प्रस, रौतहट, ९ मङ्सिर/

मैथिली भाषाका महाकवि विद्यापतिको जन्मोत्सव शनिवार गौर नगरपालिका–३ मा मनाइएको छ। कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका प्रमुख शम्भु साहले धर्मको नाममा राजनीति नगर्न आग्रह गरे।

विद्यापति को हुन् भन्ने आफूलाई थाहा नभएको बताउँदै उनले कहिलेकाहीं विद्यापतिनगरमा आउँदा सालिक मात्र हेरेको बताए। उनले सबैको चाहना भए सालिकनजीक शनिदेवको स्थापना गर्ने बताए।

उनले विद्यापतिको नाममा सङ्ग्रहालय बनाउने घोषणा पनि गरे। सङ्ग्रहालयका लागि सबै एकजुट हुन आह्वान पनि उनले गरे।

कार्यक्रममा पूर्वप्रधानाध्यापक गौरीकान्त मिश्रले विद्यापतिको चरित्र तथा आचरणको वर्णन गरेका थिए। त्यस्तै, पूर्वप्रधानाध्यापक श्रीनारायण मिश्रले विद्यापतिको श्लोक वाचन गरेर सुनाएका थिए। वाचस्पतिनगरका सुधीर ठाकुरले विद्यापतिको स्मरण गर्न मनमस्तिष्कमा याद गर्नुपर्ने श्लोक प्रस्तुत गरेका थिए। सोही क्रममा नगरप्रमुख साह र पूर्वप्रअ मिश्रलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो।

विश्वम्भर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता देवचन्द्र मिश्रले विद्यापति र भोले बाबाको कथा सुनाएका थिए। विद्यापतिको जन्म ईस्वी संवत् १३५२ मा भएको थियो भने उनको देहान्त ईस्वी संवत् १४४८ मा भएको थियो। उनको जन्म भारतको मधुवनी जिल्लामा भएको थियो। सो बखत मधुवनी जिल्लामा मुस्लिम साम्राज्य थियो।

प्रस, वीरगंज/

यसैगरी, मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस शनिवार वीरगंजमा पनि मनाइएको छ। विद्यापतिको देहावसान भएको कार्तिक त्रयोदशीको दिन विद्यापति स्मृति दिवस मैथिलीभाषीहरूले आयोजना गर्दै आएका छन्। वीरगंज महानगरपालिका–१६ रजतजयन्ती पार्कस्थित महाकवि विद्यापतिको प्रतिमामा माल्यार्पण तथा स्मृति कवि गोष्ठीको आयोजना गरी मनाइएको हो।

मैथिली कवि तथा नापी कार्यालय, पर्साका प्रमुख राकेशकुमार झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा विश्वम्भर शर्मा, मैथिली साहित्य परिषद्, वीरगंजका अध्यक्ष महेश दास, अमृत चिन्तन प्रतिष्ठानका अध्यक्ष भगवान मिश्र, कवि सतीशचन्द्र सजल, परिषद्का उपाध्यक्ष कालीकुमार कर्ण, सचिव शोभाकान्त झालगायतले महाकवि विद्यापतिको जीवन र मैथिली भाषामा उनको रचना तथा योगदानबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम मैथिली साहित्य परिषद् र अमृत चिन्तन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको थियो। मैथिली साहित्य र भाषाको उत्थानको लागि हरेक महीनाको पहिलो शनिवार चित्रगुप्त मन्दिरमा मैथिली कवि तथा साहित्य गोष्ठी गरिने सचिव शोभाकान्त झाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here