प्रस, परवानीपुर, २८ मङ्सिर/
चाँडै इँटा उद्योग बाल्ने काम गरेको भन्दै इँटा भट्टामा काम गर्ने चिम्नीका कामदारमाथि कुटपिट भएको समाचार सार्वजनिक भएको छ ।
पर्सागढी नगरपालिका–७ चैनपुरस्थित सुपर इँटा उद्योगका कामदारलाई स्थानीय इँटा उद्योगका सञ्चालकहरूले मानिस लगाएर कुटपिट गराएको सार्वजनिक भएको छ । मङ्सिर २६ गते मध्यरातमा इँटाभट्टामा कार्यरत सातजना कामदारमाथि प्रतिस्पर्धी इँटाभट्टा उद्योगका सञ्चालकको इशारामा कुटपिट भएको प्रहरीमा उजूरी परेको छ ।
चाँडै इँटा पकाए भने पछि पर्ने ईष्र्या राखेर कामदारमाथि कुटपिट गरी लखेट्ने कार्य भएको थियो । आक्रमण गर्नेहरूले इँटाभट्टाको आगो निभाउनसमेत प्रयास गरेको सुपर इँटा उद्योगका सञ्चालक सरोजकुमार यादवले बताए । उनले भट्टाको आगो निभाउन सफल भएको भए आफूलाई लाखौं मूल्यको क्षति हुने बताए । उनले इँटा उद्योगमा कार्यरत कामदारमाथि कुटपिट गर्नेमाथि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी गरेको बताए । सुपर इँटाका सञ्चालक यादवले शान्ति सुरक्षा र आवश्यक कारबाहीको माग गर्दै पर्साको सोना इँटा उद्योग, पचरूखीका सञ्चालक वीरगंज महानगरपालिका–२२ मनियारी बस्ने ओमप्रकाश यादव, शिवम् इँटा उद्योग फुलवरियाका सञ्चालक जीतेन्द्र मिश्र, प्रीति इँटा उद्योग, डोकैलाका सञ्चालक सुरेन्द्र ठाकुर, अनमोल इँटा उद्योग, डोकैलाका सञ्चालक बृजमोहन साह रौनियार र एभिएस इँटा उद्योग, चैनपुरका सञ्चालक रोहित यादवलाई विपक्षी बनाइ उजूरी दिएको बताए । जिल्ला प्रहरी कार्यालय, पर्साले वडा प्रहरी कार्यालय, श्रीपुरलाई आवश्यक समस्या समाधान गर्न पत्र काटेको छ ।
सुपर इँटा उद्योगका सञ्चालक यादवले आफूले लाखौं रुपियाँ खर्च गरी वर्षात्भन्दा अगावै इँटा उत्पादन गर्न खोज्दा केही महीनादेखि अवरोध सिर्जना हँुदै आएको र हाल आएर आफ्ना कामदारहरूमाथि अचानक आक्रमण हुनु निन्दनीय कार्य भएको बताए ।
इँटाभट्टा बालेकोमा विरोध थियो भने छलफल गरी समस्या समाधान गर्न सकिन्थ्यो, उनले भने, तर केही इँटा उद्योगका सञ्चालकहरूको इँटा बिक्री नभएकोले रिस साधेका हुन्, आफूलाई घाटामा पु¥याउन यो सबै षड्यन्त्र भएको हो । कुटपिट गरेर इँटाभट्टाका कामदारलाई भारततर्फ लेखेटिएको उजूरीमा उल्लेख छ । साथै काम गर्न आएमा ज्यान मार्ने धम्कीसमेत सञ्चालकका बाउन्सरहरूले दिएका थिए । थोरै इँटा उत्पादन गरेर बढी मूल्यमा बिक्री गर्ने मनसाय राख्नेहरूले घटना गरेको उनको आरोप ।
गत वर्ष ढिलो गरी इँटाभट्टा सञ्चालन हुँदा पर्सा–बाराका सयौं इँटा उद्योगको करोडौं मूल्यको क्षति भएको थियो । गत वर्षको घटनाबाट पाठ सिकेर यस वर्ष समयमैं इँटाभट्टा सञ्चालन गरिएको उनले बताए । सङ्घले भने आगामी माघ २५ गतेपछि मात्र इँटाभट्टा सञ्चालनको लागि इजाजत दिएको छ । यसअघि भने पर्सा र बारामा सञ्चालित इँटा उद्योगहरूले कहिले चिम्नी बाल्ने, निभाउने र कति इँटा बिक्री गर्ने भन्ने बारेमा आधिकारिक निर्णय नहुने गरेको बताइएको छ । जसलाई जहिले मन लाग्यो, अवस्था बन्यो भट्टा चलाउने काम हुँदै आएको थियो । यस वर्ष इँटाको माग बढी हुने आकलन गरी पहिले उत्पादित सञ्चित इँटा खपत गराउनका लागि प्रपञ्च रचिएको एकथरी इँटा उद्योगीको गुनासो छ । पर्सामा ३० र बारामा ९० गरी कुल १२५ इँटा उद्योग सञ्चालित रहेको बारा–पर्सा इँटा व्यवसायी सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष ओमप्रकाश यादवले चैनपुरको घटनाबारेमा आफू पनि जानकार रहेको तर त्यहाँका कामदारमाथि कुटपिट नभएको दाबी गरे । सङ्घको निर्णय नमान्दा सुपर इँटा उद्योगका सञ्चालक यादवलाई आफूहरूले पटकपटक इँटाभट्टा सञ्चालनमा रोक लगाएको उनले स्वीकारे । उनले प्रशासनमा आएको उजूरी अनुसार छलफलमा सहभागी भएर समस्या समाधानको लागि आफूहरूले पहल गर्ने बताए । उनले इँटाभट्टाका कामदारहरूलाई कुटपिट गरेर भगाएको कुरा सान्दर्भिक नभएको र सबैजना काम गरिरहेको बताए ।