दिनेश मिश्र, २४ मङ्सिर/
पोखरिया नगरपालिकाको सहयोग र पोखरिया नगरपालिका–६ वडा कार्यालयको आयोजनामा आइतवारदेखि पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिता शुरू भएको छ । पोखरिया नगरपालिकाको शेरा खेलमैदानमा नगरप्रमुख प्रद्युम्न चौहानले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष सीमानन्द चौहानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख रूबी ठाकुर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडाध्यक्ष नौशाद आलम, एमाले पोखरिया नगर कमिटी अध्यक्ष विन्ध्याञ्चल ठाकुर, भगवान दास, सुजित गिरीलगायतको सहभागिता थियो ।

पाँचौं संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा पर्सा जिल्लाका आठवटा पालिका सहभागी छन् । उद्घाटन खेलमा आयोजक पोखरिया नगरपालिका विन्ध्यवासिनी गापासँग एक रनअन्तरले पराजित भयो । टस जितेको विन्ध्यवासिनी गापाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर १८५ रन बनाएको थियो । प्रतिउत्तरमा आयोजक पोखरिया नपाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रन बनाएको थियो । चार ओभरमा ३० रन दिएर चार विकेट लिएका विन्ध्यवासिनी गापाका परवेज आलम आजको खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताको फाइनलमा प्रथम हुनेलाई एक लाख एक हजार र द्वितीय हुनेलाई ५१ हजारसहित नगद, शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । यसैगरी, प्रतियोगितामा उत्कृट हुने खेलाडीलाई नौ हजार, उत्कृष्ट ब्याट्समैन र बलरलाई सात/सात हजार नगदबाट पुरस्कृत गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here