे साक्षर–निरक्षर, अध्यात्मवादी दर्शन स्वीकार गरेपछि यिनमा आत्मा (चेतना) पहिलो र भौतिक जगत् (पदार्थ) दोस्रो हुनु स्वाभाविक हो । हिन्दूवादी वेदान्त दर्शनको मूल नारा नै ‘ब्रह्म सत्य, जगत् मिथ्या’ रहेको छ । अर्थात् केवल एक ब्रह्म अर्थात सर्वशक्तिमान ईश्वर सत्य हो, बाँकी पूरै ब्रह्माण्ड झूटो हो । आदर्शवादीहरूका अनुसार यो संसार निराकार ईश्वरले रचना गरेका हुन् । अर्थात् यो विशाल ब्रह्माण्ड उनीहरूको ईश्वरले शून्यबाट बनाएको हो भन्ने कुरा विनाप्रमाण उनीहरूद्वारा लेखिएको धार्मिक ग्रन्थको आधारमा हजारौं वर्षदेखि भनेर ढाँट्दै आएका छन् ।
पृथ्वीबाहेक कतै पनि अहिलेसम्म कुनै जीव विज्ञानले फेला पारेको छैन । पृथ्वीमा जीवहरूभित्र चेतना, चैतन्य या आत्मा कुनै छुट्टै पदार्थ नभएर भौतिक जगत्कै प्रतिविम्ब हो र भौतिक जगत्को अनुपस्थितिमा चेतना या आत्माको कुनै अस्तित्व हुँदैन भन्ने कुरा अध्यात्मवादीहरूको गिदीमा छिर्दैन । जस्तो मधुमेह रोगीहरूको कोषभित्र ग्लुकोज छिर्दैन र नसाभित्र रगतमा चिनीको मात्रा बढी देखाउँछ, त्यसैगरी अध्यात्मवादीहरूको मगजमा सबै प्रश्नको केवल एउटै जवाफ ‘ईश्वर’ सेट भएको सजिलै देखिन्छ । एउटा अध्यात्मवादीको लागि बिहान किन हुन्छ ? राति किन हुन्छ ? ऋतु परिवर्तन किन हुन्छ ? भूकम्प किन हुन्छ ? बाढीपहिरो किन जान्छ ? भोक किन लाग्छ ? मान्छे कसरी जन्मिन्छ वा किन मर्छ ? कोही गरीब किन छ वा कोही धनी किन छ ? कोही बेरोजगारी किन छ वा कोहीको व्यापार किन डुब्यो ? अर्थात् जीवनको यस्तो लाखौं प्रश्नको एउटै रेडिमेड जवाफ छ – ईश्वरले गर्दा वा ईश्वरले भाग्यमा त्यही लेखेका रहेछन् । अथवा ईश्वरको त्यही इच्छा हो । अथवा यो सबै ईश्वरको लीला हो… आदि ।
हामीलाई राम्ररी थाहा छ माथिका सबै प्रश्नको एउटा जवाफ हुनै सक्तैन । देशमा बेरोजगारको कारण पूँजीवादी व्यवस्था हो, जसले देशभित्रको सबै उद्योग धन्दा कलकारखाना बन्द गरेको छ । पृथ्वीको दैनिक गतिले गर्दा रात र दिन हुन्छ र वार्षिक गतिले गर्दा ऋतु परिवर्तन हुन्छ । उत्पत्ति र बिघटन प्रकृतिको नियम हो । जो जन्मिछ ऊ मर्छ पनि । माथिको सबै प्रश्नको प्रमाणित जवाफ विज्ञानसँग छ तर पनि त्यसलाई भूmटो भन्ने र अवैज्ञानिक कुराहरूलाई सही ठान्ने अन्धविश्वास बोकेकाहरू आफ्ना अबोध बालबालिकालाई समेत अन्धविश्वासको अम्मली बनाउन उद्धत छन् यो सबैभन्दा बढी चिन्ताको विषय भएको छ ।
संसारभर, जहाँ अशिक्षा, गरीबी, विभेदजस्ता अमानवीय अवस्थामा समाजका बहुसङ्ख्यक नागरिक जेलिएका छन्, त्यहाँ सबैभन्दा बढी धर्मकर्म, पूजापाठ, अन्धविश्वास, रूढिवाद, तन्त्रमन्त्र, झाँक्री–बोक्सी, स्वर्ग–नर्क, भाग्य, पुनर्जन्म, पूर्वजन्म, ईश्वर आदिको खेती हलक्कै सप्रेको देखिन्छ तर यसविपरीत जहाँको समाजमा आधारभूत आवश्यकताका सम्पूर्ण कुरामा आम नागरिकको पहुँच छ, झन्डै शत प्रतिशत जनसङ्ख्या शिक्षित छ र देश समृद्ध छ, त्यहाँको समाजमा धर्मको खेती निरन्तर कमजोर हुँदैछ । अहिले युरोपका ती देशहरूमा पचास प्रतिशतभन्दा बढी मानिस नास्तिक, तर्कशील, भौतिकवादी देखिन्छन् । फलस्वरूप संसारमा यति बेला १७ प्रतिशत नागरिकले कुनै धर्म मान्दैन ।