चालू आर्थिक वर्ष २०८०/८१ को चार महीनामा हाम्रो मुलुकमा चार खर्ब ७७ अर्ब रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको छ । यो चार महीनामा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ६ हजार छ । आर्थिक वर्ष ०७८/७९ मा नेपालको १० खर्ब ७ अर्ब रुपियाँ रेमिट्यान्स आर्जन भयो । त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको थियो । सो अवधिमा विदेश काम गर्न जाने नेपाली श्रमिकहरूको सङ्ख्या पनि उल्लेखनीय बढेको थियो । आर्थिक वर्ष २०७९/८० मा झन्डै पाँच लाख नेपाली पहिलोपटकमा वैदेशिक रोजगारका लागि गएका थिए भने थप झन्डै तीन लाखजना पुनः वैदेशिक रोजगारमा गए । यो वर्षको पहिलो चौमासिक तथ्याङ्क हेर्दा विप्रेषण रकम बढे पनि काम गर्न जाने मानिसको सङ्ख्या केही घटेको देखिन्छ । अघिल्लो वर्ष विदेश गएकाहरूले पारिश्रमिक आर्जन गर्न थालेको र वैदेशिक रोजगारमा रहेकाहरूको पारिश्रमिक पनि विगतको तुलनामा वृद्धि भएको हुँदा यस वर्ष विप्रेषण बढेको देखिएको हो । रेमिट्यान्स बाहेक नेपालले वैदेशिक मुद्रा आर्जन गर्ने अर्को स्रोत वस्तु निर्यात हो, जुन वार्षिक २ खर्ब रुपियाँ हाराहारीमा सीमित छ । रेमिट्यान्सको तुलनामा यो रकम धेरै कम हो ।

हाम्रो मुलुकको अर्थतन्त्रलाई पछिल्लो एक दशकदेखि  रेमिट्यान्सले नै धानिरहेको देखिन्छ । अर्थतन्त्रमा कर राजस्वको योगदानभन्दा बढी रेमिट्यान्स आइरहेको छ । विश्वव्यापी आर्थिक मन्दी चलेको समयमा पनि नेपाली अर्थतन्त्रलाई थेग्ने काम रेमिट्यान्सले गर्यो । रेमिट्यान्सकै कारण नेपाली अर्थतन्त्र मन्दीमा जानबाट जोगिएको छ भने रेमिट्यान्सले नै अधिकांश नेपालीको चुल्हो बलेको छ । केन्द्रीय बैंकले गरेको अध्ययनमा वैदेशिक रोजगारमा गएका झन्डै २० प्रतिशत घरपरिवारको आम्दानी विप्रेषण मात्र रहेको देखिएको थियो भने बाँकी घरपरिवारलाई पनि विप्रेषणबाहेक अन्य स्रोतबाट हुने आम्दानी उनीहरूको खर्च धान्न अपुग रहेको देखियो । विप्रेषण आयको एकचौथाई ऋण तिर्न प्रयोग हुने गरेको र अर्को एकचौथाई दैनिक उपभोगका लागि प्रयोग हुने गरेको देखाइएको थियो । त्यसैगरी करीब १० प्रतिशत स्वास्थ्य/शिक्षामा र झन्डै २८ प्रतिशत बचत कार्यका लागि प्रयोग हुने गरेको पाइएको थियो । यसको मतलब देश, घरपरिवार, व्यक्ति– व्यक्तिसम्मको दैनिक जीवन तथा आर्थिक क्रियाकलाप रेमिट्यान्ससँग जोडिएको प्रस्ट हुन्छ ।

तर सधैं रेमिट्यान्सको भर परेर मुलुक अगाडि बढ्न सक्दैन । हाम्रो ऊर्जाशील जनशक्तिले रगत पसिना गरेर रेमिट्यान्स आर्जन गरिरहेको भए तापनि मुलुकको लागि यो एक किसिमको परनिर्भरता हो । परिश्रम गर्नु पर्ने र रोजगार दाता मुलुकहरूलाई सधैं खुशी पनि पारिराख्नुपर्ने कार्य मानवीय स्वभाव र हाम्रो स्वाभिमान विपरीत छ । देशका प्रतिभा र श्रमशक्ति विदेशिंदा मुलुकलाई ठूलो घाटा छ । सम्बन्धित देशको स्थितिसँग रेमिट्यान्सको प्रत्यक्ष साइनो हुन्छ । यसलाई स्थायी आय मान्न सकिन्न । रेमिट्यान्स आउनु सकारात्मक नै भए पनि देशको समृद्धिका लागि दीर्घकालीन र स्थायी हुने आयको वातावरण बनाउनुपर्छ । देशको अर्थतन्त्र चलायमान बनाउन र आर्थिक विकास गर्दै समृद्ध देश निर्माणका लागि देशभित्रै आर्थिक गतिविधि बढाउनुपर्छ । उद्योग, कलकारखाना बढाउँदै आर्थिक योगदान गर्ने अर्थतन्त्रका अङ्गलाई पनि गति दिन सके मात्र रोजगार र आम्दानीको स्रोत बढ्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here