प्रस, निजगढ, ९ मङ्सिर/
आफ्नो पार्टीको मुख्य एजेन्डा भ्रष्टाचारीलाई कारबाही गरी देशमा सुशासन र विकास गर्ने रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले बताएका छन्।
मधेस प्रदेश भ्रमणका क्रममा बाराको निजगढमा हिजो आयोजित सभामा उनले दशकौंसम्म नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका ठूला राजनीतिक दलका जिम्मेवार नेताहरूले व्यापक भ्रष्टाचार गरेकै कारण देश अहिले आर्थिक मन्दीबाट गुज्रिन बाध्य भएको आरोप लगाए। अध्यक्ष लामिछानेले प्रत्येक घरबाट युवा शक्ति नचाहेरै पनि विदेशिन विवश भएको र यसको जिम्मेवार ठूला दलहरू भएको आरोप पनि लगाए।
हरेक काममा नीतिगत भ्रष्टाचार हुने गरेकाले यसलाई जरैबाट उखेलेर नफालेसम्म देशले सही गन्तव्य पहिल्याउन नसक्ने र आम जनताले सुख र खुशीको सास फेर्न नपाउने उनले बताए।
मङ्सिर ७ गतेबाट जनविद्रोहका नामले काठमाडौंमा दुर्गा प्रसाईंले शुरू गरेको विद्रोह आफ्नै किसिमको होला तर काठमाडौं आएका सर्वसाधारणलाई प्रहरीले पक्राउ गर्दा सरकारप्रति आफूलाई लज्जाबोध भएको उनले टिप्पणी गरे। उनले आम नागरिकलाई सुरक्षा दिने काम राज्यको भएको बताउँदै ठूला दलहरूले सही ढङ्गले देश चलाएका भए आज विरोधका स्वरहरू गुञ्जने अवस्था नआउने दाबी पनि गरे। गलती गर्नेहरूले डराएर विरोधका स्वरहरू दबाउने प्रयास गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, शेरबहादुर देउवाले फेरि पनि भागबण्डामा शासनसत्ता चलाउने हो भने देश र जनता बर्बादीतर्फ धकेलिने उनले ठोकुवा गरे। सरकारका कतिपय नीतिनियमप्रति आफ्नो दलको विमति रहेको उनले बताए। उनले भ्रष्टाचारीहरूलाई कारबाही गरी देश र विदेशमा आफन्तका नाममा राखेका अकुत सम्पत्ति राज्यले जफत गरी देश विकासको काममा लगाउन सक्ने आधारहरू रहेको बताए।
कृषि उत्पादन र बजारीकरणमा सरकारले ध्यान नदिंदा स्वदेशमा उत्पादित दूध, तरकारी, फलफूल सडकमा नै फाल्नुपर्ने अवस्था किसानहरूलाई आएको उनले बताए। यहाँ नेताहरूलाई देश र जनताको चिन्ताभन्दा पनि आगामी सात पुस्तासम्मको बढी चिन्ता भएकाले डरलाग्दोरूपमा भ्रष्टाचार बढिरहेकोले देश बर्बादीतर्फ गएको उनको जिकिर थियो। काण्डैकाण्डमा ठूला दलका नेताहरूले अकुत सम्पत्ति आर्जन गर्दै उद्योग–व्यवसायमा लगानी गरेको उनले आरोप लगाए।
संसद्मा आफ्नो दलका प्रतिनिधिहरूले देश र जनताको पक्षमा जोडदार आवाज उठाइरहेको उनले बताए। कार्यक्रममा रास्वपाका सांसद डिपी अर्याल, मनीष झा, रमेश खरेल, चन्दन स्वर्णकार, अशोक चौधरी, अनिलकेशरी शाह, तपेश्वर यादव, ममता शर्मा, नेत्र कार्कीलगायतले मन्तव्य राखेका थिए। निजगढ नगर कमिटी अध्यक्ष रामहरि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दीपक खड्काले गरेका थिए।
प्रस, रौतहट/
यसैगरी, रौतहटको गौर राइस मिलमा शनिवार आयोजित कार्यक्रममा अध्यक्ष लामिछानेले मधेसी जनताको आकाङ्क्षा पूरा गर्न नसक्ने नेताहरूलाई मधेसले पालिरहेको आरोप लगाए। उनले विभिन्न कालखण्डमा मधेसका जनताले इतिहास कायम गरे पनि सोको उपलब्धि नेताहरूले मात्र पाउँदै आएको बताए। मधेसप्रति इमानदार नभएका नेताहरू चुनावमा जितेर गए पनि बाढी आउँदा मधेसको जनतालाई बिर्सेको उनले आरोेप लगाए। रास्वपा मधेसप्रति वफादार छैन भन्ने आरोप लागिरहँदा आरती साहलाई न्याय दिलाउन रोस्टममा आफूले आवाज उठाएको दाबी गरे। मधेस आन्दोलनमा शहीद भएकाहरूको सपना पूरा हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उनले टिप्पणी गरे। उनले रास्वपा जनतालाई अगाडि राखेर आन्दोलन गर्ने दल नभएको भन्दै दलका नेतालाई अगाडि राखेर आन्दोलन गर्ने दल भएको दाबी गरे। उनले न्यायका लागि कसैले शहीद तथा घाइते हुनुपर्दैन, निर्वाचनमा मत दिए मात्र पुग्ने बताए।