प्रस, वीरगंज, १७ मङ्सिर/
मानवसेवा आश्रम, वीरगंजलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बलेरो गाडी हस्तान्तरण गरेका छन् ।
हाल आश्रम रहेको वीरगंज महानगरपालिका–२५ मा आइतवार एक कार्यक्रममा मन्त्री रिजालले आश्रमका संस्थापक रामजी अधिकारीलाई गाडी हस्तान्तरण गरेका थिए । सो अवसरमा उनले राजनीतिबाट विश्राम लिएपछि आफू पनि मानवसेवा आश्रममा लागेर समाजसेवा गर्ने बताए ।
उनले आफूले आश्रमलाई सवारीसाधन सहयोग गर्ने वाचा गरेअनुरूप व्यवस्थापन गरेको बताए ।
आश्रमका संस्थापक अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, पूर्वअध्यक्ष गणेश लाठ, वयोवृद्ध समाजसेवी पशुपति विक्रम शाह, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजकी प्रमुख रविना दिदी, सामाजिक कार्यकर्ता प्रकाश थारू, नूतन सरावगीलगायतले सामाजिक कार्यमा आश्रमले गर्दै आएको कार्यको प्रशंसा गरे ।
उनीहरूले समय परिस्थिति, पारिवारिक कलह, आर्थिक अवस्था कमजोर भएर सडकमा जीवन व्यतीत गर्दै आएकाहरूलाई आश्रममा स्थान दिएर हेरचाह गरी परिवारसँग पुनर्मिलनलगायतका कार्य गर्नु एकदमै पुण्यको काम भएको बताए । वक्ताहरूले आश्रमले गर्दै आएको सेवाभावबाट धेरैजनाको कल्याण भएको बताए । उनीहरूले सवारीसाधनको अभावमा उद्धार कार्य प्रभावित हुने गरेको र विभिन्न व्यक्ति, संस्थाको सहयोग लिनुपर्ने बाध्यता आगामी दिनमा नहुने र उद्धार कार्यले निरन्तरता पाउने दाबी पनि गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साकी उपाध्यक्ष मधु राणा, प्राडा दीपक शाक्य, वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम, जसपाल सिंह, डा आरके सिंह, रम्भा मिश्र, उषा शाहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण दिवेश मानवसेवाले गरेका थिए ।