अन्नपूर्ण (कास्की) १५ मङ्सिर/रासस
मदन भण्डारी स्पोट्र्स एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।

शुक्रवार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टीम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त ग-यो । उपविजेता बनेको आर्मीले रु अढाई लाख, शिल्ड, पदक र प्रमाणपत्र पायो ।

पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १२४ मात्र बनाउन सक्यो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६/१६ रन बनाए । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए ।

बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिए । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पारे । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर साहले २७, हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोडेका थिए । पवन सर्राफले नौ, इम्रान शेखले आठ, अनिल शाहले छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले तीन/तीन, सोमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ बनेका मधेस प्रदेशका हरिशङ्कर साहले रु ३० हजार प्राप्त गरे ।

प्रतियोगिताभर १० विकेट लिएका बाग्मती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिए । बाग्मती प्रदेशकै रीत गौतम ‘बेस्ट ब्याट्सम्यान’ बने । उनीहरूले रु २०/२० हजार पुरस्कार प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here