प्रस, वीरगंज, २८ मङ्सिर/
वीरगंज महानगरपालिका कार्यालयमा गत मङ्गलवार कार्यकक्षको विषयलाई लिएर भएको विवाद मत्थर भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई बस्दै आएको कार्यकक्ष सरेर नगरप्रमुख सरेको कक्षमा गएको र प्रमुख प्रशासकीय अधिकृतको पुरानो खाली कार्यकक्षमा पञ्जीकरण शाखा राख्ने क्रममा उपप्रमुख इम्तियाज आलमका स्वकीय सचिव शेख हजराले आफ्नो कार्यकक्ष बनाएपछि विवाद भएको थियो ।

मङ्गलवार सोही विषयलाई लिएर वडाध्यक्षहरू, उपप्रमुख पक्षधर र नगरप्रमुख पक्षधरबीच घम्साघम्सी भएकोमा आज सो विषयमा बसेको बोर्ड बैठकले सुशासन समितिलाई विवादको टुङ्गो लगाउने जिम्मेवारी दिएर विवाद मत्थर पारेको छ ।

दुई घण्टा बढी चलेको बैठकमा वडाध्यक्षहरूले अस्तिको घटनालाई लिएर चर्काे विरोध गरेका थिए । उपप्रमुख आलमले आफूलाई प्रमुख प्रशासकीय अधिकृतले जानकारी नगराएर कार्यकक्ष खाली गरेको र पञ्जीकरण शाखा राख्न खोजेको बताएका थिए ।

नगरप्रमुख सिंहले विवाद सुल्झाउन र उचित निकास दिनका लागि सुशासन समितिलाई सोमवारसम्म प्रतिवेदन पेश गर्नेगरी समयसीमा तोकेका छन् । उनको प्रस्तावमा सर्वसम्मति भएको र सोही अनुसार सोमवार दिउँसो तीन बजे बोर्ड बैठक बस्ने र सोमा सुशासन समितिले प्रतिवेदन पेश गर्ने निर्णय भएको वडाध्यक्ष जयप्रकाश शाहले बताए । सो अवधिसम्म कार्यकक्ष खाली रहने र समितिको प्रतिवेदन अनुसार त्यसपछिका दिनमा के गर्ने भन्ने निर्णय गर्ने बोर्ड बैठकमा सहमति भएको उनले बताए ।

आजको बोर्ड बैठकमा नगरप्रमुख, उपप्रमुख, ३२ जना वडाध्यक्ष र सातजना कार्यपालिका सदस्य सहभागी थिए । एकजना महिला कार्यपालिका सदस्य मात्र अनुपस्थित रहेको वडाध्यक्ष बैजुलाल स्वर्णकारले बताए ।

आजको बोर्ड बैठक अघि महानगरपालिकामा नगरप्रमुख र उपप्रमुख समर्थकहरूको भीड थियो । अस्तिको घटनालाई लिएर हिजोदेखि नै दुवै पक्षका मानिसहरू भिडन्तको लागि तयारी अवस्थामा थिए । सोलाई मध्यनजर गर्दै हिजो प्रहरीले महानगरपालिका कार्यालय आफ्नो सुरक्षा घेरामा राखेको थियो ।

आज बोर्ड बैठकअघि विवाद साम्य पार्नका लागि नेपाली काङ्ग्रेस, पर्साका सभापति जनार्दन सिंह क्षत्रीको घरमा नगरप्रमुख, उपप्रमुखबीच छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here