प्रस, पर्सागढी, २७ मङ्सिर/

पर्सागढी नगरपालिका–३ मानव आश्रमदेखि आमोदेवी मन्दिरसम्म करीब तीन किलोमिटर सडक कालोपत्रको कामलाई नगरप्रमुख गोकर्ण पाठकले सुचारु गराएका छन् ।

हिजोदेखि तामाकोशी/डीएन्डआर जेभीले सो स्थानमा कालोपत्रे सडक निर्माण गर्न लाग्दा स्थानीयले विवाद सिर्जना गरेपछि ठेकेदार कम्पनीले नगरप्रमुख पाठकलाई निकासका लागि पहल गर्न आग्रह गरेको थियो । नगरप्रमुख पाठक बुधवार सो स्थानमा गएर सरोकारवालाहरूको भेला गराएर विवाद समाधान गरेका थिए । उनले विकास निर्माणको काममा अवरोध नगर्न आग्रह गरे ।

नगरप्रमुख पाठकले नपाका प्राविधिक टोलीले रेखाङ्कन गरिदिएको र सोलाई आधार मानेर ठेकेदार कम्पनीले काम गरिरहेको भन्दै यसमा विवाद नगर्न आग्रह गरे । उनले विकास निर्माणको काममा सबैको साथ र सहयोग आवश्यक हुने बताउँदै कसैप्रति पूर्वाग्रह नगरिने आश्वासन दिए ।

ससाना कुरालाई लिएर विकासका काम अवरोध नगर्न उनको स्थानीयसँग आग्रह थियो । उनले निर्माण कार्य शुरू हुनुअगावै वडास्तरबाट सोबारेमा जानकारी गराइएको बताए । उनले कुनै पनि समस्या आइपरेमा आफू वा नपालाई सोबारेमा जानकारी गराउन आग्रह गर्दै विकासको काममा अवरोध सिर्जना नगर्न सुझाए ।

तीन किलोमिटर सडक कालोपत्र गर्न सवा दुई करोडमा ठेकेदार कम्पनीले सकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here