रामेश्वर मेहता, सिम्रौनगढ, २७ मङ्सिर/

तलब माग गर्दै ५७औं दिनदेखि धर्नामा बसेका सिम्रौनगढ नगरपालिकाका शिक्षकहरू र प्रहरीबीच बुधवार भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजना सर्वसाधारण युवकको मृत्यु भएको छ भने तीनजना वृद्ध, एकजना बालक र १० जना प्रहरी घाइते भएका छन् ।

गत बिहीवारदेखि नगरपालिका अन्तर्गतका ३५ वटै सामुदायिक विद्यालय बन्द गरेर धर्नासहितको आन्दोलन गर्दै आएका शिक्षकहरूसँग आज दिउँसो दुई बजे नगरप्रमुख किशोरीप्रसाद कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई कार्यालयभित्र लैजाने क्रममा विवाद भएको थियो ।

विवादका बीच नगरप्रमुख कलवार कार्यालयमा पसे पनि प्रमुख प्रशासकीय अधिकृत मिश्रसँग शिक्षकहरूको विवाद भएको थियो । सो क्रममा आन्दोलनरत शिक्षकहरूले प्रमुख प्रशासकीय अधिकृत चढेको गाडी तोडफोड गरे । त्यसपछि आक्रोशित शिक्षकहरूले नगरपालिका कार्यालयअगाडि टायर बालेर कार्यालयमा तालाबन्दी गर्न खोजे । स्थिति तनावपूर्ण बन्दै गएपछि दिउँसो दुई बजे जिल्ला प्रहरी कार्यालय, बाराबाट थप प्रहरी बल परिचालित गरियो ।

प्रहरीसँग पनि विवाद भयो, सो क्रममा ढुङ्गामुढा भएपछि प्रहरीले लाठीचार्ज, अश्रुग्याँस प्रयोग गर्नुप¥यो र स्थिति नियन्त्रणमा नआएपछि गोली प्रहार गरेको थियो । गोली प्रहारबाट सिम्रौनगढ नपा–१ ननसगरा निवासी २५ वर्षीय युवक लक्ष्मी मुखियाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

बारा प्रहरीले भने गोलीबाट मुखिया घाइते भएका र उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको जनाएको छ । घटनामा गोली लागेर थप एकजना घाइते भएका छन् । नाम थाहा नभएको ती व्यक्तिको खुट्टामा गोली लागेको छ ।

यसैगरी, ढुङ्गामुढा र लाठीचार्जमा तीनजना वृद्ध र एकजना बालक गरी चारजना घाइते भएका छन् । जिप्रका, बाराका प्रहरी निरीक्षक सोभनविक्रम राणाले विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नपाको आजको घटनामा १० जना प्रहरी घाइते भएको जनाएका छन् ।

सिम्रौनगढ नपाको सामुदायिक विद्यालयहरूमा कार्यरत करार, अस्थायी र बालविकासका शिक्षक, कर्मचारीहरूले १४ महीनादेखि तलब पाएका छैनन् । उनीहरू लामो समयदेखि नपाको गेटमा धर्ना दिंदै आएका थिए । उनीहरूको धर्नामा पाँच महीनादेखि तलब नपाएका स्थायी शिक्षक, कर्मचारीहरूले गत बिहीवारदेखी समर्थन जनाएर आन्दोलनलाई थप ऊर्जा दिएका थिए । स्थायी शिक्षकहरूले सबै सामुदायिक विद्यालयमा तालाबन्दी गरेर साँचो प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएर आन्दोलनमा होमिएका थिए । एक सातादेखि सो नपाका विद्यालयहरूको पठनपाठन बन्द छ ।

आज दिउँसोको घटनापछि दुई घण्टा तनावग्रस्त बनेको नगरपालिका कार्यालय क्षेत्र अहिले पूर्णरूपमा प्रहरीको कब्जामा छ । धर्ना दिएर बसेका शिक्षकहरू हटाइएका छन् । शिक्षकहरूले बिहान १० देखि अपराह्न ४ बजेसम्म धर्ना दिंदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here