• राजेश मिश्र

सन् १९९९ मा पहिलोपटक दिल्ली भ्रमणमा गइरहेको थिएँ । बिहार राज्यको मुजफ्फरपुर रेलवे स्टेशनदेखि लिच्छवी एक्सप्रेसबाट बिहान ६ बजे यात्रा प्रारम्भ भयो । टे«न बेलुका करीब पाँच बजे इलाहाबाद रेलवे स्टेशन पुग्यो । पहिलोपटक इलाहाबाद रेलवे स्टेशनमा केहीबेरको लागि ओर्लिएको थिएँ । इलाहाबाद शहरसँग त्यस बेला साक्षात्कार हुन सकेको थिएन । करीब २४ वर्षपछि पहिलेको इलाहाबाद र अहिलेको प्रयागराजस्थित सङ्गमघाटमा स्नान गर्ने उद्देश्यले पहिलोपटक प्रयागराजमा पाइला टेकें ।

कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा कात्तिक ९ गते शनिवारको दिन वीरगंजबाट बनारस पुगियो । १० गते आइतवारको दिन बनारसको गङ्गातटमा स्नान गरियो । ११ गते सोमवारको दिन प्रयागराजस्थित सङ्गमघाटमा स्नान गर्ने पूर्वनिर्धारित योजना थियो । सोही बमोजिम बनारसको केन्ट बसबिसौनीबाट सरकारी बससेवामार्फत बिहान ४ बजे पत्नी र छोरासहित प्रयागराजको यात्रा प्रारम्भ भयो । बस बनारसदेखि प्रयागराज हुँदै चित्रकुट गइरहेको थियो । भाडादर प्रतिव्यक्ति भारु १९५ तिरें । झन्डै डेढ सय किलोमिटरको यात्रा अढाई घण्टामा तय भयो । कम समयमा लामो दूरी
तय गर्ने श्रेय त्यहाँको सडक सञ्जाललाई जान्छ । भर्खरै उज्यालो हुन लागिरहेको थियो । गङ्गा नदीको पुलमा बस गुड्न थालेपछि शायद प्रयागराज आइपुगेको हो कि भन्ने भान प-यो । यद्यपि बस कन्डक्टरसँग कौतुहलता जाहेर गरें । कन्डक्टरले पारि चुङ्गी चोकको नाम लिंदै त्यहीं ओर्लने सङ्केत गरे ।

चुङ्गी चोकमा ओर्लिसकेपछि एकपटक चारैतिर नजर दौडाएँ । साँच्चीकै प्रयागराजमा आइपुगेको छु कि क्या हो भन्ने आफूले आफैंलाई विश्वास दिलाइरहेको थिएँ । सनातन संस्कृतिको अद्भुत धार्मिक पर्यटकीय स्थलको नाम बाल्यकालदेखि नै सुन्दै आइरहेको छु । शायद त्यसै कारणले होला मन बढी प्रफुल्लित थियो । अचानक छोरा प्रवीण मिश्रको स्वर कानमा ठोक्कियो, “बुबा ईरिक्शामा जाऔं ।” त्यतिखेर अघिपछि र दायाँबायाँ गरी हामी ईरिक्शाको घेरामा थियौं । उनीहरूले, “सङ्गम जाना है ?” भन्दै प्रश्नको बौछार गरिरहेका थिए । अन्ततः एउटा ईरिक्शामा हामी बस्यौं, जसमा एक दम्पती पहिलेदेखि बसिरहेको थियो । ईरिक्शा गुड्यो । विभिन्न स्थानहरूको अवलोकन गर्दै यात्रा जारी थियो । अकबर किलानजीक पुगेपछि चालकले सीधै दक्षिणतर्फ लैजान खोज्दा अघिदेखि बसिरहेको दम्पतीमध्ये पुरुषले भने, “ओ भाइ, उधर किधर लेकर जा रहा है ? इधर से चलो सङ्गमघाट के तरफ ।” ती व्यक्तिमार्फत थाहा भयो कि चालकले जमुना नदीको डिलमा अवस्थित नावघाटतर्फ लगिरहेको थियो । त्यतातिर डुङ्गाहरूको बिसौनी छ । उनीहरूले प्रतिव्यक्ति रु तीन सयदेखि पाँच सय लिएर करीब ५० मिटर पूर्वतर्पm सङ्गमघाटमा पु-याउँदो रहेछन् । चालकहरूले सोबापत केही प्रतिशत कमिशन पाउँदा रहेछन् । ती पुरुषको कारण अकबर किलादेखि ईरिक्शा पूर्वतर्फ मोडियो । सङ्गमघाटभन्दा करीब एक सय मिटर वर हामी ईरिक्शाबाट ओर्लियौं । मैले ती सज्जन पुरुषलाई धन्यवाद दिएँ ।

सुरक्षकर्मीहरू चारैतिर तैनात थिए । केही सुरक्षाकर्मीहरू घोडामा चढेर चारैतिर चक्कर लगाइरहेका थिए । गङ्गा र जमुना नदीको कुनामा सङ्गमघाटमा श्रद्धालुजनको स्नान कार्य जारी थियो । कतिपय श्रद्धालुजन डुङ्गामा सवार भई खोलाको बीच भागमा बालुवाको डिस्को भएको स्थानमा स्नान र अवलोकन हेतु गइरहेका थिए । सङ्गमघाटनजीकै गङ्गाको डिलमा धजा फाटेको थियो । पानीको वेगले जतिखेर पनि डिलका केही भाग गङ्गामा विलीन हुने अवस्था थियो । त्यस कारण जोखिमको सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू श्रद्धालुजनलाई त्यतातिर नजान सूचित गरिरहेका थिए ।

कात्तिक पूर्णिमा स्नानको महत्व

मासानां कार्तिकः श्रेष्ठो देवानां मधुसूदन ।
तीर्थं नारायणाख्यं हि त्रितयं दुर्लभं कलौ ।।

उपरोक्त श्लोकको भावार्थ स्कन्द पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णु र विष्णुतीर्थ जस्तै कात्तिक पवित्र मास हो ।

कात्तिक पूर्णिमाको दिन महादेवद्वारा त्रिपुरासुर राक्षसको वध र भगवान् विष्णुले मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । कात्तिक मासमा भगवान् विष्णुको मत्स्य अवतारमा जलवास हुने भएकोले सङ्गमघाटमा स्नान गर्नको लागि देवलोकबाट देउताहरूको पृथ्वीमा आगमन हुने धार्मिक मान्यता छ । त्यस कारण कात्तिक महीनामा सूर्योदयअघि नदी, तलाउ वा पोखरीमा स्नान–ध्यान–दान गर्ने परम्परा सदियौंदेखि निरन्तर छ । छठ व्रतालुहरू कात्तिक महीनाभरि खोला र पोखरीमा स्नान गर्ने परम्परा छ ।

धार्मिक मान्यता अनुसार कात्तिक पूर्णिमामा गङ्गा नदीमा स्नान गर्दा एक हजारपटक गङ्गा स्नान गरेझंै फल प्राप्त हुन्छ । मानिसको जन्म जन्मान्तरको पाप निवारण हुन्छ । स्वस्थता प्रदान गर्छ । यस दिन गङ्गाको किनारमा अन्न, अर्थ, वस्त्र र न्यानो वस्त्र दान गर्नाले देवी लक्ष्मी प्रसन्न हुने किंवदन्ती छ । कात्तिक ऋतु परिवर्तन हुने मास हो । हिन्दू धर्ममा ऋतुकाल परिवर्तन हुने समयमा गर्न हुने र गर्न नहुने कार्यको मान्यता छ । अनादिकालदेखि वर्जित र अवर्जित तथ्यहरू वैज्ञानिक दृष्टिकोणले पनि अकाट्य छन् ।

कात्तिक महीनामा के गर्ने ?

कात्तिक महीनामा सूर्याेदयअघि उठेर पवित्र नदीको जलले नुहाउने गरिन्छ । यसबाट मोक्ष प्राप्त हुन्छ । पाप धोइन्छ । खाली पेटमा तुलसीका केही पात पानीसँग खाने, तुलसीमुनि दीप प्रज्वलन गरी परिक्रमा गर्ने तथा अन्न, ऊनी वस्त्र, तिल, दियो, अमला आदि दान गर्नाले लक्ष्मीको कृपा प्राप्त हुने मान्यता छ । यो महीनामा मूला, कन्द, गाजर र सखरखण्ड आदि ग्रहण गर्नाले स्वास्थ्यको लागि फलदायी हुने बताइन्छ ।

कात्तिक महीनामा के नगर्ने ?

कात्तिक महीनामा शरद ऋतु शुरू हुन्छ । दुई बदलिंदो मौसमको बीचको समयका कारण यी दिनहरूमा स्वास्थ्यसम्बन्धी समस्याहरू पनि आउन थाल्छन् । यस्तो अवस्थामा भन्टा, दही, मठ्ठा, करैला, जीरा र दाल आदि खान नहुने बताइन्छ । कात्तिक महीनामा श्रीहरि जलमा वास गर्नुहुन्छ, त्यसैले माछा, मासु वा अन्य प्रकारका तामसिक खाद्य पदार्थको सेवन गर्न नहुने ग्रन्थहरूमा उल्लेख छ ।

त्रिवेणी सङ्गम

भारतको उत्तर प्रदेश राज्यस्थित विभिन्न धार्मिकस्थलहरूमध्ये प्रयागराज पनि एक हो । इतिहासकारहरूका अनुसार कालान्तरमा प्रयाग नामले प्रसिद्ध यो गन्तव्य मुस्लिम शासनकालमा इलाहाबाद नामकरण गरिएको थियो । वर्तमान उत्तर प्रदेश सरकारले प्रयागराज भन्ने ऐतिहासिक नाम पुनः प्रचलनमा ल्याइसकेको छ । प्रयागराजको सङ्गमघाटमा प्रत्येक वर्ष कात्तिक पूर्णिमा र माघ महीनामा स्नान गर्ने भक्तजनको घुइँचो लाग्छ । प्रत्येक वर्ष माघ महीनामा कुम्भ, छ वर्षमा अद्र्धकुम्भ र १२ वर्षमा महाकुम्भ मेला लाग्ने गर्छ । कुम्भ मेलामा हजारौं, अर्धकुम्भमा लाखौं र महाकुम्भमा करोडौं भक्तजनको प्रयागराजमा आगमन हुने गर्छ ।

चुङ्गी चौराहादेखि दक्षिणतर्फ झन्डै तीन किलोमिटरको दूरीमा गङ्गा, जमुना र सरस्वती नदीको सङ्गम हुन्छ । चुङ्गी चोकदेखि सङ्गमस्थल पैदल करीब ४५ मिनेट लाग्छ भने ईरिक्शामा जाँदा समय १५ मिनट र भाडा भारु २० रुपियाँ लाग्छ । उत्तरतर्फबाट गङ्गा र पश्चिमतर्फबाट जमुना नदीको सङ्गम हुन्छ । कालान्तरमा प्रवाहित सरस्वती नदी अहिले दृष्टिगत छैन । गङ्गा, जमुना र सरस्वती नदीको यो सङ्गम पूर्वतर्फ अघि बढ्दै बनारस, पटना र सुल्तानगंज हुँदै अन्तमा ब्रह्मपुत्र नदीमा मिल्छ ।

अकबर किला

प्रयागराजस्थित जमुना नदीको उत्तरी डिलमा अकबर किला अवस्थित छ । यस किल्लाको निर्माण मुगल बादशाह अकबरले गरेका थिए । यस कारणले यो अकबर किलाको नामले प्रसिद्ध छ । इतिहासकारहरूका अनुसार यसको जग सन् १५८३ मा राखिएको थियो । त्यस बेला यसको निर्माण अवधि करीब ४५ वर्ष पाँच महीना १० दिन थियो । करीब २० हजार मजदूरले काम गरेका थिए । किलाको कुल क्षेत्रफल ३० हजार वर्ग फुट छ । किला निर्माणको कुल लागत त्यस बखत छ करोड १७ लाख २० हजार २१४ रुपैयाँ थियो ।

सन् १७७३ मा अङ्ग्रेजहरूले यस किलामा आधिपत्य जमाए । सन् १७७५ मा बङ्गालका नवाब सुजाउद दौलासँग ५० लाखमा बिक्री गरे । सन् १९७७ मा नवाब शाजत अली र अङ्ग्रेजबीचको सन्धिपछि किला पुनः अङ्ग्रेजको नियन्त्रणमा आयो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि किलाको नियन्त्रण भारत सरकारमा निहित छ । किलामा पारसी भाषामा एउटा शिलालेख छ, जसमा किला स्थापनाको वर्ष सन् १५८३ उल्लेख रहेको पाइन्छ ।

यस किलामा पातालपुरी, अक्षयवट, अशोक स्तम्भ आदि विभिन्न स्थानहरूको अवलोकन गर्न सकिन्छ । किलाभित्र पातालपुरीमा ४४ देवीदेवताका मूर्ति स्थापित छन्, जहाँ भक्तजनहरूको ओइरो लाग्छ । किलाको माथिल्लो भागमा सुगा, परेवा आदि चराचुरुङ्गीको चिरबिर सुन्न सकिन्छ । किलाको दक्षिणतर्फको ढुङ्गाको विशाल पर्खालमा जमुना नदीका छाल ठोक्किइरहन्छन् ।

महाकुम्भको तयारी

आगामी सन् २०२४ मा लाग्ने महाकुम्भ मेलाको तयारीले अहिलेदेखि नै तीव्रता पाएको छ । चुङ्गी चोकदेखि करीब तीन किलोमिटर उत्तरतर्फ सिविल लाइन क्षेत्र पर्छ । यो क्षेत्र प्रयागराजको सफासुग्घर क्षेत्र हो । माघ महीनामा कुम्भ मेला लाग्ने हुनाले सोको तयारी कात्तिक पूर्णिमाअघिदेखि नै थालनी हुन्छ । आगामी माघ महीनामा महाकुभ्म मेला लाग्ने भएकोले कुम्भमेला प्राधिकरणद्वारा अहिलेदेखि नै व्यवस्थापनको कार्य दु्रत गतिमा भइरहेको छ । कुम्भ मेलाको अवसरमा व्यवसायीहरू टाढाटाढाबाट प्रयागराज आउने क्रम जारी छ । अहिले विभिन्न प्रकारका पसलहरूको अस्थायी निर्माण कार्य जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here