प्रस, निजगढ, ९ मङ्सिर/
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शनिवारदेखि निजगढमा शुरू भएको छ। विभिन्न खाले लैङ्गिक हिंसाको अन्त्य भई नगर सुरक्षित, शान्त, भयरहित रहोस् भन्ने कार्यक्रमको उद्देश्य रहेको निजगढ नगरपालिका प्रमुख सुरथ पुरीले बताए। उनले बोली, व्यवहार, आचरणले पनि समाजमा हिंसामा पर्नेहरू रहेका भन्दै खुलेर बाहिर नआएका घटनाहरू धेरै हुन सक्ने भएकाले सबैले मिलेर न्यूनीकरण गर्नुपर्ने बताए।
प्रत्येक वर्ष अभियानका रूपमा गरिने कार्यक्रमलाई सफल बनाउन सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने, कोही पनि लैङ्गिक हिंसाबाट पीडित हुन नपरोस्, यदि यस्ता खाले हिंसाबाट कोही पीडित छन् भने सामाजिक र कानूनी उपचारबाट दण्डित गरी न्यूनीकरण गर्न सकिने उपप्रमुख सोममाया थिङले बताइन्।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौला, समाजसेवी सुदर्शन कोइराला, अञ्जु नेपाली, चन्द्रिका पुलामीलगायतले मन्तव्य राखेका थिए।
निजगढ नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण रोजी श्रेष्ठले गरेकी थिइन्।