प्रस, सिम्रौनगढ, २८ मङ्सिर/
तलब माग गर्दै धर्नामा बसेका सिम्रौनगढ नगरपालिकाका शिक्षकहरू र प्रहरीबीच हिजो भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवारलाई क्षतिपूर्ति माग गर्दै बिहीवार सिम्रौनगढवासीले कलैयामा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापन बुझाएका छन् ।

उता सिम्रौनगढमा भने शिक्षकहरू आज नपाको गेटमा धर्नामा बस्न सकेनन् । हिजो दिउँसोदेखि तनाव भएपछि नपा कार्यालय क्षेत्र प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

सामुदायिक विद्यालय बन्द गरेर धर्नासहितको आन्दोलन गर्दै आएका शिक्षकहरूसँग हिजो दिउँसो दुई बजे नगरप्रमुख किशोरीप्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई कार्यालयभित्र लैजाने क्रममा विवाद बढेपछि झडप भएको थियो, जसमा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय युवक बिनको घटनास्थलमा नै मृत्यु भएको थियो भने एकजना खुट्टामा गोली लागेर घाइते भएका थिए । घटनामा १० जना प्रहरी र चारजना वृद्ध, बालक सामान्य घाइते भएका थिए ।

सिम्रौनगढ नपा अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत करार, अस्थायी र बालविकासका शिक्षक, कर्मचारीहरूले १४ महीनादेखि तलब नपाएको भनेर ५८ दिनदेखि धर्ना दिंदै आएका छन् भने बेलाबेलामा विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूको धर्नामा पाँच महीनादेखि तलब नपाएका स्थायी शिक्षक, कर्मचारीहरूले गत बिहीवारदेखि समर्थन जनाएर आन्दोलनलाई थप ऊर्जा दिएका थिए । एक सातादेखि सो नपाका विद्यालयहरूको पठनपाठन बन्द छ ।

पत्रकारहरूको विरोध

यसैबीच जिल्लामा घटेका घटनाको सूचना सही समयमा बारा प्रहरीले सञ्चारकर्मीहरूलाई उपलब्ध नगराउने गरेको भन्दै नेपाल प्रेस युनियन, बाराले बिहीवार विज्ञप्ति जारी गरी प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेको आलोचना गरेको छ ।

युनियनका बारा जिल्ला अध्यक्ष श्यामबाबू यादवले विज्ञप्ति जारी गर्दै सूचना अधिकारीले सूचना नदिने, फोन नउठाउने र प्रहरी उपरीक्षक काफ्लेले सिम्रौनगढ घटना सम्बन्धमा हिजो समाचार लिन गएका सञ्चारकर्मीहरूसँग दुव्र्यवहार गरेको भन्दै बारा प्रहरीको यो कार्यशैलीको विरोध गरेका छन् । उनले हिजोको घटना नदोहो¥याउन प्रउ काफ्लेलाई चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here