प्रस, वीरगंज, २६ मङ्सिर/
मधेस प्रदेशका सदस्यहरूको महत्वपूर्ण योजना अन्तर्गत एकसेएक सडक योजना ठेकेदारका कारण अलपत्र अवस्थामा छन् ।
सङ्घीय सरकारको वित्तीय समानीकरणको रकमबाट मधेस प्रदेश सरकारबाट शिवाको कन्स्ट्रक्सन प्रालिले ठेक्का सकार गरे पनि अहिलेसम्म सरदर १५ प्रतिशत मात्र काम गरेको छ । जबकि यो ठेक्काको समाप्ति अवधि यही पुस मसान्तसम्म छ । ठेकेदार कम्पनीले अहिलेसम्म कामै नगरी बसेको पूर्वाधार कार्यालय, वीरगंजले जनाएको छ ।
पूर्वाधार कार्यालयका प्रमुख इन्जिनीयर दीपक मिश्रले शिवाकोले ठेक्का पाए पनि सो काम पर्सा जिल्लामा पप्पु कन्स्ट्रक्सनमार्फत गराइरहेको बताए । उनले पप्पुलाई समयमा काम सम्पन्न गर्न आफूले पटकपटक ताकेता गरेको तर उसले बेवास्ता गर्दै आएको आरोप लगाए । उनले यसरी अवज्ञा गरिएको कारण आफूले शिवाकोको बैंक ग्यारेन्टी जफतका लागि प्रक्रिया अगाडि बढाइसकेको बताए । उनले अहिलेसम्म १५ प्रतिशत कार्य प्रगति भएको र आगामी पुस मसान्तसम्म कुनै पनि अवस्थामा ठेक्का सम्पन्न नहुने बताए । उनले यस अवधिमा ठेकेदारले एक करोड पेश्की बुझेको तर सो बराबरको पनि काम नगरेको बताए । उनले ठेक्काको काममा ढिला भएको भनेर आफूलाई प्रदेशसभा सदस्यहरूले कार्यालयमा आएर दबाब दिइरहेको बताए । उनले केही प्रदेशसभा सदस्यहरूले समयमा काम सम्पन्न नभए ठीक नहुने भनी आफूलाई धम्की दिएर गएको बताए । कार्यालय प्रमुख मिश्रले ठेकेदारको ढिलासुस्तीले स्थानीय जनता पनि आक्रोशित भएको बताए । उनले कतिपय स्थानमा घरअगाडि नाला निर्माण गर्न खाल्डो खनेर अहिलेसम्म काम नगर्दा आवतजावतमा पनि समस्या भएको र त्यस्ता व्यक्तिहरूले धम्क्याउन थालेको बताए । सडकहरू पनि भताभुङ्ग बनाइएको छ, त्यसबापत पनि अलगबाट गाली खानुपरिरहेको उनले बताए । उनले समयमा ठेकेदारले काम नगर्दा यो योजनाको थप बजेट पनि नआएको बताए ।
पर्सा जिल्लाका आठवटा क्षेत्रमा पाँच/पाँच किलोमिटर सडक कालोपत्र गर्न शिवाको कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।
ठेकेदार कम्पनीले आठवटा क्षेत्रमा ४० किलोमिटर सडक कालोपत्र गर्न रु सात करोडमा ठेक्का सकार गरेकोमा रु एक करोड पेश्की लिइसकेको छ । वीरगंज महानगरपालिका–३२ परसवाको कियासोतपुलदेखि जनता सडक रामजानकी मन्दिर हुँदै रामवनसम्म, वीरगंजको लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्म, रामपुर गण्डक नहरदेखि बहुअर्वा पचरूखी हुँदै हरपुरसम्म, श्रीसिया सीमादेखि ड्राइपोर्ट अठराहा सुगौलीबिर्ता अपौनीसम्म, गुलरिया चोकदेखि वडा कार्यालय हुँदै पटेर्वासुगौली गापा–३ सम्म, धोरे, पकाहामैनपुरदेखि पोखरियासम्म, ठोरी गापा–५ बाघमोर्चा खोलापुलबाट पूर्व सुवर्णपुर डाँडाचोक हुँदै गम्हरिया महादेवपट्टिसम्म, सबैठवादेखि भेडिहारी हरिहरपुर हुँदै गण्डक नहरसम्म ४० किलोमिटर सडक कालोपत्र गर्न शिवाकोले ठेक्का लिएको हो । शिवाकोको नाममा पप्पुले काम शुरू गरेको तर अहिलेसम्म यो योजनाको कुनै पनि खण्ड पूरा गरेको छैन ।
ढोल पिटेर शिलान्यास, चुप्पी साँधेर प्रतिक्रिया
२० महीनाअघि प्रदेशसभा चुनावताका यो सडक निर्माणका लागि तँछाडमछाडको अवस्था थियो । त्यतिखेर चुनावी माहोलमा यो सडक निर्माणका लागि उम्मेदवारहरूले आआफ्नो क्षेत्रमा सडक शिलान्यासका लागि निकै होहल्ला गरेका थिए ।
शिवाकोबाट पेटी कन्ट्याक्टमा काम सकारेका पप्पुले केही दमदार उम्मेदवारहरूको क्षेत्रमा सडक शिलान्यास पनि गराएको थियो । वर्षाको समयमा पनि शिलान्यास गरिएका सडकखण्डहरू अहिलेसम्म निर्माण नभएकोबारेमा न त निवर्तमानले, न त वर्तमान प्रदेशसभा सदस्यहरू प्रतिक्रिया दिने मनस्थितिमा छन् ।
हतारहतार शिलान्यास गरेर चुनाव प्रचार गरेका प्रदेशसभा सदस्यहरू अहिले चुनाव सकिएको २० महीना बितिसक्दा पनि १५ प्रतिशत मात्र काम भएको र बाँकी काम एक महीना अवधिमा सम्पन्न नहुने देखेपछि चुप बसेकोमा सम्बन्धित क्षेत्रका जनता आक्रोशित छन् । अहिले यसबारेमा जनताले प्रदेशसभा सदस्यहरूसँग सोध्दा उनीहरूले ठेकेदार कम्पनी जवाफदेही हुने प्रतिक्रिया दिने गरेको एकजना स्थानीयले बताए ।
चुनावताका आफ्नो प्रयासमा शिलान्यास गरिएको र तोकिएको अवधिमा जसरी पनि सडक कालोपत्र हुने नेताहरूले उद्घोष गरेका थिए ।