प्रस, वीरगंज, ८ मङ्सिर/

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं सांसद रवि लामिछानेले मधेससँग राज्यले विभेद गरेको आरोप लगाएका छन्। वीरगंजमा आयोजित कार्यक्रममा अध्यक्ष लामिछानेले शिक्षा, स्वास्थ्य, विकासका काममा मधेसमाथि विभेद भएको आरोप लगाए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा खुट्टा टेकेको र अब मधेसको विकासमा लागिपर्ने बताए। उनले आफू सञ्चारकर्मी हुँदा मधेसबाट वैदेशिक रोजगारका लागि विदेशिएकाहरूलाई स्वदेश फर्काउन प्रभावकारी भूमिका निर्वाह गरेको दाबी गरे। उनले मधेसको १३६ वटै पालिकामा पार्टीको साङ्गठनिक संरचना वृद्धि गर्ने र आगामी २०८४ को निर्वाचनमा मधेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीमय बनाउने अभियानमा लागिपरेको बताए। अध्यक्ष्F लामिछानेले मधेस अहिले नेता उत्पादन गर्ने कारखानाको रूपमा देखिएको तर रोजगार दिने यहाँका कलकारखानाहरू बन्द हुँदा त्यसलाई खोलाउनेतर्फ कुनै पनि नेताले पहल नगरेकामा दुःख व्यक्त गरे। उनले रोजगार सिर्जना हुने उद्योग, कलकारखाना सञ्चालन गर्ने र आगामी दिनमा नेता उत्पादन गर्ने उद्योग मधेसबाट बन्द गर्नुपर्ने र यसो गरेको खण्डमा मधेसले समृद्धि हासिल गर्ने बताए।

अध्यक्ष लामिछानेले आर्थिक नगरीको रूपमा चिनिएको वीरगंजको व्यापार अवस्था अहिले डगमगाएको र यसको संरक्षणमा सरकारले ध्यान नदिएको बताए। उद्योग, कलकारखानाहरू बन्द भएका र रोजगारको समस्या विकराल भइरहेकामा यसतर्फ सरकार उदासीन रहेको उनको आरोप थियो। अहिले देशमा गणतन्त्र, लोकतन्त्र, राजतन्त्रको कुरा भइरहेको तर अर्थतन्त्रको सवालमा कुनै पनि पार्टी खरो नदेखिएको बताए। उनले रास्वपा अर्थतन्त्रको सवालमा दृढ रहेको र यसको सुदृढीकरणको लागि हरसम्भव प्रयास गर्ने बताए।

रास्वपा, पर्साका संयोजक दिलीप कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवं सांसद बिपी अर्याल, सांसद मनीष झा, केन्द्रीय सदस्य दीपक बोहोरा, पर्साका उपसंयोजक तुलसी अधिकारी, हरि पन्त, मुरली जालान, शेखर अग्रवाल, सोहेब अनवरलगायतको सहभागिता थियो। कार्यक्रमअघि अध्यक्ष लामिछानेले बिपी उद्यानमा रहेको मधेसी शहीद पार्कमा माल्यार्पण गरेका थिए।

प्रस, सिम्रौनगढ/

बाराको सिम्रौनगढ नगरपालिका–७ बसपार्कमा रास्वपाले आयोजना गरेको जनसभामा अध्यक्ष लामिछानेले सिम्रौनगढमा कस्तो जादु चल्यो कि घण्टीको मत अर्कोमा खस्न पुग्यो भनी जिज्ञासा राखे।

उनले जबसम्म यहाँको जनतामा यस प्रकारको जादु चलिरहन्छ, तबसम्म यहाँको जनता झनै गरीब हुने बताए। उनले भने, “तपाईंको पैसा तपाईंलाई नै बाँडेर तपाईंमाथि अन्य नेताहरूले जादु चलायो, यही कुरा सम्झाउन म यहाँ आएको हुँ।”

उनले दुर्गा प्रसाईंको राजनीतिक मुद्दामा आफ्नो सहमति नभएको बताउँदै गरीब जनताको ऋण र चर्को ब्याज मिनहाको लागि प्रसाईंले गरिरहेको आन्दोलनको सराहना गरे।

 रास्वपा, सिम्रौनगढ नगरकमिटी सभापति साहेब अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा मनीष झा, अनिल केशरी, अशोक चौधरी, ममता चौधरी र बारा सभापति चन्दन सर्राफले मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत रजनीश कुमार र सञ्चालन सञ्जीव निरालाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here