प्रस, वीरगंज, ९ मङ्सिर/
वीरगंज महानगरपालिका–१० घडीअर्वा पोखरीमा शनिवार लायन्स क्लब अफ वीरगंज क्युरेटिभ तथा किरण आँखा अस्पतालको आयोजनामा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नागरिकहरूमा मधुमेह, रक्तचाप तथा आँखासम्बन्धी रोगको समस्या बढी देखिएकाले शिविर आयोजना गरिएकोमा डेढ सयजनाले सेवा लिएको क्लबका संरक्षक डा रामअवतार खेतानले बताए।
नारायणी अस्पतालका डा नीरज सिंहले घरबाट टाढा जाँच गराउनुपर्ने बाध्यता तथा महँगो शुल्क तिर्न नसकेका ज्येष्ठ नागरिकहरूका लागि निश्शुल्क शिविरको आयोजनाले धेरै सहयोग पुग्ने बताए। सेवामुखी भावनाले आयोजना गरिएको शिविरलाई क्लबले निरन्तरता दिने उनले बताए।
महँगो शुल्क तिर्न नसकेर मधुमेहको चेकजाँच नै नगराएका नागरिकहरूले निश्शुल्क जाँच गराउन पाउँदा खुशी लागेको र यस्ता कार्यक्रमले निरन्तरता पाए कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने नन्दु साह कानूले बताए।
शिविरमा डा सुमन प्रसाद, डा अभिषेक अर्याल, डा राधा भट्टराई, डा इजहारले चेकजाँच गरेका थिए भने टेक्निसियन रवि श्रीवास्तव, बृजेश कुमार, श्याम साहले प्राविधिक सहयोग गरेका थिए।
त्यसैगरी, दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा थारू सेवा सदनको आयोजनामा शनिवार पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा ५५ जनाको नाक, कान र घाँटी तथा ११८ जनाको आँखा परीक्षण गरिएको दृष्टि आँखा अस्पतालका अध्यक्ष विश्वराज गौतमले बताए। शिविरमा स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई निश्शुल्क औषधि वितरण गरिएको उनले बताए। कार्यक्रममा दृष्टि विशेषज्ञ मुकेश यादव, स्मृति चौधरी, संस्थाका सचिव रैफु शाहलगायतको सहभागिता थियो।
यसैगरी, बाराको विश्रामपुर गाउँपालिकाको वडा नं ५ इटियाहीमा निश्शुल्क आँखा एवं दन्त परीक्षण शिविर सम्पन्न भएको छ। बारा डिस्टिलरीका सञ्चालक अजय प्रजापतिको पहलमा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया र वीरगंज सामुदायिक आँखा अस्पतालको आयोजनामा सम्पन्न शिविरमा चार सयजनाको आँखा परीक्षण भएको आँखा अस्पतालका नेत्र अधिकृत महेशसिंह धामीले बताए। शिविरमा १५० जनाको दन्त परीक्षण पनि भएको धामीले बताए। आँखा परीक्षण गरिएकामा १२५ जनामा मोतीबिन्दु फेला परेको थियो।
शिविरको उद्घाटन मधेस प्रदेशका पूर्व खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्माले गरेका थिए भने कार्यक्रममा विश्रामपुर गापाका अध्यक्ष जुबैर अन्सारी, पत्रकार ओमप्रकाश खनाललगायतको सहभागिता थियो।
मोतीबिन्दु फेला परेकाहरूको बारा डिस्टिलरीका सञ्चालक प्रजापतिले निश्शुल्क प्याथोलोजी चेकजाँचसहित निश्शुल्क शल्यक्रिया गराउने नेत्र अधिकृत धामीले बताए।