• डा शिवशंकर यादव

पाठकृन्द, उपरोक्त विकार पनि एक प्रकारले पर्सनालिटी डिजार्डर नै हो तर यसलाई किन आदत र आवेगी वा बनावटी भनियो भने यो मानिसको सानोतिनो आदत बन्छ र मानिस बढी सोचनीय हुँदैन । तपाईंलाई पनि थाहा होला कि कसैकसैलाई आवश्यक नभए पनि कुनै न कुनै कुरा चोर्ने बानी नै हुन्छ । मेरो गाउँमा एक महिला थिइन्, जसले बजारबाट बच्चाको लागि सनेस किनेर होइन चोरेर ल्याउँथिइन् । तरकारी किन्ने बेला एउटा गोलभेंडा हातको सफाइले चट गरिदिन्थिइन् । कसैले कुनै कुरा अ¥हाए त्यो काम त गरिदिन्थिइन् तर केही सानो कुरा चोरी हाल्थिइन् । घाँस, दाउरा गर्दा कसैको फसल पनि डोलामा हाल्थिइन् । कसैकसैको केही न केही चोरी गर्थिइन् । मानिसले समातेर पनि हाँसेर छोडिदिन्थे र भन्थे जान दिनुस् उसको त बानी नै यस्तो छ । मैले कुनै पत्रिकामा पढेको थिएँ कि कुनै राजदूतले विदेशको कुनै किताबपसलमा किन्नेबाहेक पनि एउटा किताब चोरी गरेका थिए, जसमा धेरै बवाल मचेको थियो । त्यस राजदूतको जीवनी खोतल्दै जाने उपक्रम गरिन्थ्यो भने प्रतिष्ठित पदमा रहे पनि उनी उपरोक्त विकारले ग्रसित भएको पत्ता लाग्थ्यो होला । तपाईंलाई थाहा छ कि छैन ? कुनै कुनै मानिससँग तपाईंको भेट सधैं अस्पतालमा नै हुन्छ । किन हुन्छ यस्तो ? किनभने ऊ व्यक्ति यही बनावटी विकारसित ग्रसित भएको हुन्छ । निश्चय नै यो कुनै मन्त्री जेल जानबाट बच्नको लागि अस्पतालमा भर्ना हुने जस्तो होइन । यसमा रोगी आफ्नो बिमारीको वशमा भएर यस्तो गर्छ र नाना प्रकारका बहाना बनाएर चिकित्सकलाई भर्ती गर्नको लागि दबाब दिन्छ । छोटकरीमा यही हुन् उपरोक्तको विकृतिको सङ्क्षेप । अब आउनुस् यसको वर्णनात्मक छोटकरीमा ।

आदत र आवेगी विकृति वा हैबिट एन्ड इम्पल्स डिजार्डर : यो यस्तो आदतको रोग हो, जसलाई मानिसले छोड्न सक्दैन । यसैलाई भनिन्छ कि मानिस आफ्नो आदतले मजबुर छ के गर्ने ? किन मजबुर छ त ? यस मजबुरीको कारण यो हो कि आदतन भएको काम सम्पन्न गर्नुभन्दा पहिले मानिसभित्र तनावको एक संवेग पैदा हुन्छ र काम सम्पन्न गरेपछि मानिसले आनन्द महसूस गर्छ । याद राख्नुस्, यो कुनै गाँजा, भाङ्ग वा रक्सीजस्तो भौतिक कुराको होइन, बरु मानसिक कारणको उपज हो । यो पनि एक व्यक्तित्व विकारको हल्काफुल्का रूप नै हो । यसमा आउँछन्, गैम्वलिङ अर्थात् जुवा, पाइरोमैनिया, क्लेप्टोमैनिया, ट्राइकोटिलोमैनिया र इन्टरमिटेन्ट एक्सप्लोसिभ डिजार्डर । यी सबैमा नै रोगीमा एक आवेग पैदा हुन्छ, जसलाई उसले नियन्त्रण गर्न सक्दैन ।

जुवाः हामी सबैलाई थाहा छ कि जुवा कति खराब कुरा हो । पूरा महाभारत नै जुवा र शकुनिको वरिपरि घुम्छ तापनि मानिस यसलाई छोड्न सक्दैन । जो आवेग उसभित्र पैदा हुन्छ, त्यसको निकास उसले जिते वा हारे पनि जुवाबाट गर्छ । मानिसलाई थाहा छ कि ऊ बारम्बार हारि नै रहेको छ, तापनि किन छोड्दैन ? हामीले सोच्ने गर्छाैं कि उसले जित्ने आशामा खेलिरहन्छ । तर यो सत्य होइन । सत्य यो हो कि आवेगले उसलाई मजबुर पारिदिन्छ ।

पाइरोमैनियाः तपाईंलाई लाग्छ होला कि यो पनि कुनै रोग हो ? तर यो एक गहिरो मानसिक रोग हो । यसमा मानिस आवेगको वशीभूत भएर आगोले कपडामा प्वाल बनाउँछ, फर्निचरमा आगोको निसान बनाउँछ र बढी ईष्र्या र द्वेष छ भने दुश्मनको घरमा समेत आगो लगाइदिन्छ । तर यस्तो कार्य गर्नमा उसको कुनै खास उत्प्रेरणा हुँदैन । ग्रीक भाषामा पायरको अर्थ फायर (आगो) र मैनियाको अर्थ मैडनेस (पागलपन) हुन्छ । त्यसैले यसको नाम पाइरोमैनिया राखियो । यसको कारक बालपनमा पाएको दुत्कार र अपहेलना हो ।

क्लेप्टोमैनियाः यसको परिचय मैले माथि नै दिइसकेको छु । मेरो गाउँमा एक महिला थिइन्, जो अहिले बितिसकेकी छन् । उनलाई कुनै पनि सानोतिनो वस्तु चोरी गर्ने बानी यस्तो थियो कि गाउँलेहरूले पनि त्यसलाई सामान्य मान्थे र हाँस्न थाल्थे । कसैको तरकारी वा कसैको घर जाँदा खुर्पी, हँसिया वा जे पायो त्यही चोर्ने गर्थिइन् । यही क्लेप्टोमैनिया हो, जसमा मानिस आफ्नो आवेगको वशमा हुन्छ र चोरी गरेपछि हलुका महसूस गर्छ । उपरोक्त राजदूतको कुरामा पनि उनी क्लेप्टोमैनियाको शिकार भएका थिए होलान् ।

ट्राइटिलोमैनियाः चिलाउने रोग हुन्छ, सबैले चिलाउँछन् । कपाल सेतो भयो वा चाया भयो भने कसैकसैले कपाल उखेलेको पनि देखिन्छ । तर कसैकसैमा कपाल सेतो वा चाया नभए पनि आफ्नै कपाल उखेल्ने यस्तो बानी हुन्छ कि मानिस बाल्ड अर्थात् मुडलो नै हुन्छ र पनि छाड्दैन किनभने ऊ कपाल उखेल्ने आफ्नो आवेगलाई रोक्न सक्दैन ।

इन्टरमिटेन्ट एक्सप्लोसिभ डिजार्डर : यसमा मानिस विनाकारण रिसाइरहन्छ र आइमाई यसको बढी शिकार हुन्छिन् । यसको कारण पतिद्वारा दुत्कार्ने र अपहेलित हुनु हो । बालपनमा अपहेलनाको शिकार हुनु पनि यसको कारण हो ।

उपरोक्त वर्णित सबै डिजार्डरको उपचार : एभर्सन अथवा उल्टाउने थेरापी, कग्निटिभ र व्यक्तिगत साइकोथेरापी हुन् । कहिलेकाहीं कार्वामाजिपिन नामक औषधि इन्टरमिटेन्टली र फ्ल्युक्सटिन पेरिओडिकली पनि दिने गरिन्छ । इन्टरमिटेन्टलीको मतलब हुन्छ, केही समय रोकेर फेरि त्यही औषधि दिने र पेरिओडिकलीको मतलब कहिलेकाहीं दिने हुन्छ ।

बनावटी विकार वा फेक्टिसियस डिजार्डर : यस विकृतिलाई मन्चौसेन सिन्ड्रोम, अस्पतालमा बसिरहने बानी, प्रोफेशनल रोगी वा पोलिसर्जिस पनि भनिन्छ । जर्मनीमा ब्रोन मन्चौसेन नामक एक कुलीन थिए, जसले झूटो कहानी पनि यति विधि र कुशलतापूर्वक बयान गर्थे कि सत्यजस्तै लाग्थ्यो । उसले कथेका कथाहरूको सङ्ग्रहको किताब पनि प्रकाशित छ । त्यस कारण यस रोगलाई उनैको नाममा विभूषित गरिएको छ । यसमा रोगीले यति वाकपटुताले रोगको कहानी बताउँछ कि चिकित्सकले पनि प्रभावित भएर उसलाई भर्ती गर्छ । तर त्यहाँ उपचार नै नगराइ ऊ भाग्छ, जसलाई चिकित्सकले लामा गएकोमा सूचीबद्ध गरेर उसको उपचार चार्टलाई बन्द गर्छ । त्यसपछि ऊ अर्को चिकित्सककहाँ पुग्छ र त्यहाँ पनि आफ्नो वाकपटुताले भर्ती गराउन बाध्य पार्छ । फेरि त्यही लामाको कहानी त्यहाँ पनि दोहो¥याउँछ र तेस्रो चिकित्सककहाँ जान्छ । त्यहाँ उसले पहिलेको चिकित्सक र जाँचबुझको परिणामलाई आफ्नो वाकपटुताले झूटो साबित गर्छ । भन्न परोइन कि यस्ता रोगीले मेडिकलका केही कुरा जानेका हुन्छन्, जसरी कुनै नर्स, अहेब वा अर्को मेडिकल प्रोफेसनमा रहने व्यक्ति र कम्पाउन्डर आदि । यहाँ रोगीले बहाना बनाएको हुँदैन । बहाना बनाउने रोगलाई मेलेन्जरिङ भनिन्छ, जुन दण्डसजायबाट बच्नको लागि गरिन्छ । तर यहाँ रोगीमा केही शारीरिक, मानसिक वा दुवै लक्षण पनि पाइन्छन् । जसरी पेटको दुखाइ जसमा रोगी बारम्बार शल्यक्रिया गरिदिनको लागि अनुरोध गर्छ । चिकित्सकले पनि शल्यक्रिया गरिदिन्छ कि शायद त्यसले रोग ठीक भइहालोस् । यसो गर्दागर्दा उसको पेटमा शल्यक्रियाको निसानैनिसान भरेको हुन्छ, जसलाई ग्रीन आयरन एब्डोमेन भनिन्छ । मैले आफ्नो क्लिनिकमा यस्तो एउटा रोगी देखेको थिएँ । यस्तो रोगीमा औषधि खाइरहने बानी पनि पाइन्छ, जुन अक्सर चिकित्सकले लेखिदिएका औषधिमध्येका नै कुनै औषधि हुन्छ । यसको असली कारण प्रस्ट छैन । अक्सर यो मेसोचिस्टिक मानिसमा पाइन्छ जसको बालपन अपहेलनामा बितेको हुन्छ । पीडा दिएर सेक्सुअल आनन्द प्राप्त गर्ने मानिसलाई सैडिस्ट र यसको विपरीत पीडा खाएर सेक्सुअल आनन्द लिने व्यक्तिलाई मेसोचेस्ट भनिन्छ । यसको उपचार सफल हुँदैन । चिकित्सकले यसको पहिचान गरेपछि रोगीमाथि रिसाउनु र उसलाई झूटो साबित गर्नुहुँदैन ।

यस्ता रोगी सहानुभूतिका पात्र हुन्छन् र अक्सर आफूले नै आफ्नो शरीरमा घाउ गरेर चिकित्सककहाँ पुग्छन् । शल्यक्रिया गर्न भनेपछि अवश्य शल्यक्रिया गर्नुहुँदैन तर सहानुभूतिपूर्वक सम्झाएर । अस्तु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here