प्रस, वीरगंज, २८ मङ्सिर/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको लागि सङ्कल्प यात्रा पहाडको विकास र समृद्धि खोज्ने प्रयासका लागि गरिएको बताएका छन् ।
यात्राको क्रममा बिहीवार भोजपुरको पौवादुङमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यो यात्रा पहाडका समस्या र सम्भावना खोज्नका लागि गरिएको बताए ।
उनले कुनै एक ठाउँको मात्र विकास गरेको देश विकास नहुने बताउँदै देश विकासको लागि देशको समग्र भूगोल र क्षेत्रको विकास हुनुपर्ने कुरामा पनि जोड दिए ।
उनले समृद्ध नेपाल निर्माणको खाका एमालेसँग मात्र भएको दाबी गरे । उनले समृद्ध नेपाल निर्माणको लागि नै एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको प्रस्ट्याए । यही कारण एमालेले समृद्ध नेपाल सुखी नेपाली बनाउन मिसन–८४ भनेको बताए ।
उनले देश अहिले गम्भीर सङ्कटमा रहेको बताउँदै देश जोगाउन राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको र त्यो राष्ट्रिय शक्ति एमाले भएको बताए । उनले देशमा राष्ट्रिय शक्ति बलियो बनाउन सकिएन भने देश बर्बाद हुन्छ भन्दै देश बर्बाद भएको एमाले हेरेर बस्न सक्दैन भनी बताए ।
उनले अहिलेको गठबन्धन सरकार अनियमितता, भ्रष्टाचार र नातावादमा चुर्लुम्म डुबेको र कुहिसकेकोले कुनै पनि बेला खस्ने दाबी गरे । अध्यक्ष ओलीले भने– नेपाली काङ्ग्रेस नै यो सरकारसँग आजित भएको र ऊ नै २०८४ सम्म पर्खेर बस्न सक्दैन । उनले जनतालाई निराश नहुन सुझाउँदै निराश हुनुपर्दैन, अगतिलो सरकार बन्यो अब सच्याउनुपर्ने बताए ।
उनले अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको र त्यो एमाले सरकारबाट मात्र सम्भव हुने दाबी पनि गरे ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेललगायतका पार्टीका नेताहरू प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ देखि शुरू भएको यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम छ ।