प्रस, सेढवा, १० मङ्सिर/
पर्साको ग्रामीण भेगमा रहेका पाँचवटा शक्तिपीठहरूमा आइतवार रातिदेखि पूर्णिमाको मेला शुरू भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष चतुर्दशीका दिन रातिदेखि यहाँका शक्तिपीठहरूमा मेला लाग्दै आएको छ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित बाघमोर्चामाई, जीराभवानी गापा–५ को सुगीभारमाई मन्दिर, पटेर्वासुगौली गापा–१ स्थित गादीमाई मन्दिरमा मेलाको तयारी पूरा भइसकेको छ।
यसैगरी, सखुवाप्रसौनी गापा–१ स्थित कोइलाभार मन्दिर र पर्सागढी नगरपालिका–३ स्थित आमादेवी मन्दिरमा मेलाको तैयारी पूरा भइसकेको स्थानीयले बताएका छन्। आज साँझ दीप प्रज्वलन गरी शक्तिपीठहरूमा भक्तजनहरूले पूजा अर्चना गरे। राति लाग्ने मेलाको सुरक्षा व्यवस्थाका लागि जनपद प्रहरी तथा स्वयंसेवकहरू परिचालन गरिएको सुगीभारमाई मेला व्यवस्थापन समितिका सदस्य मुक्तिनारायण चौधरीले बताए।
मेलाको भोलि सोमवार पूर्णिमाको दिन बिहानदेखि मन्दिरमा बोका, हाँस, कुखुरालगायतको बलि चढाउने प्रचलन रहेको सुगीभार मेला व्यवस्थापन समिति सदस्य चौधरीले जानकारी गराए। थारू परम्परा अनुसार विवाह भएको एक वर्षपछि बेहुला र बेहुलीले लगाउने मौर र मौरीलाई आइतवार राति स्थानीय शक्तिपीठहरूमा चढावन गरिएको थियो।
पूर्णिमाको मेला एक रातको लागि लाग्ने गर्छ भने बाघमोर्चामा मात्र यो मेला एक साताको लागि लगाइने गरिन्छ।